८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अस्पताल नै कोभिड संक्रमणको स्रोत हुने खतरा बढेपछि...

अस्पतालमा बढेको चाप व्यवस्थापनका विषयमा भएको छलफल । तस्बिर : खगेन्द्र अधिकारी

बिरामीको चाप बढेर व्यवस्थापन गर्न समस्या भएका कारण ताप्लेजुङ अस्पताल नै कोभिड संक्रमणको स्रोत हुने खतरा बढेपछि बिरामी व्यवस्थापनमा अल्पकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने निष्कर्ष निकालिएको छ। अस्पतालमा कोरोना संक्रमण र अन्य रोगका बिरामीको चाप ह्वात्तै बढेपछि व्यवस्थापनका विषयमा छलफल गर्न मंगलबार जिल्ला अस्पताल विकास समितिले आयोजना गरेको सरोकारवालाको छलफल अल्पकालिन र दीर्घकालिन समाधानको बाटो अख्तियार गनुपर्ने निचोडमा पुगेको हो।  

साँघुरो क्षेत्र, शैया तथा आइसोलेसनको अभाव खेपीरहेको ताप्लेजुङ अस्पतालले अस्पताल आसपास तत्कालै १५ शैयासम्मको आइसोलेसन कक्ष बनाउनुपर्ने प्रस्ताव राखेको छ। अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले क्षमताभन्दा दोब्बर हाराहारी संख्यामा कोरोनाका बिरामी र यहि समयमा मौसमी रोगको संक्रमणबाट प्रभावित बिरामीको चापले अस्पताल भरिभराउ भएको जानकारी दिए।  

अस्पतालमा रहेको १० शैयाको कोभिड अस्पतालमा अहिले करिव दोब्बर संख्याका बिरामी भर्ना हुन आएपछि आफूहरुले अस्पतालको अन्य बिरामी कक्ष समेतको प्रयोग गर्दै आएको जानकारी दिए। काेरोना बाहेक अन्य बिरामीको उपचारका लागि प्रयोग हुने कक्ष समेतमा कोरोना संक्रमित बिरामी राखेर उपचार गरिरहनु परेको बताउँदै लामाले भने, ‘भौतिक दूरी कायम गरेपनि कोरोना संक्रमित र अन्य बिरामीलाइ एउटै कक्षमा राखेर उपचार गरिरहनु पर्दा कोरोना संक्रमणको स्रोत नै अस्पताल बन्ने जोखिम पनि रहन्छ।’

यहिँ जोखिम हटाउने उपाय स्वरुप अस्पताल आसपास अस्थायी आइसोलेसन कक्ष बनाउने पहल सुरु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले अस्पताल परिसरमै रहेको औषधि भण्डारण कक्षलाई अस्थायी आइसोलेसन कक्षको रुपमा उपयोग गर्न सकिने गरी प्रारम्भिक सम्भाव्यता अध्ययन भएको जानकारी दिए। १५ शैयाको जिल्ला अस्पतालमा १० शैयाको आइसोलेसन कक्ष प्रयोगमा छ। गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालको आइसोलेसनमा राख्ने र संक्रमित भइ अस्पतालको आइसोलेसनमा ९ देखि १० दिन रहेका कम जोखिम अवस्थाका बिरामीलाई अस्थायी आइसोलेसनमा राखेर व्यवस्थापन गर्ने प्रयोजनका लागि अस्पताल परिसरमै अस्थायी आइसोलेसन कक्ष स्थापनाको पहल थालिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।  

फुङ्लिङ नगरपालिकाले यसअघि निर्माण गरेको आइसोलेन कक्ष(बाल सुधार गृह रहेको पुरानो भवन) चिकित्सकीय पहुँच भन्दा टाढा रहेकोले तत्कालका लागि अस्पताल आसपास नै आइसोलेसन कक्ष निर्माण गर्नुपर्ने निष्कर्ष रहेको अस्पतालका निमित्त मेसु लामाले बताए। अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छोरोको रेखदेखमा खटिएका फुङ्लिङ नगरपालिका वडा नं ७ दोखुका कमलप्रसाद भट्टराईले अस्पातलमा कोरोनाका बिरामी थपिने क्रम नरोकिएको भन्दै १०–१५ शैयाको अस्थायी आइसोलेसन कक्षले बिरामीको चाप थेग्न सक्ने अवस्था नरहेको बताए। ‘निकै मजाले व्यवस्थापन गर्नेगरी सोच राखिएन भने कोरोना संक्रमितको भार अस्पतालले थेग्न सक्दैन’, भट्टराईले भने। पछिल्ला दिनहरूमा ताप्लेजुङको फुङ्लिङ नगर क्षेत्रमा कोरोना संक्रमित मोटो परिमाणले थपिँदै गएका छन्।  

छलफलमा प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ, फुङलिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा), नेपाली काँग्रेसका जिल्ला सभापति लीलादेवी बोखिम, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजयप्रकाश वनेम, जनता समाजवादी पार्टीका दुर्गा न्यौपानेसहित राजनीतिक दलका नेताहरु, सञ्चारकर्मी, उद्योगी व्यवसायीको समेत सहभागिता रहेको थियो।  

‘अत्यावश्यक काम बाहेक अस्पताल नआइदिनू ’

ताप्लेजुङ अस्पतालले अत्यावश्यक काम बाहेक यसो हिँड्डुल गर्न र अस्पतालको वातावरण कस्तो छ भनेर नजर लगाउने कार्यका लागि मात्रै अस्पताल परिसरमा नआइदिन आग्रह गरेको छ। निमित्त मेसु लामाले बिरामीको हेरचाहमा खटिएका बाहेक अत्यावश्यक कुनै काम बेगर अस्पतालमा आउने र जाने भिडभाडले संक्रमणको जोखिम थप बढ्नेतर्फ सचेत भइदिन आग्रह गरेका छन्। कोरोना संक्रमणको उपचार कक्ष आसपास त झनै जानै नहुने उनको तर्क छ।  

जोखिम थप बढ्न नदिन सबैले सावधानीका उपायलाई मनन गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नेतर्फ उनले सबैको ध्यानाकर्षण गरेका छन्।

प्रकाशित: १२ श्रावण २०७८ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App