२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मुटु रोग विशेषज्ञको अनुभवः नेपालीले रोग लागेको समेत थाहा पाउँदैनन्

केही दिनयता जाडो ह्वात्तै बढेपछि देशभर जनजीवन प्रभावित भएको छ। यस्तो अवस्थामा विरामी र वृद्धमा मुटु रोगसम्बन्धी जोखिम बढ्ने मुटु रोग विशेषज्ञहरु बताउँछन्। चिकित्सकका अनुसार गर्मीमा भन्दा चिसो मौसममा शरीरलाई तातो बनाउन तथा रक्त सञ्चार गर्न मुटुले बढी काम गर्नुपर्दछ। त्यसले चिसो मौसममा मुटुलाई भार पर्न जान्छ। फलस्वरुपः गर्मीको तुलनामा जाडोयाममा मुटुसम्बन्धी जोखिम बढी रहने वरिष्ठ मुटु रोग विशेषज्ञ मिलन प्रकाश श्रेष्ठको अनुभव छ।

चिसो मौसममा आफूलाई तातो राख्न शरीर आफैले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यस कारण शरीरको मेटाबोलिजम बढ्न गई मुटुमा प्रेसर बढ्ने गर्छ। जसले गर्दा मुटुका रक्तनलीसहित सम्पूर्ण रक्तनलीमा संकुचन आउने गर्दछ। जुन प्राकृतिक प्रक्रिया भएको श्रेष्ठ बताउँछन्।

‘चिसो मौसममा मुटुका नली संकुचन हुँदा हृदयघातको समस्या हुन सक्छ। साथै चिसो मौसममा फोक्सो, दमका समस्या भएका मानिसमा विभिन्न किसिमका संक्रमण भई मुटुमा प्रेसर परेर मुटुलाई कमजोर पार्न सक्छ,’ उनी भन्छन्,‘त्यस्तो अवस्थामा मुटुमा हार्ट फेलरको सम्भावना रहन्छ।’

के हो मुटु रोग

हिँड्दा स्या, स्या बढ्ने, छातीमा गरुङ्गोपन वा दुख्ने, छातीमा ढुकढुक बढ्ने समस्या र दुवै खुट्टा सुन्निने समस्या प्रारम्भिक चरणमा हुन्छ। त्यो बाहेका कहिले काँहि मुटुको चालमा गडबडी हुने समस्याले मानिस हिँड्दा बेहोस हुने वा चक्कर आउने मुटु रोगका लक्षण भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा समेत कार्यरत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ श्रेष्ठको भनाइ छ। यी समस्या अन्य कारणले पनि हुनसक्छ तर यो मुटु रोगको प्रारम्भिक लक्षण पनि हो।

मुटु रोगका प्रकार

डा. श्रेष्ठका अनुसार सामान्यतया मुटुरोगलाई तीन उमेर समूहमा विभाजन गर्न सकिन्छ। जन्मजात मुटुको रोग, ५ देखि १५ वर्षका किशोर किशोरीलाई हुने मुटुको बाथ र त्यो भन्दा माथि उमेर समूहका मानिसमा देखा पर्ने मुटु सम्बन्धी रोगहरु।

मुटुको बाथ भनेको बाल्यकालमा हुने समस्या हो। व्याक्टेरियाको संक्रमणबाट हुने समस्या मुटुको बाथ भएको श्रेष्ठ बताउँछन्। यो समस्याका सुरुवाती चरणमा धेरैमा जटिल खालको लक्षण नदेखिने भएका कारण अन्तिममा मात्रै थाहा पाइने हुन सक्छ। यसले विशेषगरि मुटुका भल्बलाई नै असर गर्छन्। ‘भल्बको असर बारे सुरुवाती चरणमै उपचार गर्न सके त्यसले विकराल रुप लिन पाउँदैन। तर समयमै पहिचान भएन समस्या बढ्दै गए, मुटुलाई नै बिगार्न सक्छ,’ उनी भन्छन्, ‘यसको जटिल अवस्थामा औषधिले पनि काम नगर्ने र अप्रेशन गर्नै गर्नुपर्ने बाध्यता आउन सक्छ।’

१५ वर्षभन्दा माथि उमेर समूहका मानिसहरुलाई ब्लड प्रेसरको समस्या र उमेर बढ्दै जाँदा हृदयघातको समस्या हुँदै जानाले मुटु कमजोर हुने गर्दछ। कुनै पनि उमेर समूह मुटु रोगको जोखिमबाट सुरक्षित नभएको श्रेष्ठ बताउँछन्।

चिसो मौसम र मदिरापानको सम्बन्ध

विशेषगरी जाडो छल्न भन्दै चुरोट र मदिरापान सेवनमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसैकसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गरेको चिकित्सकहरु बताउँछन्।

मध्यपान, धुमपान मुटुका लागि राम्रो कुरा होइन। जुनसुकै मौसममा पनि मध्यपान, धुमपानले मुटुलाई बेफाइदा मात्रै गर्छ। श्रेष्ठ भन्छन्, ‘यसले मान्छेलाई छणिक आनन्द गराए पनि दिर्घकालीन रुपमा गर्ने असर भनेको प्रेसर, सुगरसहित मुटुको घड्कन बढाउने र मुटुका नली बन्द गर्ने काम मात्रै गर्छ।’ उनी थप्छन्, ‘त्यसले नकारात्मक असर बाहेक अरु गर्दैन। त्यसका बाबजुद शरीरलाई न्यानो राख्न बारम्बार तातो पानी खाने, चिया, कफि, दूध पिउने, शरीरलाई न्यानो राख्ने तिर विशेष ध्यान दिनुपर्छ।’

हृदयघात

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ। त्यसैले जाडो याममा सतर्कता अपनाउनै पर्छ, खासगरी हृदयका रोगीले। हृदयघात भनेको आजको भोलि हुने समस्या होइन। विशेष गरि सुर्ति सेवन गर्ने, ब्लड प्रेसर उच्च हुने, सुगर भएकाहरु, कोलेष्ट्रोल उच्च भएकाहरु, मोटोपन भएकाहरु, शारीरिक व्यायाम नगर्नेहरु र अत्याधिक मानसिक तनावमा काम गर्नुपर्ने बाध्यता भएका मानिसहरुमा हृदयघात बढी हुने अध्ययनले देखाएको छ। मुटुमा ब्लक भएर, रक्तनलीमा रगत जमेर, मुटुका मांसपेशीमा रगतको आपूर्ति नभएपछि, मांसपेशी मर्ने प्रक्रियालाई हृदयघात भनिने श्रेष्ठ बताउँछन्।

यस्तो हुनुभन्दा अगाडि, जब मुटुमा ‘ब्लकेज’ हुन सुरु हुन्छ, ब्लकेज ठूलो हुँदैजाँदा, हिँड्ने बेला छातीमा पिरो हुने, स्वास फेर्न गाह्रो हुने समस्या देखिँदै जान्छ। ब्लकेजको मात्रा बढ्दै जाँदा समस्या पनि बढ्ने हुन्छ। यसको सुरुवाती चरणमा छाती दुख्ने, छाती पिरो हुने, पोल्ने, स्वास फेर्न गाह्रो हुनेगर्छ। त्यस्तो अवस्थामा केही बेर आराम गरे केही पनि नभए जस्तो हुन्छ। यो प्रारम्भिक चरणमा उपचार सम्भव भएको चिकित्सकको भनाइ छ।  

नेपालमा मुटुरोगको उपचार

नेपालमा प्रायः सबै प्रकारका मुटुरोगको उपचार सम्भव रहेको छ। संसारमै नयाँ भनिएका पद्धति पनि नेपालमा प्रयोगमा आएको छ। भलै सरकारी अस्पतालमा त्यसको सीमितता भए पनि सबै उपचार नेपालमा सम्भव छ। राजधानीमै केन्द्रित मात्रै भए पनि नेपालमा उपचार उपलब्ध रहेको श्रेष्ठको भनाई छ।  

एनजियोग्राफि, एनजियोप्लाष्टी जुन जालि राख्ने र खोल्ने, मुटुका ब्लक खोल्ने उपचार पद्धति हो। जसमा ७०÷८० हजार रुपैयाँदेखि २÷३ लाखसम्म पनि पर्ने गर्छ। पेसमेकर पद्धतिमा एक लाखदेखि ३÷४ लाख, मुटुको वाइपास गर्दा वा भल्ब फेर्दा लाख लाखमै शुल्क पर्छ। आइसीटि उपकरण राख्ने पद्धतिमा १५÷१६ लाखसम्म पनि पर्ने गरेको उनी बताउँछन्।

मुटु रोगबारे नेपाली नागरिकको चेतना

मुटु रोगबारे नेपाली नागरिकको चेतनामा धेरै कमि रहेको मुटुरोग विशेषज्ञ बताउँछन्। समस्या नपर्दासम्म अस्पताल नजाने नेपालीको बानी रहेको श्रेष्ठको भनाइ छ। उपचारका क्रममा औषधिको सेवन गरिरहेको समयमा समेत चिकित्सकको नियमित सम्पर्कमा बस्ने नगरेको उनको अनुभव छ।  

कतिपयले आफूलाई मुटु सम्बन्धी रोग लागेको थाहा समेत पाउँदैनन्। थाहा पाएकाले पनि बेवास्ता गर्ने भएका कारण मानिसको स्वास्थ्यमा जटिल समस्याहरु देखिन थालेका छन्। त्यसैले बेलैमा रोगको पहिचान गरी उपचार गर्न जरुरी रहेको चिकित्सकहरुको सुझाव छ।

यस्तै, सन्तुलित भोजन गर्नुपर्ने उनको सुझाव रहेको छ। उनी भन्छन्, ‘सागपात, फलफूल, माछामासु आदिको सन्तुलित खाना खानु पर्ने। तर कुनै पनि कुराको अत्याधिक सेवन राम्रो भने होइन। सकेसम्म शाकाहारी खानालाई जोड दिनुपर्छ।’ बजारका प्याकिङ् गरिएका खाना जंकफूडले शरीरमा नचाहिदो फ्याट बढ्ने, कोलेष्ट्रोल बढी देखिन्छ।  

चिकित्सकको सुझाव

हरेक व्यक्तिले आफ्नो मुटु स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने उनी बताउँछन्। उनका अनुसार खानपानमा जंकफूडलाई बेवास्ता गर्नुपर्छ। सफ्ट ड्रिङ्स, गुलियो धेरै भएको खानेकुराले मोटोपन बढाउने, शरीरमा कोलेष्ट्रोलको मात्रा बढाउने गर्छ। रातो मासुको सेवन पनि नराम्रो हो। त्यसकारण सेतो मासु जस्तैः कुखुरा वा पन्छी जातिय कुरालाई प्रोत्साहन गर्नुपर्छ। माछाको सेवन पनि राम्रो हुन्छ।  

मुटुरोग लागेपछि औषधि जीवन भर खानुपर्ने सम्भावना धेरै रहने बताउँदै डा. श्रेष्ठ भने, ‘मुटु रोगको उपचार खर्च निकै महङ्गो रहेको छ। त्यस कारण रोग लाग्नु भन्दा पनि लाग्न नदिनुनै उत्तम हुन्छ। यसलाई बचाउ तिर लैजानु पर्छ।’

प्रकाशित: १६ पुस २०७८ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App