२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

हामी कस्ता डाक्टर उत्पादन गर्दैछौं?

छात्रवृत्तिमा अध्ययनरत अब्बल नै मेडिकल प्रवेश परीक्षाका नक्कली परीक्षार्थी

चिकित्सा शिक्षा अयोगले गत शुक्रबार (चैत १८ गते) सञ्चालन गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सरकारी छात्रवृत्तिमै मेडिकल शिक्षा अध्ययन गरिरहेका अब्बल विद्यार्थी नै नक्कली परीक्षार्थीका रूपमा पक्राउ परेका छन्। 

सरकारले छात्रावृत्तिमै पढाउँदै आएको अब्बल विद्यार्थीहरू नै २ लाखदेखि १८ लाख रूपैयाँसम्मको प्रलोभनमा परेर नक्कली परीक्षार्थी बन्न तयार भएको रहस्य प्रहरीको अनुसन्धानबाट खुलेको छ। यो घटनाले अनेक प्रश्न जन्माएको छ। सरकारले कस्ता विद्यार्थीलाई छात्रवृत्तिमा छनोट गर्दै आएको छ? भोलि देशमा कस्ता डाक्टर उत्पादन हुनेछन्? यस्ता डाक्टरले उपलब्ध गराउने उपचार सेवामा कत्तिको विश्वास गर्न सकिन्छ?  

चिकित्सा शिक्षा अयोग सानोठिमी भक्तपुरले चैत १८, चैत २० र २१ गते सञ्चालन गर्ने ििशक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीले सहभागिता जनाउन सक्ने सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले निगरानी अगाडि बढाएको थियो। सूचनाकै आधारमा छानबिन र अनुसन्धान गर्दै जाँदा पहिलो दिनकै प्रवेश परीक्षामा सहभागिता जनाउने नक्कली परीक्षार्थी मेडिकलकै छात्रावृत्तिमा अध्ययन गरिरहेका जेहेनदार र अब्बल पाँच नक्कली परीक्षार्थी पक्राउ परेको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए।

पक्राउ पर्नेमा एक परीक्षार्थीले भारतीय मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीलाई खेताला परीक्षार्थीका रूपमा परीक्षा दिन लगाएको र अन्यले आफनो साटो अब्बल मेडिकलकै विद्यार्थीलाई नक्कली परीक्षार्थी बनाएको अनुसन्धानमा खुलेको छ।

नक्कली परीक्षार्थीहरू छात्रावृत्तिमै मेडिकल शिक्षा अध्ययनरत मेहनती र जेहेन्दार विद्यार्थी भए पनि आर्थिक अवस्था कमजोर भएका कारण प्रलोभनमा परेर नक्कली परीक्षार्थीका रूपमा मेडिकलको प्रवेश परीक्षामा संलग्न भएको अनुसन्धानमा खुलेको प्रवक्ता कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा एक भारतीय र तीन नक्कली परीक्षार्थी तथा एक सक्कली परीक्षार्थी नै रहेका छन्।

अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा अपरेसन ‘इको’ सञ्चालन गरेको थियो। उपत्यकास्थित सिसिआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुललगायत परीक्षा केन्द्रहरूबाट नक्कली परीक्षार्थीलाई परीक्षा दिइरहेकै अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकतासहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुरमा पठाएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए।

पक्राउ परेका नक्कली परीक्षार्थी महोत्तरीका २२ वर्षीय अमर पण्डित किस्ट मेडिकल कलेजमा छात्रावृत्तिमा अध्ययनरत एमबिबिएस प्रथम वर्षका विद्यार्थी हुन्। उनी आर्थिक प्रलोभनमा परेर धनुषा जनकपुरका २१ वर्षीय वृकेश यादवको प्रवेशपत्रमा सिसिआरसी कलेज ललितपुरमा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन्। सलार्हीका २२ वर्षीय अनिकेत चौधरी पनि किस्ट मेडिकल कलेजका प्रथम वर्षका अब्बल विद्यार्थी हुन्। धनुषाको अन्दुपट्टी गाउँपालिकाका २२ वर्षीय आजिवकुमार यादवको प्रवेशपत्र लिएर सिसिआरसी कलेज कुमारीपाटीमा नक्कली परीक्षार्थीका रूपमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले केन्द्रबाटै चौधरीलाई पक्राउ गरिएको हो।

सप्तरीका २६ वर्षीय रामआशिष यादव किस्ट मेडिकल कलेजको एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। तर उनी आर्थिक प्रलोभनमा परेर रूपन्देहीको ओमसतिया गाउँपालिकाका २० वर्षीय स्मित सिंहको नाममा नक्कली परीक्षार्थी बनेर ग्रामर स्कुल कोटेश्वर परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन्।

सन्नीकुमार साह सक्कली विद्यार्थी भए पनि आफ्नो साटो भारत विहार औरंगाबाद बस्ने २४ वर्षीय इस्तियाख अहमदलाई एम्बिसन कलेज मध्य बानेश्वर परीक्षा केन्द्रबाट खेताला परीक्षार्थीका रूपमा परीक्षा दिलाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। पहिला नक्कली परीक्षार्थी पक्राउ परेको र पछि सक्कलीलाई पनि समातिएको प्रहरीकाे भनाइ छ।

‘मेडिकलको प्रवेश परीक्षामा पक्राउ परेका नक्कली परीक्षार्थी सरकारी छात्रावृत्तिमै एमबिबिएस अध्ययन गरेका कमजोर आर्थिक अवस्था भएका अब्बल विद्यार्थी रहेको अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता कोइरालाले नागरिकसँग भने, ‘प्रवेश परीक्षामा नाम निकालिदिए २ लाखदेखि १८ लाख रूपैयाँ रकम दिने प्रलोभन देखाएर नक्कली परीक्षार्थीका लागि राजी गराइएको पाइयो।

५० हजार देखि २ लाख रकम पेस्की दिएर प्रवेश परीक्षामा नक्कली विद्यार्थीको परियोजनका लागि प्रयोग गरिएको देखियो।’ उनले थपे, ‘भारतीय मूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभन दिएर अग्रिम भुक्तानी दिएको रहस्य अनुसन्धानबाट खुलेको छ।’

प्रकाशित: २१ चैत्र २०७८ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App