१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अवैध स्वास्थ्य संस्था गर्भपतनका अखडा

लहान प्रहरीले अवैध गर्भपतन मुद्दामा दुई जनालाई पक्राउ गरेर कारबाही चलाएको छ। लहान नगरपालिका–३ मा राजदेवी मेडिकल नामक अवैध क्लिनिक सञ्चालन गरी गर्भपतन गराउँदै आएका ३८ वर्षीय उमेश चौधरी र उनकी पत्नी ३० वर्षीया राजकुमारी चौधरीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी कारबाहीका लागि लहान प्रहरी कार्यालयमा राखिएको छ।

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ की २५ वर्षीयको गर्भपतन गराइरहेका बेला चौधरी दम्पतीलाई प्रहरीले पक्राउ गरेको लहान प्रहरी कार्यालयका प्रमुख डिएसपी तपन दाहालले बताए। लहानकै एक भिडियो एक्सरे सेन्टरले भ्रूण छुट्याएर ती महिलालाई गर्भपतनका लागि चौधरीको क्लिनिकमा पठाएको बताइएको छ।

भ्रूण छुट्याउने भिडियो एक्सरे सेन्टरका सञ्चालक भने पक्राउ परेका छैनन्। प्रहरीले गर्भपतन गराउने महिलालाई समेत नियन्त्रणमा लिएको थियो। बयानपछि उनलाई छाडिएको छ। उनले भिडियो एक्सरे गराउने स्थानको सम्पूर्ण विवरण र प्रमाण प्रहरीलाई दिएकी छन्।

चौधरीद्वयले सञ्चालन गरेको क्लिनिक पनि गैरकानुनी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूले क्लिनिकमै सञ्चालन गरेको औषधि पसल पनि कानुनविपरीत रहेको बताइएको छ। चौधरीद्वयलाई कानुनले बिरामी जाँचेर औषधि लेख्ने अधिकार दिँदैन।

उनीहरूले कानुनविपरीत औषधि पसल र क्लिनिक त सञ्चालन गरेका छन् नै, कानुन मिचेर गर्भपतनसमेत गर्दै आएको प्रहरीको भनाइ छ। सिरहासहित मधेस प्रदेशका सहरदेखि गाउँसम्म कानुन मिचेर स्वास्थ्य संस्था सञ्चालन गरी मानव जीवनलाई जोखिममा पार्ने यस्ता संस्थाको बिगबिगी छ।

केही समयअघि लहान–३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव फेला पर्‍यो। खेतमा फालिएको नवजात शिशु (छोरा) को शव परीक्षणका लागि राउ स्मारक अस्पताल लहानमा पुर्‍याइयो। परीक्षणका क्रममा चिकित्सकले उक्त शव १८ देखि २० साताको भएको खुलाए।

प्रहरीले सूचनाका आधारमा एक युवती र उनीसँगै आएकी महिलालाई अस्पताल चोकबाटै नियन्त्रणमा लियो। ती युवतीलाई राउ स्मारक अस्पताल लहानमा स्वास्थ्य परीक्षण गराउँदा उनले गर्भपतन गराएको खुल्यो।

त्यसपछि प्रहरीले ती युवतीलाई जिल्ला अदालत सिरहाबाट अवैध गर्भपतन मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको छ। लहान नगरपालिका–७ मारवाडी सेवा समिति नजिकको नहरमा सालनालसहित फालिएको शिशु (छोरी) को शव कुकुरले फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरे।

प्रहरीले शव परीक्षण गर्‍यो तर उक्त घटनामा संलग्नलाई पहिचान गरी कानुनी दायरामा ल्याउन सकेन। भ्रूण हत्या यहाँका लागि नौलो भने होइन। पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। यहाँ अवैध गर्भपतन गराउने स्वास्थ्य केन्द्रको जगजगी छ।

नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा गैरकानुनी गर्भपतन (भ्रूण हत्या) मौलाउँदै गएको स्थानीय बताउँछन्। पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रासाउन्ड सेन्टर र पोलिक्लिनिक, मेडिकेयर सेन्टर, औषधि पसलमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ।

निजी क्लिनिकमा काम गर्ने डाक्टर र तिनका सहयोगी मोटो रकम लिएर भ्रूण हत्यामा संलग्न भएको पाइएको छ।

छोराको चाहनामा गर्भवती भएकाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भ्रूण हत्या गराउँछन्। कतिपयले अनैतिक सम्बन्धबाट धारण गरेको गर्भ पतन गराउँछन्। लहानको अस्पताल चोक, गणेश चोक, सहिद चोकको तरकारी बजार, कुशवाहा चोक आसपासमा अवैध गर्भपतन गराउने स्वास्थ्यकर्मीहरू सक्रिय रहेको स्थानीय बताउँछन्। गोलबजार, मिर्चैया, सिरहा पनि अवैध गर्भपतन गराउने स्थानका रूपमा परिचित छन्। मधेस प्रदेशको राजधानी जनकपुरधाम त लिंग पहिचान र अवैध गर्भपतनको ‘हटस्पट’ नै मानिन्छ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ’ अभियानलाई निरन्तरता दिए पनि यो प्रदेशका सहरदेखि गाउँसम्म सञ्चालित स्वास्थ्य संस्था, औषधि पसलमा लिंग पहिचान गरी असुरक्षित भ्रूण हत्या गर्ने काम रोकिएको छैन, झन् फस्टाएको छ।

सरकारी स्वास्थ्य संस्था र सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाले गर्भवतीको इच्छाअनुसार १२ सातासम्मको गर्भपतन निःशुल्क गर्न पाउँछन्। तर, यसका लागि स्वास्थ्यकर्मी तथा डाक्टरले एमभिए (म्यानुअल भ्याकुम एसपिरेसन) तालिम लिएकै हुनुपर्छ। सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका मात्र गर्भपतन गराउन सरकारी अस्पताल पुग्छन्। अन्य गर्भपतन अवैध रूपमै हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। इच्छाविपरीत र भूलवश गर्भवती भएको खण्डमा पहिला घरमै औषधि सेवन गरी गर्भ तुहाउने प्रयास हुन्छ।

जीवनमाथि खेलबाड

सिरहाको सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साह सुरक्षित प्रसूति सेवाका लागि गाउँबाट एम्बुलेन्स चढेर लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल गएकी थिइन्। चिकित्सकले बच्चा र आमा दुवैको सुरक्षाका लागि शल्यक्रिया गराउन दिएको सल्लाह मानेर उनको परिवारले मन्जुरी दियो। आरतीलाई उनका पति प्रमोदसहित परिवारका अन्य सदस्यले सुत्केरीका लागि डिभाइन अस्पतालमा ल्याएका थिए। ‘ज्यान बचाउन पो भनेको थिएँ, मारिदिन त मन्जुरी दिएको थिइनँ नि !’ पत्नीको मृत्युपछि भक्कानिँदै प्रमोदले भने।

प्रमोदले दोषीलाई सजाय र परिवारलाई निसाफका लागि गुहार मागे। आरतीको ज्यान गएपछि डिभाइन अस्पताल त बन्द भयो तर पीडित परिवारले न्याय पाएन। दोषी स्वास्थ्यकर्मी दोषमुक्त भए। यो अस्पताल कानुनी हैसियतबेगर नै सञ्चालन भइरहेको थियो। नियामक निकायको फितलो नियमनको फाइदा उठाउँदै यहाँका निजी स्वास्थ्य संस्थाबाट यस्ता घटना पटकपटक दोहोरिएका छन्। 

प्रकाशित: २२ फाल्गुन २०७८ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App