२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उधारोमा निःशुल्क स्वास्थ्य बिमा

अस्पतालको फार्मेसी । तस्बिरः दिनेश/नागरिक

रोल्पा नगरपालिका ६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा शुक्रबार ३ घण्टा पैदल हिँडेर रोल्पा अस्पताल आईन्। रक्तचापलगायत अन्य शारीरिक समस्याले ग्रसित उनले डाक्टरसँग जचाईन्। डाक्टरले सबै रिपोर्ट हेरेपछि पर्चामा ५ थरिका औषधि लेखिदिए। 

अस्पतालको फार्मेसीमा औषधि लिन गएकी उनलाई त्यहाँ २ थरिको औषधि मात्र दिईयो। ‘तीन थरिका औषधि किन्नु भने तर मसंग पैसा छैन।’ उनी भिटामिन बि कम्प्लेक्स र रक्तचापको औषधि बोकेर घरतिर लागिन्।

मेघमाली जस्ता दर्जनौ बिरामी यतिबेला औषधि किन्ने पैसा नभएपछि अपुरो औषधि लिएर घरतिर लाग्न बाध्य हुने गरेका छन्। रोल्पामा रहेको एक मात्र अस्पताल रोल्पा अस्पतालमा निःशुल्क स्वास्थ्य बिमाको सुविधा छ तर अस्पतालको फार्मेसीमा यतिबेला बिरामीलाई चाहिने अत्यावश्यक औषधिको सुविधा छैन। दुःखसुख गरेर जम्मा गरेको पैसाले निःशुल्क स्वास्थ्य बिमा गरेका स्थानीयहरु फेरि पनि महङ्गो शुल्कमा औषधि किन्न बिवश छन्। बर्षातको यो मौसममा धेरै मानिस बिरामी हुन्छन् तर यहि समयमा फार्मेसीमा औषधि सकिएको छ।  

त्यसो त अस्पतालले दिने ७० प्रकारका निःशुल्क औषधि यतिबेला २१/२२ प्रकारका औषधि मात्र छन्। ‘अहिले केही औषधि सकिएको छ। केही समय अघिबाट आपूर्तिमा माग गरेका छौ तर पठाएकाे छैनाैं।’ रोल्पा अस्पताल प्रमुख डा. सबु काप्ले भन्छिन्, ‘हामीले गर्ने नयाँ टेन्डर पनि प्रदेशले कार्यक्रम स्वीकृत गरेको पत्र नपठाएका कारण खोल्न सकिएको छैन।’ निःशुल्क वितरण गर्ने औषधि पनि सकिएको उनले स्वीकार गरिन्।

निःशुल्क स्वास्थ्य बिमा गराएकाहरु पैसा नतिरेर सुविधा पाउने भएपछि जचाउन आउँछन् तर औषधि किन्नु पर्ने बाध्यताका कारण रित्तै हात घर जान बाध्य छन्। ‘निःशुल्क औषधि जति पटक माग गरे पनि माथिबाट आउँदैन।’ अस्पताल बिकास समितिका अध्यक्ष फबिन्द्र आचार्य भन्छन्, ‘बिमाले दिएको सुविधा जसरी पनि अस्पतालले व्यवस्था गर्नै पर्छ। के भएको हो म बुझ्छु।’  

तामझामका साथ हल्लाखल्ला गर्दै सुरु गरिएको निःशुल्क स्वास्थ्य बिमाले धोका दिएको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन्। अस्पतालमा देखिएको समस्याका बारेमा सरोकारवाला निकाय मौन प्रायः छन्। 

स्वास्थ्यका सवालमा कोही पनि संवेदनशिल नबनिदिँदा बिरामीहरु जहिल्यै मारमा पर्ने गरेका छन्। 

प्रकाशित: १८ भाद्र २०७८ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App