१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट थप ३३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार गत बिहीबारदेखि आइतबारसम्म नेपालका विभिन्न अस्पतालमा गरी थप ३३ संक्रमितको मृत्यु भएको हो।

पछिल्लो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ। पछिल्लो पटक मृत्यु हुने संक्रमितमा धेरैजसो खोप नलिएका, दीर्घरोगी र वृद्धवृद्धा रहेको चिकित्सकले जनाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना संक्रमणदर २६.९ प्रतिशत देखिएको छ। कुल परीक्षण भएका १३ हजार १ सय ४५ वटा नमुनामा ३ हजार ५ सय ४० मा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमणदर एक साताको तुलनामा २२ प्रतिशत र शनिबारकोे तुलनामा ९ प्रतिशत विन्दुले घटेको तथ्यांकले औंल्याएको छ। परीक्षणदर घटेकाले संक्रमणदर पनि घटेको हो। मन्त्रालयले शंका लागेमा कोरोना परीक्षण गराउन सबैलाई आग्रह गरेको छ। ‘स्थानीय तहमा एन्टिजेन परीक्षण निःशुल्क छ, शंका लागेमा परीक्षण गर्नुहोला’, मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीले भने।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ। जसअनुसार ३ हजार ५ सय ४० जना नयाँ संक्रमित र निको हुने ६ हजार ३ सय ५९ जना छन्। आइतबार नेपालमा सक्रिय संक्रमित संख्या ८३ हजार ९ सय ९९ छ। ८२ हजार ३ सय ५९ जना होम आइसोलेसन र १ हजार ६ सय ३० जना संस्थागत आइसोलेसनमा छन्। जसमध्ये २ सय ८५ जनाको आइसियु र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

‘सिटामोल अभाव छैन’

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले केन्द्रीय र पथलैयामा १० लाख प्यारासिटामोल ट्याब्लेट भण्डारणमा रहेको जनाएको छ। मन्त्रालयले गर्ने नियमित पे्रस ब्रिफिङका क्रममा आइतबार महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस्तो जानकारी दिएका हुन्। ‘केन्द्र र पथलैयामा गरी १० लाख ट्याब्लेट प्यारासिटामोल भण्डारणमा छ,’ उनले भने।

केही सातादेखि बजारमा प्यारासिटामोल अभाव थियो। चिकित्सकले कोरोना संक्रमितलाई ज्वरो घटाउन प्यारासिटामोल सेवन गर्न सुझाव दिँदै आएका छन्।

डा. मरासिनीले देशभरका सरकारी स्वास्थ्य संस्थाबाट सिटामोल निःशुल्क रुपमा वितरण गरिरहेको र थप ५० लाख ट्याब्लेट नेपाल औषधि लिमिटेडबाट खरिद गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

माघभित्रै थप ४० लाख डोज खोप आउँदै

स्वास्थ्य सेवा आपूर्ति महाशाखाले थप ४० लाख डोज खोप केही दिनभित्रै नेपाल आइपुग्ने जनाएको छ। महाशाखा प्रमुख डा. रुद्र मरासिनीका अनुसार सिनोभ्याकको खोप आउन लागेको हो। अस्ट्राजेनेकाको थप खोप पनि आउने क्रममा रहेको उनले बताए। दुई महिनाभित्र ५ देखि ११ वर्षभित्रका बालबालिकालाई समेत खोप दिने तयारी भइरहेको जानकारी उनले दिए।

हालसम्म नेपालमा ४ करोड २० लाख ४९ हजार ९ सय ४० डोज खोप आइपुगेको छ। जसमध्ये ३ करोड ८ लाख ७६ हजार ९ सय डोज खोप प्रयोग भइसकेको छ। कुल जनसंख्याको ५४ प्रतिशतले खोपको पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्रा लिइसकेको मन्त्रालयले जनाएको छ।

१८ वर्ष उमेरमाथिका ८३ प्रतिशतले पहिलो मात्रा र ७० प्रतिशतले दोस्रो मात्रा खोप लिइसकेका छन्। ७३ लाख खोप भण्डारणमा रहेको महाशाखाले जनाएको छ। कोभिड संक्रमण भएका बेला खोप नलगाउन मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: १७ माघ २०७८ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App