२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुर कोभिड अस्पताल संक्रमितमुक्त

६ जना संक्रमणमुक्तलाई विदाईपछि सामूहिक तस्बिर खिच्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई र फोकल पर्सन पोखरेल । तस्बिरः महेश्वर

उदयपुर कोभिड अस्पताल संक्रमितमुक्त भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारमा रहेको कोभिड अस्पताल यो वर्ष पहिलोपटक कोभिड संक्रमितमुक्त भएको हो। दोस्रो लहरकाे संक्रमण सुरु भएदेखि नै भरिभराउ हुँदै आएको अस्पताल आइतबारदेखि खाली भएको अस्पतालका फोकल पर्सन तेजबहादुर पोखरेलले बताए।  

पोखरेलका अनुसार पछिल्लो सातादिनयता उपचाररत ४ महिलासहित ६ जना संक्रमित सबै आइतबारको परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई विदाई गरेसँगै अस्पताल रित्तिएको हो। उनले होमआईसोलेसनमा भने अझै २ महिलासहित ३ जना उपचारमा रहेको जानकारी दिए।  

एक वर्षअघि सुरु अस्पताल संक्रमितमुक्त भएपछि खाली भएकोमा गत वैशाख ९ गते दोस्रो लहरको कोभिड संक्रमण देखिएपछि सुचारु भएको थियो। सुरुदेखि नै संक्रमितले भरिभराउ हुँदै आएको अस्पताल साढे ५ महिनापछि खाली भएको छ। पोखरेलले यस अवधिमा २ सय ८२ महिलासहित ६ सय २९ संक्रमितले अस्पताल भर्ना भएका छन्। जसमध्ये २ सय ६६ महिलासहित ४ सय ८५ जना निको भएर घर फर्केको पोखरेलले बताए। त्यस्तै १५ महिलासहित ४२ जनालाई रिफर गरिएको र १ महिलासहित २ जनाको अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले उदयपुर कोभिड अस्पताल बनेपछि नगरवासीलगायत उदयपुरका सबै संक्रमितको उपचार सहज भएको बताए। उनका अनुसार चौदण्डीगढी नगरपालिकाका मात्र नभएर जिल्लाका ८ वटै स्थानीयतहका बिरामीले सहज उपचार पाएका छन्। मेयर राईले तत्काललाई अस्पताल खाली भए पनि अझै कोभिड संक्रमणको जोखिम भने कम नभईसकेकाले सबै सतर्क भएर सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन्।  

मेयर राईले पहिलो कोभिडकालमा जनमानसमा त्राहीत्राही बनाएपछि स्वास्थ्य परीक्षण र उपचार कठिन हुँदा अस्पताल खोल्न सरकारसँग सहयोग माग्दा पनि नपाएपछि जिल्लाका सबै स्थानीयतहहरु मिलेर उदयपुर कोभिड अस्पताल खोलेको स्मरण गरे। सुरुमा ४ नगरपालिका प्रत्येकले १५ लाखका दरले र ४ गाउँपालिकाबाट १० लाखका दरले १ करोड रुपैयाँ जम्मा गरेर सञ्चालन भएको आईसोलेसन सेन्टरलाई नै स्वीस सरकारको सहयोगमा ३२ कोठे पक्की भवन बनाएर अस्पतालमा परिणत गरिएको हो।  

उदयपुरमा पछिल्लो तथ्यांक अनुसार १९ महिलासहित ४१ जना संक्रमित बाँकी छन्। उनीहरु बिभिन्न आईसोलेसन सेन्टर तथा होमआईसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। अघिल्लो दिन १ महिलामा मात्र कोभिड संक्रमण पुष्टि भएको थियो। केही सातायता उदयपुरमा संक्रमण दर घट्दै शून्यतर्फ उन्मुख देखिएको तर, जोखिम अझै कम नभएको भन्दै स्वास्थ्य कार्यालयले सुरक्षा सावधानी अपनाउन भने नछाड्न आग्रह गरेको छ। 

प्रकाशित: १८ आश्विन २०७८ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App