पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको हो। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५३९ रहेको छन्। नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ।
पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन्। ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन्।
सङ्क्रमित शून्य जिल्ला पाँच
आज सङ्क्रमति शून्य रहेका जिल्ला पाँच पुगेको छ। ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन्। पछिल्लो २४ घन्टामा ३६९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन्।
योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन्। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट आज पाँच जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ।
होम आइसोलेशन सात हजार ६०, संस्थागत आइसोलेशनमा ४७९, सघन उपचार कक्ष (आइसियु) मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन्। यस्तै आज एक लाख ७३ हजार ४९८ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन्। रासस
प्रकाशित: ३ मंसिर २०७८ ११:५३ शुक्रबार