१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

'ओमिक्रोन'विरुद्ध निकालियो र्‍याली

कोरोना भाइरस संक्रमणको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध सचेतना अपनाउन आग्रह गर्दै ताप्लेजुङस्थित भीमकाली गुल्मको अगुवाइमा मंगलबार फुङ्लिङमा जनचेतनामुलक र्‍याली निकालिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सदरमुकामस्थित लिटलबुद्ध आवासीय माविमा तालिमरत राष्ट्रिय सेवा दल(एनसीसी)मा आबद्धहरुको सहभागितामा जनचेतनामुलक र्‍याली निकालिएको हो। तोक्मेडाँडाबाट सुरु भएको र्‍याली टुक्रे हुँदै माथिल्लो रोडबाट फेरि तोक्मेडाँडामा पुगेर सकिएको थियो।

जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालनाले मात्र संक्रमणको जोखिमबाट बच्न सकिने भएकोले त्यहिँ सन्देश प्रवाहका लागि जनचेतनामुलक र्‍याली निकालिएका भीमकाली गुल्मका गुल्मपति सेनानी राजन बस्नेतले बताए। र्‍यालीमा मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न, भिडभाडमा नजान, पटक–पटक साबुन पानीले हात धुन, अत्यावश्यक काम बाहेक घर बाहिर नजान, भौतिक दूरी कायम गर्न र कोरोनाविरुद्धको खोप अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरिएको थियो।

र्‍यालीमा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, जिल्ला न्यायाधीश प्रकाश राउत, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रोशन बुढाथोकी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान निर्देशक दुर्गा चापागाइँ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीसहितको उपस्थिति रहेको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ भेरियन्टको नाम विश्व स्वास्थ्य संगठनले ओमिक्रोन राखेको छ। यो ग्रिक अल्फाबेट हो। ९ नोभेम्बरमा लिइएको नमुना परीक्षणबाट २४ नोभेम्बरमा यो भेरियन्टको पुष्टि भएको हो। यसको वैज्ञानिक नाम बी.१.१.५२९ रहेको छ। यसको अर्थ यो भेरियन्ट बी.१ भेरियन्टबाट आएको भन्ने हुन्छ। नयाँ भेरियन्ट भाइरसको कुन पुस्ताबाट आएको हो भन्ने जानकारीका आधारमा वैज्ञानिक नाम दिने गरिन्छ।

तर, वैज्ञानिक नाम प्रयोग गर्न तुलनात्मक रूपमा असजिलो हुने भएकाले जुन देशबाट नयाँ भेरियन्ट देखियो त्यही देशको नाम लिएर घृणा फैलाउने काम भएको भन्दै विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटबाट राख्न थालेको हो। यसअघि बेलायतमा देखिएको भेरियन्टलाई अल्फा, भारतमा देखिएकोलाई डेल्टा नाम दिइएको थियो।

चीनको वुहानमा पहिलो चरणमा देखिएको कोरोना भाइरसभन्दा यो भेरियन्ट निकै भिन्न रहेको छ। यसको मतलव वुहानमा भेटिएको भाइरसको पहिलो स्ट्रेनका आधारमा बनाइएका खोपहरू ओमिक्रोनका लागि कम प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ। कोरोना भाइरसबारे जानकारहरूले यो भेरियन्ट तुलनात्मक रूपमा छिटो फैलन सक्ने र अहिलेसम्मकै बढी घातक हुन सक्ने बताएका छन्।

नेपालमा पनि २ जनामा ओमिक्रोन भाइरस फेला परेको भन्दै सरकारले सचेतना अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २१ मंसिर २०७८ १०:५५ मंगलबार