विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। बिरामीको चाप अनुसार आवश्यक स्वास्थ्य उपकरण र पर्याप्त पूर्वाधार नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या भएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख डाक्टर नेत्रबहादुर बस्नेतले भौतिक संरचना र जनशक्तिको कमी हुँदा सेवाग्राहीलाई भने अनुसारको सेवा दिन नसकेकाे बताएका छन्।
‘थप उपकरण, भौतिक संरचना र जनशक्तिको ठूलो खाँचो रहेको छ,’ प्रमुख बस्नेतले भने, ‘उपचारका लागि केही उपकरण भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या भएको छ। थोरै जनशक्तिले बिरामीलाई सेवा प्रदान दिनु परेको छ।’
पछिल्लो समय केन्द्रमा सेवा लिने बिरामीको चाप बढ्दै गएको छ। 'ओपिडी (बाहिरङ विभाग)मा नयाँ र पुरानो गरी दैनिक ८०/९० जना बिरामीले सेवा लिँदै आएका छन्', प्रमुख बस्नेतले भने, ‘पहिले आफ्नै सानो भवन हुँदा दैनिक १५/२० जना उपचार गराउन आउने गर्थे। सानो भवनमा बिरामीलाई पर्याप्त सेवा दिन सकेका थिएनौं।’ तर, अहिले स्वास्थ्य केन्द्रले घर बहालमा लिएर सेवा प्रदान गर्न थालेपछि बिरामीको चाप ह्वत्तै बढेको हो।
गत आर्थिक वर्ष २०७७/७८ मा मुख्यत: १० वटा रोगको उपचार गर्न आउने बिरामीको संख्या धेरै रहेको पाइएको छ। केन्द्रमा ४ हजार ७ सय १६ महिला र ४ हजार ९ सय ८५ पुरुष गरी कुल ९ हजार ७ सय १ जनाले सेवा लिएका छन्। स्वास्थ्य केन्द्रका सूचना अधिकारी रविन्द्र मेहताका अनुसार गत वर्ष उपचारका गर्न आएका मध्ये ७२ दशमलब ७१ प्रतिशत मुख्य १० वटा रोगका बिरामी आएका र बाँकी अन्य विभिन्न समस्या लिएर आएका थिए। जसमा बाथ ब्याधीका १ हजार ७ सय ७४, अम्लपित्तका १ हजार ६ सय १४, गुद्ध विकार ८ सय ५५, रक्तचापका ४ सय ६६, छालाका ४ सय ६३, पेट सम्बन्धीका ४ सय ४६, स्वासप्रश्वासका ४ सय ४, झाडा बान्ताका ३ सय ५६, स्त्री रोगका ३ सय ४६ र रक्त विकारका ३ सय २९ जनाले उपचार सेवा लिएका छन्।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको २३ प्रकारका औषधि कमी हुँदै आएपछि विरतण गर्न समस्या हुन थालेको बताइएको छ। ‘बिरामीको संख्या बढ्दै गएको हुँदा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि कमी हुन थालेको छ,’ प्रमुख बस्नेतले भने, ‘कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट अपुग हुँदा समस्या भएको छ।’
उनले पञ्चकर्म, क्षारसुत्र सेवा तथा शल्य सेवा, होमियोप्याथिक र प्राकृतिक चिकित्सा सेवालगायत अन्य विभिन्न सेवा प्रदान गर्दै आएका बताए।
प्रदेश १ का सबै जिल्लाबाट यहाँ उपचार सेवा लिन आउने गरे गरेको स्वास्थ्य केन्द्रले जनाएको छ।
प्रकाशित: ७ आश्विन २०७८ १४:२२ बिहीबार