१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

क्षयरोगबाट वर्षेनि १६ हजारको मृत्यु

नयाँ बिरामी ६९ हजार, ४० हजार उपचारबाट वञ्चित, सम्पर्कमा ल्याउन चुनौती

नेपालमा क्षयरोगबाट वर्षेनि १६ हजार बिरामीको मृत्यु हुने गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ अनुसार अघिल्लो आर्थिक वर्षमा १६ हजार बिरामीको मृत्यु भएको हो।  

यसैगरी नयाँ बिरामीको संख्या ६९ हजार पुगेको छ। यो संख्या विगत केही वर्ष यता बढ्ने क्रममा छ। केन्द्रका अनुसार वार्षिक ६९ हजार क्षयरोगका बिरामी थपिने गरेका छन्।  केन्द्रका निर्देशक डा.सञ्जयकुमार ठाकुरले भने, ‘हामीले यो तथ्याङक विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्थाबाट लिएका हौं। तर केन्द्रको सम्पर्कमा आउने बिरामीको संख्या अत्यन्त कम छ।’

उनका अनुसार समग्र तथ्याङकमा ६९ हजार बिरामी देखिएपनि आर्थिक वर्ष  २०७७/७८ मा २८ हजार ६ सय ७७ जना बिरामीहरु मात्र उपचारका लागि केन्द्रमा आएका छन्। यसरी हेर्दा करिब ४० हजार क्षयरोगका बिरामी उपचारबाट वञ्चित रहेको पाइएको छ।

‘जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्,’ उनले भने, ‘ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु केन्द्रको लागि चुनौतीपूर्ण काम हो।’ यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले क्षयरोगका बिरामी पत्ता लगाउन निजी संघसस्थाहरुसंग सहकार्य गर्नुपर्ने बताएका छन्।

‘क्षयरोगका विरामी हाम्रो सम्पर्कमा आएका छैनन्, उनीहरुलाई पत्ता लगाउनु कठिन कार्य हो। यसको लागि निजी संघसंस्थाको पहलमा सहकार्य गरेर क्षयरोगका बिरामी पत्ता लगाई उपचार गर्ने तर्फ हामी अगाडि बढ्ने छौं।’

क्षयरोग निर्मुलका लागि मन्त्रालयले पाँच वर्षको रणनीतिक योजना आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म कार्यान्वयनमा ल्याएको छ।  

वरिष्ठ छातिरोग विशेषज्ञ डा.दीर्घसिंह बम भने केन्द्र र क्षयरोग सम्बन्धित सबै निकायले गरेको काम प्रभावकारी नदेखिएकाले सन् २०५० सम्म पनि क्षयरोग निदान हुने असम्भव देख्छन्।  

‘नेपाल क्षयरोग नियन्त्रण केन्द्रमा रहेको नेतृत्वले प्रतिवद्ध भएर क्षयरोग निदानमा अगाडि बढ्नु पर्ने मैलै देखेको छु। जुन प्रतिवद्धता लिएर उनीहरु सरकारी सेवामा लागेका छन्, त्यो पूरा गर्न दृढताका साथ लाग्नु पर्ने देखिएको छ,’ उनले भने, ‘क्षयरोगको निदान गर्ने हो भने सरकारले वार्षिक १० प्रतिशत बजेट स्वास्थ्यमा छुट्याउनुपर्छ, साथै जनशक्ति पनि त्यहीं अनुसार पहिचान गर्नुपर्ने देखिन्छ।’

क्षयरोगविरुद्ध विश्वव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्यले विश्वभर आज (बिहीबार) ४० औं क्षयरोग दिवस मनाइँदैछ। ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी यो वर्षको क्षयरोग दिवस मनाइने भएको हो।  

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभर करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित छन्। जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका छन्। विश्वमा क्षयरोगका कारण मात्र वार्षिक रुपमा १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ। नेपालमा भने गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएको जनाइएको छ। नेपालमा क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको केन्द्रले जनाएको छ।

प्रकाशित: १० चैत्र २०७८ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App