६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोभिडको तेस्रोलहरबिरुद्ध प्रदेश सरकारले थाल्यो तयारी

कोरोनाको  संभावित तेस्रो लहरलाई ध्यानमा राख्दै प्रदेश १ को सरकारले तयारी थालेको छ। प्रदेश सरकारले प्रदेशका कोभिड अस्पतालहरूलाई चुस्त राख्ने, अस्पतालको क्षमता वृद्धि गर्नेलगायतका काम  सुरू गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कतिपय अस्पतालहरूको मन्त्री आफैले स्थलगत अनुगमन गरेर समस्याहरू, पूर्वाधार, जनशक्ती आदिको अवस्थाका बारेमा जानकारी लिने कामसमेत भइरहेको छ। विराटनगर स्थित कोसी कोभिड अस्पतालको क्षमता बढाउने कामसमेत धमाधम भइरहेको मन्त्रालयले जनाएको छ। विराटनगरस्थित कोसी कोभिड अस्पताल परिसरमा ७६ वेड क्षमताको अर्को भवन निर्माण अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेशको रिफरल अस्पतालका रुपमा स्थापना गरिएको विराटनगरस्थित कोसी कोभिड अस्पताल परिसरमा सुविधासम्पन्न पूर्वाधारयुक्त भवनहरू निर्माण भइरहेको छ।  

स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले उक्त भवन निर्माण गरेको हो। नयाँ भवनमा २४ वटा आइसीयु र ५२ वटा एच्डीयु वेड रहेका छन्। यस्तै मुख्य भवनसँगै शव राख्ने भवन र फोहोर मैला व्यवस्थापन गर्न छुट्टा–छुट्टै भवन निर्माण भइरहेको छ।

कोसी कोभिड अस्पताल परिसरको पुरानो भवनमा ८ बेड छ। यस्तै निजी क्षेत्रले निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको नागरिक केयर सेन्टर ९८ बेडको छ। ७६ बेडको निर्माणाधिन भवनसमेत कोसी २ सय ५२ बेडको कोसी कोभिड अस्पतालको क्षमता २ सय ५२ जना बिरामीको उपचार गर्न सकिने भएको छ।

कोसी कोभिड अस्पताल परिसरमा निर्माण भइरहेको नयाँ भवनमा रंग रोकनको काम भइरहेको र  एक हप्ता भित्रै सम्पन्न गरी अस्पताललाई हस्तान्तरण हुने कोसी कोभिड अस्पताल विराटनगरका संयोजक वैजनाथ साहले जानकारी दिए।

थोरै बिरामी भएका कारण तत्कालका लागि कोरोना उपचारमा कुनै समस्या नरहेको साहले बताए। उनका अनुसार हाल कोसी कोभिड अस्पतालमा ८ जना बिरामीको उपचार भइरहेको छ। तर, तेस्रो भेरियन्ट आएर संक्रमितको संख्या बढेको खण्डमा भने अस्पतालको पूर्वाधार अनुसार जनशक्ति र अक्सिजनको व्यवस्था गर्न चुनौति रहेको उनले बताए।

प्रकाशित: १४ पुस २०७८ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App