१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पाथीभरा याङ्वरकमा दुई दिने आँखा शिविर सुरु

फक्ताङ्लुङ र फुङ्लिङमा पनि शिविर सञ्चालन हुने

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा मंगलबारबाट शल्यक्रियासहितको दुई दिने निःशुल्क आँखा शिविर सुरु भएको छ। पाथीभरा याङ्वरक गाउँपालिकाको लागत साझेदारी र नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङ तथा सेवा फाउण्डेसन काठमाडौको आयोजनामा शिविर सुरु भएको हो।

शिविरको शुभारम्भ गर्दै पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले गाउँ–गाउँबाट अन्धोपन निवारणका लागि शिविर आयोजना गरिएको बताए। दुई वर्षअघि समेत सो क्षेत्रमा आँखा शिविर सञ्चालन भएको र त्यतिबेला पनि अधिक मात्रामा आँखाका रोगीहरु फेला परेकोले अन्धोपन र आँखाको समस्या निवारणका लागि पुनःशिविर सञ्चालनका लागि पालिकाले अग्रसरता लिएको अध्यक्ष सुब्बाले बताए। शिविरमा भरतपुर आँखा अस्पतालका डेपुटी निर्देशक तथा नेत्र विशेषज्ञ डाक्टर पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले परीक्षण तथा उपचार गर्ने भएको छ।

सेवा फाउण्डेसनका कार्यक्रम निर्देशक रामप्रसाद कडेंलले स्थानीय तहको लागत साझेदारीसहितको अग्रसरताले आँखा स्वास्थ्य क्षेत्रमा नयाँ आयाम सृजना हुने विश्वास लिए। नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष मातृकाप्रसाद नेपालले आँखा स्वास्थ्यको क्षेत्रमा स्थानीय तहले लिएको पहलकदमी प्रशंसा योग्य रहेको बताए।

कार्यक्रममा पालिका उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौला, पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ र ३ का वडाध्यक्षहरु क्रमशःज्ञानप्रसाद दाहाल र भीमकुमार बस्नेतसहितको उपस्थिति रहेको थियो। नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङका इञ्चार्ज काजीमान गुरुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा चैत २५ र २६ गते पालिकाको केन्द्र तापेथोकमा समेत शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने छ।

चैत २८ गते एक दिन डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र फुङ्लिङमा समेत शिविर आयोजना हुने नेपाल नेत्र ज्योति संघले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७८ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App