१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्।

हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्।

यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताएका छन्।

नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा ओमिक्रोनको संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउने, कन्ट्याक्ट टेसिङलाई प्रभावकारी बनाउनेजस्ता काम पनि सुरु गरिसकेको जनाएको छ। सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्ने र निगरानी बढाउने कार्यलाई पनि निरन्तरता दिइएको जानकारी मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले दिइन्।

कुनै पनि महामारी भारतमा फैलिएपछि नेपालमा पनि भित्रिने विगतको अनुभवसँगै नेपालमा सम्भावित जोखिम हेरी सीमा नाकाहरूमा कोरोना परीक्षण भइरहेको प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख तथा भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले बताए।

उनले प्रदेश २ का सीमा नाकाबाट नमुना संकलन गरी ओमिक्रोनको जिन सिक्वेन्स गर्दा अहिलेसम्म नपाइएको बताए। प्रदेश २ मा अहिलेसम्म १९ वटा नमुनाको ‘एसजिन टार्गेट फेलियर’ को परीक्षण गरिसकिएको छ। यो क्रम निरन्तर रहेको डा. मिश्रले बताए। थप परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा समेत नमुना पठाइरहेको जानकारी उनले दिए।

यसअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसको डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन घातक नभए पनि कतिपय कमजोर प्रतिरक्षा क्षमता भएकालाई यसले असर गर्न सक्ने भएकाले सजग हुनुपर्ने र सरकारले सबैलाई खोप दिनुपर्ने डा. पुनले बताए। ‘भारतमा तीव्र रूपमा फैलिइरहेको यो भेरियन्टले नेपालमा उच्च रूप लिन थप एक महिना लाग्न सक्छ, यो अवधिमा सबैलाई खोप दिनुपर्छ’, उनले भने।

नेपालमा पहिला नै ६९ प्रतिशतमा एन्टिबडी बनेको अवस्थामा ओमिक्रोनले कम असर गर्ने सम्भावना रहे पनि एन्टीबडी विकसित नभएका मानिस भने जोखिममा रहेकाले खोप अभियान प्रभावकारी बनाउनुपर्ने डा. पुनको सुझाव छ। उनका अनुसार ओमिक्रोन फैलिएका विभिन्न मुलुकमा थोरै संख्यामा मानिसको मृत्यु भएको तथा अमेरिका र बेलायतमा मृत्यु हुनेमा खोप नलिएका र अति वृद्ध व्यक्ति रहेका छन्।

नेपालमा सबैलाई खोप दिन सके ओमिक्रोनको जोखिम रोक्न सकिने उनको तर्क छ। कुनै पनि फ्लु भएका मध्ये केहीलाई जटिल समस्या देखिने भएकाले सबै जनसंख्याले खोप लिएमा जोखिम नहुने उनको तर्क छ। ‘अमेरिका र बेलायतमा खोप नलिएका मानिसको मृत्यु भयो तर खोप लिएकाहरूको मृत्यु भएको देखिएन’, उनले भने।

डा. पुनका अनुसार ओमिक्रोन आफैंमा कमजमोर भेरियन्ट साबित भइसकेको अन्य देशको संक्रमण र मृत्युदरले प्रमाणित गरिसकेको छ। विभिन्न अनुसन्धानबाट पनि यो भेरियन्ट डेल्टाको तुलनामा अत्यन्त कम घातक भएको प्रमाणित भइसकेको छ। ‘मृत्यु भएका मध्येमा अन्य रोगी पनि हुन सक्छन्, त्यही बेलामा ओमिक्रोन पोजिटिभ पनि देखिएको हुन सक्छ,’ उनले भने।

ओमिक्रोनको संक्रमण श्वासप्रश्वास नलीको माथिल्लो भागमा मात्र हुने भएकाले यसले शरीरको भित्री तहमा पुगेर संक्रमण नगरेको अनुसन्धानबाट पाइएकाले यसको असर डेल्टाको जस्तो नदेखिएको प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख तथा भाइरोलोजिस्ट डा. मिश्रले बताए।

ओमिक्रोन नेपालमा फैलिने क्रम कुन गतिमा बढेको छ भन्ने कुराको निक्र्योल गर्न पहिलो कुरा सीमा नाकामा र अन्य जोखिमपूर्ण स्थानमा निःशुल्क रूपमा परीक्षणको दायरा बढाउनुपर्ने डा. मिश्रले बताए। उनले अन्य भाइरसजस्तै कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए।

प्रकाशित: २२ पुस २०७८ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App