टीकापुर नगरपालिकाले झण्डै १२ हजार विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाएको छ। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार हालसम्म ११ हजार ८४६ जनालाई खोप लगाईएको छ। उनले खोप लगाउने काम जारी रहेको बताए।
नगरपालिका अन्र्तगतको स्वास्थ्य शाखाले निजी र सामुदायिक गरी ४५ वटा विद्यालय मार्फत १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाएको हो। विद्यार्थीलाई पहिलो चरण अन्र्तगत मोडेर्ना नामक खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए। उनका अनुसार अहिले खोप लगाईएका सबै विद्यार्थीलाई २८ दिन पछि दोस्रो चरणको खोप लगाईने छ।
स्वास्थ्य शाखाले विद्यार्थीलाई लक्षित गरेर खोप अभियान सुरु गरेको थियो। जस अन्र्तगत विभिन्न विद्यालयमा अध्ययनरत लक्षित उमेर समूहका ५ हजार ९३१ छात्रा र ५ हजार ८६५ छात्रले खोप लगाएका छन। अभियान अन्र्तगत छुटेका थप ५० जनाले टीकापुरस्थित सिटी हलमा रहेको केन्द्रबाट खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए।
उनले अझै पनि खोप लगाउन छुटेका लक्षित समूह अन्र्तगतका विद्यार्थीहरुले सोही केन्द्रबाट लाभ लिन सक्ने बताए। ‘कोही छुटेका भए अहिले पनि खोप लगाउने व्यवस्था छ’ उनले भने–‘अहिले पनि केही विद्यार्थी सम्पर्कमा आईराखेका छन।’
स्वास्थ्य शाखाले कोरोना विरुद्धको खोप लगाएको छ महिना पुगेका अन्य उमेर समूहका व्यक्तिहरुलाई भोलिदेखी बुष्टर डोज लगाउन अभियान थालेको छ। उसले यो अभियान फागुन २ गतेसम्म जारी रहने उल्लेख गरेको छ।
यो अभियान टीकापुरस्थित सिटी हलमार्फत माघ २७ र २८ गते सञ्चालन हुनेछ। त्यस्तै अभियान विजयनगर स्वास्थ्य केन्द्रबाट फागुन १ र २ गतेका साथै अन्य रामपुर, अस्नेहरी, मनिकापुर, नारायणपुर, सत्ती, धनसिँहपुर र झुँगा स्वास्थ्य केन्द्रबाट फागुन २ गते सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए।
प्रकाशित: २६ माघ २०७८ १३:१९ बुधबार