८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नोवेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप, अस्पतालमा तोडफोड

आन्दोलनरत विद्यार्थी र सुरक्षागार्डबीच झडपका क्रममा तोडफोड भएको नोवेल अस्पतालको मुख्य ढोका। तस्बिरः विनोद/नागरिक

विराटनगर स्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको छ। आइतबार आन्दोलनरत विद्यार्थीलाई नोवेलका सुरक्षा गार्डले रोक्न खोजेपछि विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको हो।

नोवेल शिक्षण अस्पतालको मुलगेट अगाडि अनशन बसेका विद्यार्थी र कलेजका सुरक्षा गार्डबीच झडप हुँदा अस्पतालमा समेत तोडफोड भएको छ। झडपकाक्रममा अस्पतालको मुख्य प्रवेशद्वारको ढोकाको सिसा फुटेको छ। झडपमा परी केही विद्यार्थी र केही सुरक्षा गार्डलाई चोटपटक लागेको छ। विद्यार्थीहरूले कलेजमा अनसन बस्न आएपछि औषधि व्यवसायी र कलेजका कर्मचारीले गरिखान देऊँ भन्दै विद्यार्थीविरुद्ध नारावाजी गरेका थिए।

अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षा गार्डहरुले कुटपिट गर्न थालेपछि प्रतिकारमा उत्रनुपरेको विद्यार्थीहरूले बताएका छन्। अनेरास्ववियू मोरङका जिल्ला सदस्य नविन पहाडीले शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका विद्यार्थीमाथि कुटपिट हुन थालेपछि विद्यार्थीहरू प्रतिकारमा उत्रिनुपरेको जानकारी दिए। उनले समस्या समाधान गर्न सरकारसँग माग गरे।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको थियो। कलेजमा भर्ना भएका ९६ जना विद्यार्थी मध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेज प्रशासनले पठनपाठन गराइरहेको छ। आफूहरूलाई चिकित्सा शिक्षा अयोगले तोकेको भन्दा बढी अतिरिक्त शुल्क बुझाउन दबाब दिंदै कलेज प्रशासनले कक्षबाटै निकालिदिएपछि आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीहरूले बताएका छन्।

नोवेलले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा २० लाख रुपैयाँ बढी शुल्क तिर्न दबाब दिएपछि विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालय मोरङ, मुख्यमन्त्री, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालयलगायतका ठाउँमा उजुरी गरेपनि कतैबाट समस्या समाधानमा चासो नदेखाएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

यता नोवेल मेडिकल कलेजका निर्देशक राजेश नेपालले विद्यार्थीका नाममा बाहिरका मानिसहरू आएर अस्पतालमा तोडफोड गरेको बताए। ‘विद्यार्थीको आवरणमा घुसपैठ गरी केही व्यक्तिहरूले अस्पतालमा तोडफोड गरे’, उनले भने। विद्यार्थीको आवरणमा घुसपैठ गरेका व्यक्तिहरूले हानेको इटा र ढुंगाले लागेर अस्पतालका ४ जना कर्मचारीहरू सामान्य घाइते भएको नेपालले जानकारी दिए। अस्पतालको मुल ढोकामै हुलहुज्जत र तोडफोड हुन थालेपछि करिब २ घण्टा अपतालको सेवा ठप्प भएको नेपालले बताए।

उनले भने, ‘अस्पतालमा हुलहुज्जत र तोडफोड हुन थालेपछि करिब २ घण्टा अस्पतालको सेवा ठप्प भयो।’ निर्देशक नेपालले स्थानीय स्तरबाट समस्या समाधान नहुने भएकाले सरकारले नै समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए।

प्रकाशित: २५ पुस २०७८ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App