१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

विज्ञले खोप लगाएर मात्रै कोरोनाबाट पूर्ण सुरक्षित नभइने औंल्याएका छन्। कोभिड १९ को खोप लगाएपछि पनि कोरोना संक्रमण हुने र कतिपयमा जटिल समस्यासमेत देखिने भएकाले खोप लगाए पनि लापरबाही गर्न नहुने सुझाव उनीहरूको छ।  

परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलका अनुसार हाम्रो शरीरमा विभिन्न खालका रक्तकोष हुन्छन्। खोपमा हुने कोरोना भाइरसजस्तै तत्व रगतको टि–सेलमा पुगेपछि मेमोरी सेलले त्यसको फोटो खिचेर राख्छ। शरीरमा चाहिएका बेला अर्थात् कोरोना भाइरस प्रवेश गर्नेबित्तिकै खोपमा रहेको कोरोना भाइरसजस्तै ठानेर शरीरले एन्टिबडी बनाउन थाल्छ। भाइरसले रूप परिवर्तन गरेको भए हामीले लगाएको खोपले त्यस्तो भाइरसविरुद्ध काम नगर्न सक्छ। यस्तो बेलामा खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमणले जटिल समस्या हुन सक्छ।  

अर्कोतर्फ खोप लिए पनि कतिपय व्यक्तिको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी बन्दैन। कुनै पनि खोपले सय प्रतिशत काम गर्ने सुनिश्चितता हुँदैन। नेपालमा हाल प्रयोगमा आएका खोपले ८५ देखि ९० प्रतिशतसम्म मात्र काम गर्ने उत्पादक कम्पनीले नै औंल्याएका छन्। एन्टिबडी बन्ने सुनिश्चितता नभएका १० देखि १५ प्रतिशतभित्र हामी पनि पर्न सक्ने भएकाले खोप लगाएकाले पनि जनस्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले सुझाएका छन्। ‘खोप लगाउनु भनेको कोरोना भाइरसको निर्विकल्प औषधि हैन। खोप लगाएको छ भन्दैमा लापरबाही गर्नु हुँदैन’, डा. पोखरेलले भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै खोप लिएका र नलिएका दुवैले नेपालमा कोरोना पूर्ण रूपमा नियन्त्रण नभएसम्म जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका छन्। ‘खोप लिँदैमा कोरोनाबाट बच्ने पूर्ण सुनिश्चितता हुँदैन। सबैले कोरोनाको लक्षणमध्ये कुनै देखिएमा परीक्षण गरौं र आइसोलेसनमा बसौं’, उनले उल्लेख गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका मध्ये ३० देखि ४० प्रतिशत पहिलो डोज खोप लिएपछि कोभिड संक्रमण भएर आउने गरेका छन्। उनीहरूमध्ये केहीमा जटिल समस्या देखिएको छ। दुवै डोज खोप लिएका मध्येमा दुईचारजना अस्पतालमा भर्ना हुन पुगेका छन्। डा. बास्तोलाका अनुसार खोप लिए पनि कतिपयको शरीरमा एन्टिबडी नबन्ने र अन्य दीर्घरोग हुनेमा खोप लगाएपछि पनि जटिल समस्या हुने गर्छ।  

संक्रमणदर १५ प्रतिशत  

नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणदर १५ प्रतिशतमा झरेको छ। केही दिनअघिसम्म १८ देखि २० प्रतिशत रहेको संक्रमणदर करिब ५ प्रतिशत घटेको हो। सोमबार पिसिआर विधिबाट परीक्षण गरिएका नमनामध्ये १५.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट परीक्षण गरिएका नमुनासमेत समावेश गर्दा संक्रमणदर १४.१ प्रतिशत छ।

गत २४ घण्टामा दुवै विधिबाट गरी १६ हजार २ सय ३३ नमुना परीक्षण भएका थिए। तीमध्ये २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित: १५ भाद्र २०७८ ००:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App