४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अधिकतम चालकहरुको रक्तचाप 'उच्च'

ट्राफिक सप्ताहको अवसमा स्वास्थ्य परीक्षण गर्न लामबद्ध चालकहरु। तस्बिर: महेश्वर/नागरिक

उदयपुर ट्राफिकले बिभिन्न गतिबिधि गर्दै यस वर्षको ‘ट्राफिक सप्ताह ०७८’ सम्पन्न गरेको छ। सप्ताहको अवसरमा विद्यार्थीलाई ट्राफिक सम्बन्धी कक्षा लिने, जनचेतना जगाउन सवारी चालक सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउनेदेखि चालकको स्वास्थ्य परीक्षणसम्मका कार्यक्रम गरिएको छ।  

अहिलेको अवस्थामा ट्राफिक नियम अत्यावश्यक भईसकेकाले त्यस सम्बन्धी सानै उमेरदेखि जानकारी गराइयो। जसमा बिभिन्न विद्यालयका विद्यार्थीलाई सचेतना कक्षामा सहभागी गराउनुका साथै विद्यार्थी लिएर सडकमा ट्राफिक सचेतनाबारे स्थलगत प्रयोगात्मक क्रियाकलाप गराइएको जिल्ला ट्राफिक कार्यालयका जवान भुवन राईले बताए। उनका अनु्सार सातादिनसम्म मनाइएको सप्ताहमा दुर्घटनाबारे जानकारी गराउँदै त्यसबाट बँच्ने उपाय, ट्राफिक नियम, संकेतहरु, सवारी किसिम र नियम मिचेमा दण्डजरिवानाको विषयमा पनि जानकारी गराइएको थियो।  

विद्यार्थीदेखि सर्बसाधारण नागरिकसम्मलाई सवारी दुर्घटना, यसले पार्ने क्षति र यसबाट बँच्ने उपायबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको जवान राईले बताए। उनका अनुसार सडक पेटीमा पसल र सामान नराख्न, ट्राफिक चिन्हको अर्थ र प्रयोग, आरक्षण सीट, क्षमता अनुसार यात्रु बोक्नेलागयत विषयमा पनि सचेत गराइएको थियो।

सप्ताह अभियान सदरमुकाम गाईघाटदेखि जलजले, बेलटार, रामपुर, कटारी, मुर्कुचीलगायत बजारमा पनि सञ्चालन गरिएको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक (सई) लिलाकुमार श्रेष्ठले बताए। उनका अनुसार बिभिन्न सिर्जनसिल र चेतनामुलक अभियान गरेर सप्ताह सम्पन्न गरिएको छ। सवारी दुर्घटनाबाट बँच्दै सरल र सुरक्षित यात्रा गर्न आवश्यक जानकारी सर्वसाधारणलाई गराउँदै बजार केन्द्रित कार्यक्रम गरेर सप्ताह सफलतापूर्वक सम्पन्न गरिएको सई श्रेष्ठले बताए। उनका अनुसार सप्ताह अत्यन्त प्रभावकारी र सफल भएको ठहर सप्ताह अन्त्यको अवसरमा आयोजित समापन कार्यक्रममा गरिएको छ।  

सप्ताहको अन्त्यमा गाईघाटदेखि बिभिन्न ठाउँसम्म जाने साना ठूला सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। यातायात व्यवस्था सेवा कार्यालय गाईघाट र इलाका प्रहरी कार्यालय जलजलेको आयोजनामा गराइएको चालकहरुको स्वास्थ्य परीक्षण्मा अधिकतर चालकहरुको रक्तचाप (ब्लड प्रेसर) उच्च पाइएको छ।  

जिल्ला अस्पताल उदयपुरका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले ट्राफिक सप्ताहको अन्त्यमा ५० जना चालकको स्वास्थ्य परीक्षण गरिएको बताए। जसमध्ये २६ जना अर्थात ५१ प्रतिशतको रक्तचाप उच्च देखिएको डा. मण्डलले बताए। चालकहरुमा उच्च रक्तचाप देखिनुमा समयमा खानेबस्ने र सुत्ने व्यवस्था नहुनु, छिटो गन्तव्य पुग्ने चटारो, सडकको दुरावस्था तथा पारिवारिक समस्यालगायत प्रमुख कारण पाइएको छ।  

सवारी चलाउँदा सहज र आनन्द मनले चलाउनु पर्नेमा चालकको मनमा बिभिन्न किसिमका कुरा खेल्दा पनि रक्तचाप उच्च हुने डा. मण्डलले बताए। उच्च रक्तचापका चालक र सहचालकलाई तनाव नलिन, मदिरा सेवन नगर्न, समयमा खाना खान, आवश्यक अनुसार आराम गर्न, मनमा कुरा नखेलाउन, सन्तुलित आहार र नियमित विहार (कसरत) गर्न तथा आवश्यक अनु्सा औषधि सेवन गर्न परामर्श दिइएको डा. मण्डलले बताए।  

उच्च रक्तचापले मधुमेह (सुगर), पक्षघात (प्यारालाईसिसि) जस्ता भयानक रोगहरु निम्त्याउन सक्ने र त्यसबाट आँखा कमजोर हुने समस्या आउन सक्ने भएकाले यसबाट बँच्न त्यसैगरी नियमित र बेलाबेलामा रक्तचाप परीक्षण गर्न पनि परामर्श दिइएको छ। चालकमा उच्च रक्तचाप भएमा जुनसुकै बेला दुर्घटना हुने खतरा रहेको हुनाले पनि सचेत हुन डा.हरुले सुझाएका छन्। दैनिक ७÷८ घण्टा आराम गर्नुपर्नेमा लगातार सवारी हाँक्दा पनि स्वास्थ्यमा समस्या हुने भएकाले आवश्यक्ता अनुसार आराम गर्न पनि चिकित्सकीय सुझाव छ।  

सप्ताहको क्रममा सवारी साधानको अवस्थाबारे पनि चेकजाँच गरियो। सवारी साधनको प्रदु्षण अवस्था, नम्बर प्लेट, ब्लुबुकलगायत कागजातहरु चेकजाँच गरिएका थिए। परीक्षणको क्रममा कागजात अद्यावधिक नभएकालाई नियमानुसार तत्काल सम्बन्धित निकायमा गएर अद्यावधि गर्न निर्देशन दिइएको ट्राफिक प्रमुख श्रेष्ठले बताए। पुष ४ देखि सुरु सप्ताह सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए।

प्रकाशित: १३ पुस २०७८ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App