७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

फाइजरको खोप सोमबार आइपुग्ने

अमेरिकाबाट फाइजरको १ लाख डोज खोप सोमबार (कात्तिक ८ गते) नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्यास सुविधाअन्तर्गत अमेरिकाले सो खोप उपलब्ध गराएको हो।

सो खोप नियमित उडानमार्फत नै नेपाल आइपुग्ने आपूर्ति महाशाखाका प्रमुख ढुंगानाले बताए। १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप दीर्घरोगीलाई समेत दिने तयारी भइरहेको महाशाखाले जनाएको छ। खरिद प्रक्रियाबाट थप खोप आउनेबारे भने निश्चितता नभएको आपूर्ति महाशाखाले जनाएको छ।

भिटामिन ‘ए’ र जुकाको औषधि ख्वाइँदै

सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ। नजिकको खोप केन्द्र तथा अन्य केन्द्रबाट खोप दिइने परिवार कल्याण महाशाखा पोषण शाखाले जनाएको छ। 

पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार यो वर्ष नियमित खोप केन्द्रभन्दा बढी स्थान ५२ हजार केन्द्रबाट भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ। खोप केन्द्र भने १६ हजार संख्यामा छन्।

नेपालमा भिटामिन ‘ए’ तथा जुकाको औषधि वर्षको दुईपटक लक्षित बालबालिकालाई खुवाउने गरिन्छ। नेपालमा जुकाको औषधि अनिवार्य ६ महिनामा खुवाउनुपर्छ भन्ने सोंच अहिले पनि सबै अभिभावकमा नभएकाले सरकारले स्वास्थ्य कार्यक्रमअन्तर्गत सहभागी गरेको पोषणा शाखाका प्रमुख पराजुलीले बताए। शाखाका अनुसार नेपालमा यसपटक २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन जाँदा सम्भावित कोराना संक्रमणको जोखिमबाट बच्न सुझाएको छ। केन्द्रमा पुग्दा अनिवार्य रूपमा मास्क लगाएर जाने, एक व्यक्ति र अर्को व्यक्ति वीचमा कम्तीमा दुई मिटर दूरी कायम गर्ने, आफू र बालबालिकाको सुरक्षाका लागि हातको सफा राख्नेलगायत नियम पालना गर्न सुझाएको छ।

प्रकाशित: ५ कार्तिक २०७८ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App