४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रौतामाईका सुत्केरीलाई पोषणयुक्त आहार

सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा बितरण गर्दै उपाध्यक्ष ठकुरी। तस्बिरः महेश्वर/नागरिक

सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै उदयपुरको रौतामाई गाउँपालिकाले पोषणयुक्त आहार सहयोग गर्दै आएको छ। गाउँपालिकाद्वारा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत ‘उपाध्यक्षसँग सुत्केरी महिला भेटघाट’ योजनामार्फत सुत्केरी महिलालाई पोषणयुक्त आहारा सहयोग गरिएको हो।  

जस अनुसार गाउँपालिकाले मंगलबार सुत्केरी महिलालाई पोषणयुक्त आहारका सामग्री बितरण गरेको छ। गाउँपालिका केन्द्र भुट्टारमा आयोजित कार्यक्रममा उपाध्यक्ष कुृमारी राना ज्युठकुरीले ४० जना सुत्केरी महिलालाई पोषणयुक्त आहारा बितरण गरिन्। उनले सुत्केरी महिलालाई चाहिने गुणस्तरीय चामल, घ्यु, गेडागुडी, दाल, अण्डा, हात धुने र नुहाउने साबुन, लुगा धुने सर्फ, चौवन्दी चोला र नवजात शिशुका लागि न्यानो कपडा बितरण गरिन्।  

गाउँपालिकाका बिपन्न बर्गका सुत्केरी महिलाहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको भए पनि सबैखाले सुत्केरीलाई यो सेवा दिने गरिएको उपाध्यक्ष ठकुरीले बताईन्। उनका अनुसार गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम ०७४÷७५ देखि नै सञ्चालन हुँदै आए पनि सुत्केरी महिलालाई पोषणयुक्त आहार कार्यक्रम भने गत आर्थिक वर्षदेखि मात्र सुरु भएको हो।  

गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले गर्भवतिदेखि सुत्केरी भएको केही महिनासम्म महिला र नवजात शिशुलाई अत्याधिक पोषणयुक्त आहारको खाँचो पर्ने हुनाले यो कार्यक्रम ल्याइएको बताए। सुत्केरी र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था मजबुत बनाउन सके मात्र भविष्यमा स्वस्थ्य र तन्दुरुस्त नागरिक बनाउन सकिने भएकाले यो सेवा दिने कार्यक्रम गाउँपालिकाले ल्याएको खड्काले बताए। उनका अनुसार गाउँपालिकाले हरेक वर्षको गाउँसभाबाटै  नीति कार्यक्रम पारित गरेर लागू गर्दै आएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले ‘उपाध्यक्षसँग सुत्केरी महिला भेटघाट कार्यक्रम’ गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइएको बताए। अधिकृत गुरुङका अनुसार पोषणयुक्त आहारको कमी हुनाले कतिपय सुत्केरी महिला र नवजात शिशुको ज्यान जानेसम्मको जोखिम हुने भएकाले त्यसबाट बचाउँन यो कार्यक्रम फलदायी भएको छ। चालु वर्ष सुत्केरीलगायत महिलालक्षित कार्यक्रमका लागि गाउँपालिकाले ३३ लाख रकम बिनियोजन गरेको उनले बताए। सोही रकममध्येबाट सुत्केरी महिलालाई पोषणयुक्त आहारा बितरण गरिएको हो।  

खासगरी बिपन्न परिवारका सुत्केरी महिला र नवजात शिशुका लागि यो कार्यक्रम बरदान सावित हुने गरेको छ। कार्यक्रम लाभदायक र प्रभावकारी सावित हुँदै आउकाले यसलाई आगामी दिनमा थप बिस्तार गर्दै लगिने अधिकृत गुरुङले बताएका छन्।

प्रकाशित: १९ माघ २०७८ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App