१२ माघ २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण गराएर परीक्षण

स्वस्थ युवामा स्वेच्छाले कोभिड–१९ संक्रमण गराएर गरिएको अनुसन्धान सफल देखिएको छ। विश्वमा पहिलोपटक ‘ह्युमन च्यालेन्ज’ परियोजनाअन्तर्गत स्वयंसेवकलाई जानीजानी कोभिड–१९ को संक्रमण गराएर परीक्षण अध्ययन गरिएको हो।

अनुुसन्धानकर्ताले जनाएअनुसार यो विधिबाट गरिएको परीक्षण सुरक्षित देखिएको छ। यसले भविष्यमा विकास गरिने खोप तथा औषधिका लागि आधार तयार गरेको छ। यो वर्षको अन्त्यसम्म यो परीक्षणका आधारमा खोप तथा औषधि विकास गरिने अनुसन्धानकर्ताले बताएका छन्।

बेलायतको इम्पेरियनल कलेज लन्डन, भ्याक्सिन टास्क फोर्स तथा अरफान क्लिनिकल कम्पनीको सहयोगमा ओपन अरफान नामक संस्थाले यो परियोजना अघिल्लो फेब्रुअरीदेखि कार्यान्वयनमा ल्याएको थियो। ‘ह्युमन च्यालेन्ज ट्रायल’ अन्तर्गत वैज्ञानिकले यसअघि मलेरिया, फ्लु, टाइफाइड, हैजाजस्ता रोगको अनुसन्धान गरी औषधि र खोप विकासमा काम गरिसकेका छन्।

अनुसन्धान परीक्षणका क्रममा १८ देखि २९ वर्षका ३६ जना स्वस्थ युवामा कोभिड–१९ भाइरस संक्रमण गराइएको थियो। त्यसपछि क्वारेन्टिनमा राखेर उनीहरूको अनुगमन गरिएको थियो। डिस्चार्ज भएको १२ महिनापछि उनीहरूको फलो–अप हुने बताइएको छ। अनुसन्धानकर्ता कम्पनीका अनुसार अनुसन्धानक्रममा कुनै गम्भीरखाले प्रतिकूल प्रभाव देखिएन।

‘यो उमेर समूहका युवाले महामारी फैलाउन सहयोग गरेको देखिएको छ। यो उमेर समूहमा मध्यमखाले संक्रमण हुने भएकाले संक्रमण र महामारी प्रसारणसम्बन्धी अनुसन्धानमा यो उपयुक्त हो,’ अनुसन्धानको नेतृत्व गरिरहेका इम्पेरियल कलेल लन्डनका प्राध्यापक तथा संक्रामक रोगविज्ञ क्रिस चिउले भने। इम्पेरियल कलेजका अनुसन्धानकर्ताले समान विधिबाट डेल्टा भेरियन्टको पनि अध्ययन गरिने र अन्तर्राष्ट्रिय समुदायलाई यसबारे जानकारी गराइने बताएका छन्।

यो परीक्षण अध्ययन विधिबाट कोभिड–१९ का लागि नयाँ खोपको विकास, एन्टिभाइरल औषधिको विकास र रोगको पहिचानमा सहयोग पुने दाबी गरिएको छ। विशेषगरी रोगको संक्रमणदर कम भएको अवस्थामा यो विधि उपयोगी हुने मानिएको छ। सन् २०२२ को अन्त्यसम्म यसप्रकारका अन्य परीक्षण पनि गरिने इम्पेरियल कलेजले जनाएको छ। गत अप्रिलमा अक्सफोर्ड विश्वविद्यालयले यस्तै प्रकारको ह्युमन च्यालेन्ज परीक्षण सुरु गरेको थियो। यो परीक्षणमा एकपटक संक्रमित भैसकेकालाई पुनः संक्रमण गराएर प्रतिरक्षा प्रणालीको अध्ययन गरिएको थियो।

क्लिनिकल आधार

समीक्षा गर्न बाँकी रहेको र प्रकाशनअघि प्रि–पिन्ट सर्भरमा राखिएको यो अध्ययनको नतिजाले उपयुक्त जनस्वास्थ्य नीति तर्जुमा गर्नसमेत क्लिनिकल आधार दिने दाबी गरिएको छ। अनुसन्धानकर्ताले सरदरमा भाइरससँग सम्पर्कमा आएको दुई दिनपछि लक्षण देखिने गरेको बताएका छन्। यसअघि भाइरसको इन्कुबेसन अवधि सरदर पाँच दिन रहने मानिएको थियो। यसैगरी संक्रमण सबैभन्दा पहिला घाँटीमा देखिने तथा संक्रमण भएको पाँचौं दिनमा संक्रमण उच्चबिन्दुमा पुग्ने देखिएको छ। 

संक्रमणको पाँचौं दिनमा अधिकांश लक्षण देखिने पाइएको छ। यो अवधिमा भाइरस घाँटीभन्दा नाकमा बढी भएको पाइएको छ। कोभिड–१९ परीक्षणमा अवलम्बन गरिने ‘ल्याटरल फ्लो टेस्ट’ भाइरसको उपस्थिति पहिचान गर्न विश्वसनीय देखिएको छ। अनुसन्धानकर्ताले नाकमा सरदर साढे ६ दिनसम्म भाइरस बाँच्ने बताएका छन्।

परीक्षणमा सहभागी ३६ मध्ये १८ जनामा भाइरस संक्रमण भएको थियो। जसमध्ये १६ जनामा सिँगान बग्ने, हाच्छ्युँ आउने, घाँटी दुख्नेजस्ता सामान्य लक्षण देखिएका थिए। कतिपयलाई टाउको दुख्ने, मांसपेसी तथा जोर्नी दुख्ने, थकान, ज्वरोजस्ता लक्षण देखिएका थिए। गम्भीर लक्षण कसैमा पनि देखिएन। संक्रमित १३ जनामा अस्थायी रुपमा बास्ना थाहा पाउन सक्ने शक्ति हराएको थियो। 

तीन सहभागीमा तीन महिनापछि क्रमिक रुपमा बास्ना थाहा पाउने शक्तिमा सुधार आएको थियो। परीक्षणमा सहभागीको फोक्सोमा कुनै परिवर्तन र अन्य प्रभाव परेको देखिएन। परीक्षणक्रममा सहभागीलाई भाइरसको सबैभन्दा थोरै डोज दिइएको थियो तर यो वास्तविक दुनियाँमा हुने संक्रमणको समानस्तरमा रहेको अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानमा सहभागी १६ जनामा किन संक्रमण भएन भन्ने विषयमा थप अध्ययन गरिने भएको छ।– (रोयटर्स)

प्रकाशित: २३ माघ २०७८ ०२:२१ आइतबार