१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा कोभिडका बिरामी घट्दै

उदयपुर कोभिड अस्पताल बेलटामा संक्रमणमुक्ततलाई बिदा गर्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई। तस्बिर: महेश्वर/ नागरिक

पछिल्लो समय उदयपुरमा कोभिड संक्रमण दर शून्यतर्फ झर्दै आएको छ। गएको २४ घण्टामा त्रियगा नगरपालिका १० मा १ महिला संक्रमित देखिएको उदयपुरमा अघिल्लो दिन चौदण्डीगढी नगरपालिका ६ का एक पुरुष संक्रमित देखिएका थिए।

गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। भदौदेखि नै संक्रमण दर घट्दै गएकोमा असोज लागेपछि अझ घट्ने क्रम बढेको स्वास्थ्यको भनाई छ। पछिल्लो संक्रमण दर हेर्दा शून्यतर्फ उन्मुख देखिएको स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताएका छन्।

उनका अनुसार अब जिल्लामा २४ महिला र २२ पुरुषसहित ४६ संक्रमित निको हुन बाँकी छन्। संक्रमितहरुको हाल चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित उदयपुर कोभिड अस्पताल बेलटार, सदरमुकाम र बिभिन्न स्वास्थ्य संस्था तथा आईसोलेसन सेन्टरहरुमा उपचार भईरहेको छ। संक्रमणदर तीब्र रहेका बेला जिल्लाका सदरमुकाम गाईघाटस्थित आँखा अस्पताल, कोभिड अस्पताल बेलटार र अन्य सबै स्थानीयतहमा आईसोलेसन सेन्टर स्थापना गरेर संक्रमितको उपचार व्यवस्था मिलाइएको थियो।

जसमध्ये सदरमुकामको आईसोलेसन सेन्टरसहित अन्य नगरपालिका र गाउँपालिकाकास्तरीय आईसोलेसन सेन्टरहरु शून्य संक्रमित भईसकेका छन् भने चौदण्डीगढीस्थित जिल्लाकै एक मात्र कोभिड अस्पताल मात्र सञ्चालित छ। कोभिड अस्पतालमा हाल ८ महिलासहित १३ जना संक्रमित उपचारमा रहेको अस्पतालका फोकल पर्सन तथा नगर स्वासथ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए। पोखरेलका अनुसार केहीको उपचार भने होमआईसोलेसनमै भईरहेको र दिनहुँजसो संक्रमित संख्या घट्दै गएको छ।

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले अहिले पनि कोभिड संक्रमण पत्ता लगाउन एन्टीजेन र पिसिआर चेकजाँच गर्ने क्रम जारी राखिएको छ। उनका अनुसार गएको एक महिनायता संक्रमित दर क्रमशः घट्दै गएको छ। नगरपालिकाले संक्रमितहरुको उपचार गर्न आईसोलेसन सेन्टरलाई विशेष धयन दिदै आएको पनि मेयर राईले बताए।

जिल्लाको त्रियुगा नगरपालिकामा ७ महिलासहित १७ जना संक्रमित निको हुन बाँकी छ भने कटारी नगरपालिकामा ६ महिलासहित ११ जना, बेलकामा १ महिला, चौदण्डीगढी नगरपालिकामा ९ महिलासहित १७ जना उपचारको सिलसिलामा छन्। ताप्ली, उदयपुरगढी, रौतामाई र लिमचुङबुङ गाउँपालिकाहरु भने यसअघि नै संक्रमणमुक्त भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित: १३ आश्विन २०७८ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App