१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कुलपतिसमक्ष निवेदन दिएको भोलिपल्ट रजिष्ट्रारले दिए राजीनामा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। प्रतिष्ठानका ६ जना सिनेटरहरुले ऐनमा भएको व्यवस्था बमोजिम चारैजना पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै कुलपति एवं प्रधानमन्त्रीसमक्ष निवेदन दिएको भोलिपल्ट शुक्रबार रजिष्ट्रार रेग्मीले राजीनामा दिएका हुन्।

उनले सरकारले गठन गर्ने छानबिन समितिलाई सहयोग पुर्याउन राजिनामा दिएको प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्। बिहीबारमात्रै ६ जना सिनेट सदस्यहरुले प्रतिष्ठान ऐन २०४९ को दफा ११ (घ) अनुसार पदबाट हटाउन माग गर्दै निवेदन दिएका थिए।

पदबाट राजीनामा दिएका डा.रेग्मीसँग सम्पर्क प्रयास गर्दा उनको मोबाइल स्वीच अफ थियो। स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले आफुले पनि रजिष्ट्रारले राजीनामा दिएको कुरा सुनेको प्रतिक्रिया दिए। ‘म कन्फर्म छैन, तर मैले पनि बुझेअनुसार त्यही हो,’ उनले भने।

यसअघि प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले पनि आफूभन्दा माथिका ३ जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए। उपकुलपति, रेक्टर र रजिष्ट्रारको कारण प्रतिष्ठान धरासायी हुने वर्तमान अवस्थामा आइपुगेको आरोप लगाउँदै उनले आफू पनि राजीनामा दिन तयार भएको बताएका थिए। तर, उनले राजीनामा दिएका छैनन्।

प्रकाशित: ११ भाद्र २०७८ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App