१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानलाई पेपरलेस बनाउने लक्ष्य

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीको पुर्जी काट्न र ल्याबको रिपोर्ट लिन घण्टौं लाइनमा उभिनुपर्ने बाध्यता हटेको छ।

प्रतिष्ठानको अस्पताल प्रशासनले एक सातादेखि मोवाइल एप्लिकेशनमार्फत डिजिटल सेवा सुरु गरेको छ भने बिहीबारदेखि अनलाइनबाट नै ल्याबको रिपोर्ट हेर्न सकिने सेवा पनि सञ्चालनमा ल्याएको छ। यो सेवाले बिरामी तथा तिनका आफन्तहरु ओपिडी बिल काट्न घण्टौं लाइनमा उभिनु पर्ने बाध्यता हटेको अस्पतालका डेपुटी निर्देशक डा. विकास साहले जानकारी दिए।

प्रतिष्ठानमा दैनिक २५ सयभन्दा बढी नयाँ तथा पुराना बिरामीहरु उपचारको लागि आउने गर्छन्। बिहान ८ बजेदेखि टिकट काउण्टर खुलेपनि बिरामीका आफन्तहरु त्योभन्दा अघिदेखि नै बिल काट्न लाइनमा उभिएका हुन्छन्।

प्रतिष्ठानले बिल काउण्टरलाई व्यवस्थित गर्न नसकेको भन्दै चर्को आलोचना हुने गरेको थियो। अब भने घरमा बसेर मोबाइल एपमार्फत नै आफूलाई आवश्यक पर्ने विभागको बिल काट्न सकिने भएकोले बिरामीहरुलाई धेरै राहत मिलेको अस्पतला निर्देशक डा.साहले जानकारी दिए। ‘यो प्रविधिले घण्टौं लाइनमा उभिएर पुर्जी काट्नुपर्ने बाध्यता हट्यो। घरबाट नै मोबाइलमार्फत टिकट काट्न सकिन्छ,’ उनले भने, ‘प्रतिष्ठानलाई पेपरलेस बनाउने लक्ष्य अनुसार यो सेवा शुरुवात गरिएको हो।’

अस्पताल प्रशासनका यो सेवाको उपयोग कसरी गर्ने भनेर सिकाउन ओपिडी टिकट काउन्टरको भवन बाहिर सहयोगीसमेत राखिएको छ।

प्रतिष्ठानले मिडास टेक्नोलोजीसँगको सहकार्यमा यो सिस्टम विकास गरेको हो। मिडासका बिजनेस मेनेजर राजीव कार्कीका अनुसार वीपीकेआइएचएस एपबाट नै ल्याब परीक्षणको रिपोर्ट पनि हेर्न मिल्ने सेवा पनि बिहीबारदेखि सुरु भएको छ।

अब बिरामी वा बिरामीका आफन्तले मोबाइलबाट नै बिरामीको ल्याबको रिपोर्ट हेर्नसक्छन्। त्यसको लागि बिरामीले ल्याबको बिल काट्दा युजर नेम र पासवर्ड दिएको हुन्छ। त्यही युजरनेम र पासवर्डबाट एपको प्रोफाइलमा गएर बिरामीको रिपोर्ट हेर्न सकिने कार्कीले बताए। अस्पतालका  डेपुटी निर्देशक डा.साह यो सिस्टम सुरु भएपछि समयको बचत, जनशक्ति धेरै नलाग्ने र विगतमा हुने मानवीय त्रुटीहरु पनि नहुने बताउँछन्।

प्रकाशित: १ पुस २०७८ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App