८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप

कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन्। यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन्। काठमाडौँ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन्। मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन्।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तिमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाएको छ।

काठमाडौँमा ११ लाख ३७ हजार एक सय ६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्। भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेका छन्। भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन्। ललितपुरमा दुई लाख ६३ हजार आठ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार तीन सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन्। महाशाखका निर्देशक डा लालले उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए। पछिल्लोपटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ। ‘हामीले उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका छौँ’, उनले भने, ‘अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई आउने खोप लगाउँछौँ।’

नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार एक सय ६४ जना सर्वसाधारणले खोप लगाएका थिए। प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उनले सबै नेपाली नागरिकलाई खोप पुर्याउने पहिलो प्राथमिकताका रुपमा घोषणा गरेका थिए। नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो। नेपालमा पहिलोपटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो।  

प्रकाशित: १ आश्विन २०७८ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App