३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणदर ९.५ प्रतिशत पुग्यो

एक सातादेखि तीव्र गतिमा फैलिएको कोरोना संक्रमणदर आइतबार ९.५ प्रतिशत पुगेको छ। यो दर शनिबार ७ प्रतिशत र शुक्रबार ६.४ प्रतिशत थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमणदर पुस २२ मा ५.५१ प्रतिशत, पुस २१ गते ४.३८ प्रतिशत, पुस २० मा ४.२१ प्रतिशत र १९ मा ३ प्रतिशत थियो। उल्लिखित तथ्यांकअनुसार एक सातामै संक्रमणदर ६.५ प्रतिशतले वृद्धि भएको हो।

शनिबारको तुलनामा आइतबार एकै दिन २ प्रतिशतले संक्रमणदर वृद्धि भएको तथ्यांकले देखाएको छ। गत २४ घण्टामा परीक्षण भएका कुल १२ हजार ६ सय ६२ वटा नमुनामध्ये ११ सय ६७ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार ९ सय ४४ जनामा कोरोना पुष्टि भएको थियो। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि वृद्धि भएको हो। भारतमा एकै दिन एक लाख ६० हजार जनामा कोरोना संक्रमण हुन थालेको छ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये भक्तपुरमा २५, ललितपुरमा ९९, काठमाडौंमा ४ सय ९१ जना छन्। सोही अवधिका २ जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ४ पुगेको छ। संक्रमितमध्ये ७० जनाको आइसियुमा उपचार भइरहेको छ भने  १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो समय संक्रमण पुष्टि भएकामध्ये अधिकांशमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले बताइन्। पुस महिनाको अवधिमा नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटामा एसजिन नेगेटिभ आएको र एसजिन नेगेटिभ देखिएका सबै नमुनामा ओमिक्रोन भएकाले यो भेरिएन्टको संक्रमण वृद्धि हुने क्रम तीव्र रहेको उनको भनाइ छ।

दैनिक संक्रमणदरमा बृद्धि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा हुन सक्ने बिरामीको चापलाई व्यवस्थापन गर्न आवश्यक तयारी भएको दाबी गरेको छ। यसका लागि युनिफाइड कोभिड १९ अस्पताल वीर अस्पतालले मातहतमा रहेका कोभिड अस्पतालहरूसँग समन्वय गरेको, आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार तयारीका लागि सूचना लिएको र सोही अनुसार मन्त्रालयसँग समन्वय गरेको अस्पतालका प्रशासकीय प्रमुख डा. भूपेन्द्र बस्नेतले बताए।

सम्भावित महामारी व्यवस्थापनका लागि सातै प्रदेशमा अक्सिजन प्लान्ट तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ११, प्रदेश २ मा ६, वाग्मतीमा २१, गण्डकीमा १७, लुम्बिनीमा १८, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिममा ३ वटा गरी कुल ८५ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी सीमा नाकामा निगरानी र संक्रमितलाई आइसोलेसनको व्यवस्था गर्न आवश्यक तयारी पूरा गरेको मन्त्रालयको दाबी छ।

बढ्दो संक्रमणको जोखिमबाट बचाउन खोप अभियानलाई तीव्र पार्न खोप केन्द्र बढाइएको मन्त्रालयको दाबी छ। कुनै पनि भाइरस प्राकृतिक रूपमै छिटो उत्परिवर्तन हुने भएकाले यसबाट बच्ने मुख्य उपाय भनेको सबैको पहुँचमा खोप र जनस्वास्थ्यको मापदण्ड कडाइपूर्वक पालना गर्नु रहेको प्रवक्ता मिश्रले बताइन्। उनका अनुसार ओमिक्रोन भेरिएन्ट श्वास–प्रश्वास नलीको माथिल्लो भागमै वृद्धि विकास हुने र तीव्र संक्रामक छ।

मिश्रका अनुसार नेपालमा हालसम्म २७ वटा नमुनामा ओमिक्रोन पुष्टि भइसकेको छ। थप पुष्टिको लागि जिन सिक्वेन्सिङ कार्य निरन्तर रूपमा भइरहेको छ। ओमिक्रोन या कोभिड १९ को जुनसुकै भेरिएन्टबाट बच्न जनस्वास्थ्यको मापदण्ड कडाइपूर्वक पालना गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ।

कोभिडबाट बच्न भीडभाडमा नजाने, दुई व्यक्तिबीच कम्तीमा २ मिटरको दूरी कायम गर्ने, सेनिटाइजर या साबुनले हातको सफाइ गर्ने, मास्क प्रयोग गर्न र खोप नलिएकाले नजिकको खोप केन्द्रबाट खोप लिन मिश्रले सुझाव दिइन्।

माघ दोस्रो सातादेखि बुस्टर डोज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गतदेखि प्रत्यक्ष जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप दिने जनाएको छ। जसअनुसार खोपको पूरा मात्रा लगाएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, यसको साथै शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर भएका, क्यान्सरका बिरामी तथा अंग प्रत्यारोपण गरेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने औषधि सेवन गरेका, भेरोसेलको दुवै मात्रा खोप लिएका ६० वर्षमाथिका जनसंख्यालाई पनि बुस्टर डोज मात्रा दिइनेछ। यी समूहलाई पहिला लगाएकै खोप दिइनेछ।

१२ वर्षमाथिका बालबालिकालाई २७ गतदेखि खोप

काठमाडौं उपत्यकामा पुस २७ गतदेखि १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई खोप दिइनेछ। भक्तपुरमा मोडर्ना र काठमाडौं तथा ललिलतपुरमा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ। खोप दिन आवश्यक तयारी भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ पुस २०७८ ००:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App