भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रभित्र कक्षा ६ मा अध्ययनरत सम्पूर्ण छात्रालाई विद्यालयमै पुगेर एचपीभी (HPV) खोप लगाइने भएको छ। नगरपालिकाले माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो।
नगरपालिकाभरिका ४४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा गत वर्ष छुटेका गरी कुल ८३० छात्रालाई खोप लगाइने छ। तीमध्ये यस वर्ष कक्षा ६ मा अध्ययनरत ५९४ छात्रा र गत वर्ष खोप छुटेका हाल कक्षा ७ मा अध्ययनरत २३६ छात्रा रहेका छन्।
चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालका अनुसार नगरपालिका क्षेत्रभित्र रहेका ४६ विद्यालयमध्ये दुई विद्यालयमा कक्षा ६ मा छात्रा शून्य रहेकाले बाँकी ४४ विद्यालयलाई खोप अभियानमा समेटिएको हो। खोप अभियान सञ्चालनका लागि ३७ स्वास्थ्यकर्मी र ३७ जना स्वयंसेविका परिचालन गरिनेछ।
विद्यालयमै खोप लगाउन छुटेका छात्राहरूका लागि भने फागुन ४ र ५ गते नगरपालिका अन्तर्गत वडा नं. १ देखि ९ सम्म रहेका ११ स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइने योजना बनाइएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि ईपीआई (एचपीभी) खोप सेवा सञ्चालनसम्बन्धी वार्षिक योजना बैठक बिहीबार चाँगुनारायण नगरपालिकामा बसेको थियो। बैठकमा नगरप्रमुख जीवन खत्रीले पाठेघरको मुखको क्यान्सरबाट भविष्यका नागरिकलाई सुरक्षित गर्न एचपीभी खोप अत्यन्तै आवश्यक रहेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायलाई निर्देशन दिए।
बैठकमा खोप कार्यक्रमसम्बन्धी विस्तृत योजना प्रस्तुत गरिएको थियो। योजना अनुसार लक्षित संख्या, आवश्यक खोप सामग्री, जनशक्ति व्यवस्थापन र सेवा सञ्चालन मिति निर्धारण गरिएको छ। माघ २६ गतेदेखि खोप सेवा औपचारिक रूपमा सुरु हुनेछ।
योजनाअनुसार वडा–१ देखि ९ सम्म रहेका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र तथा चाँगुनारायण अस्पतालमार्फत नियमित खोप सेवा सञ्चालन गरिनेछ। दुबाकोट, झौखेल, बागेश्वरी, सुडाल स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र झौखेल तथा चाँगुनारायण अस्पताललगायतका स्वास्थ्य संस्थाहरू योजनामा समावेश छन्।
नगर स्वास्थ्य शाखाले विद्यालय जाने उमेर समूहका बालबालिका तथा किशोरीलाई लक्षित गर्दै बीसीजी, डीपीटी, पोलियो, एमआर, टिडी लगायतका नियमित खोप सेवाको पनि व्यवस्थापन गरिएको जनाएको छ। आवश्यक सिरिन्ज, सेफ्टी बक्स, भ्याक्सिन क्यारियरलगायत सामग्रीको प्रबन्ध गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले लक्षित समूहका अभिभावक, विद्यालय र सरोकारवालालाई खोप सेवामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
प्रकाशित: २२ माघ २०८२ १८:२० बिहीबार





