१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङका अधिकांश मेडिकलहरुमा सिटामोलको अभाव, सञ्चालक भन्छन्ः माग गर्दा पनि पाइएन

ताप्लेजुङका अधिकांश मेडिकल हलहरुमा सिटामोलको अभाव रहेको पाइएको छ। जिल्ला बजार अनुगमन समितिको अगुवाइ तथा फुङ्लिङ नगरपालिका र घरेलु कार्यालय ताप्लेजुङको संयोजनमा मंगलबार फुङ्लिङका मेडिकल पसलहरुमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो। अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरुमा सिटामोलको अभाव रहेको देखिएको अनुगमन कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताइन्।

अनुगमन टोलीले शाक्य मेडिकल, अजय मेडिकल हल, लाइफ फार्मेसी, ग्लोबल मेडिकल हल, एपोलो मेडिकल हल, पुजा मेडिकल, अर्जुन मेडिको र चौधरी मेडिकल हलमा पारा सिटामोलको मौज्दाता मात्राबारे अध्ययन गरेको थियो। ती २ बाहेक अधिकांश मेडिकल हलहरुमा कुनैमा शून्य, कुनैमा सय र अरुमा २ सयदेखि ४ सय चक्कीसम्म सिटामोलको मात्रा कम रहेको जानकारी मेडिकल सञ्चालकले दिएको अनुगमन समितिले जनाएको छ। ती दुईवटा पसलमा पनि एउटामा करिव ५ हजार र अर्कोमा करिव ४ हजार चक्की सिटामोलको मात्रा रहेको जानकारी मेडिकल सञ्चालकले अनुगमन समितिलाई दिएका छन्।

तर खपत बढी हुने गरेका कारण त्यसले मात्र माग धान्न सक्ने अवस्था नरहेको पाइएको छ। २ बाहेक अरु पसलहरुमा भने पारा सिटामोलको मात्रा ज्यादै कम रहेको पाइएको छ। झोल औषधि र ब्रुफिन मिसिएको औषधि भने प्रायः अधिकांश मेडिकल पसलहरुमा केही मात्रामा रहेको पाइएपनि त्यो पर्याप्त भने नरहेको अनुगमन समितिले जनाएको छ। ताप्लेजुङ जिल्ला अस्पतालमा भने २ लाख ६ हजार बढी सिटामोल चक्की मौज्दात रहेको अस्पतालकी नर्सिङ निरीक्षक बिजया राईले जानकारी दिइन्।

राईका अनुसार त्यो मध्ये अधिकांश चक्की अबको ६ महिनाभित्र उपभोग गरिसक्नु पर्छ। तमोर अस्पतालमा पनि पारा सिटामोलको मौज्दात मात्रा कम रहेको पाइएको छ। खपत बढी हुने र आपूर्ति कम हुने अवस्थाका कारण मेडिकल हलहरुमा सिटामोलको मौज्दात कम भएको लाइफ फार्मेसीका सञ्चालक नारायण ओझाले बताए। एपोलो मेडिकल हलका प्रोप्राईटर दीपेन्द्र पौडेलले खरिद गर्ने ठाउँमै पारा सिटामोलको अभाव रहेकोले आफूहरुले माग गर्दा पनि पाउन नसकेको बताए।

अनुगमनमा रहेका फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले मेडिकल सञ्चालकहरुले सिटामोलको मौज्दात मात्रा कम हुनुमा‘माग बढी, आयात ज्यादै न्यून’ भएको जवाफ दिएको बताए। बिक्री भइरहने, म्याद सिद्धिएका औषधिलाइ बेग्लै भण्डारण गरी राख्नुपर्ने र जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरुमा समेत औषधि पठाउनुपर्ने अवस्थाका कारण थप आपूर्ति नभए सिटामोलको अभाव कायम रहने अनुगमन समितिले औंल्याएको छ।

फुङलिङ नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु गुरुङका अनुसार प्लेन पारा सिटामोलमा मेडाडोल, रेक्सामोल, निको, केल्बिन, निपोमोल, सिटोफेन लगायतका मुख्य औषधि पर्छन्। ‘ब्रुफ्रिनको कमिनेसनमा अरु औषधि समेत प्रयोगमा आउँछ’, उनले भनिन्।

प्रकाशित: ११ माघ २०७८ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App