coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका थप साढे २४ हजारलाई खोप दिईँदै

छिमेकी मुलुक चीनबाट ल्याइएको कोविडविरुद्धको भेरोसिल खोप शनिबार उदयपुर आईपुगेको छ। प्रदेश स्वास्थ्य कार्यालयमार्फत आएको २४ हजार ६ सय डोज खोप आउँदो १२ गतेदेखि लगाउने तयारी स्वास्थ्य कार्यालयले गर्दैछ।

खोप सबैतिर एकैचोटी लगाउने व्यवस्था मिलाउन जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई आईतबारसम्म बितरण गरिसक्ने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए। सुबेदीका अनुसार यस पटकको खोप ५५ वर्षभन्दामाथिका नागरिकलाई दिइने छ भने उनीहरुसँगै सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवा अन्तर्गत खट्ने कर्मचारीलाई पनि पहिलो मात्राको रुपमा यो खोप दिने कार्यक्रम छ।  

यसअघि लगाइएको दुई चरणका खोप ६२ वर्षमाथिका बृद्धबृद्धालाई दिइएको थियो। यसपछि आउने खोप ५० वर्षमाथिकालाई लक्षित गरी दिने कार्यक्रम सरकारले तय गरेको छ। अहिलेसम्म उदयपुरमा २० हजार ५ सयलाई भारतीय कम्पनीको कोविसिल्ड खोप दिइसकिएको छ। तर, सुरुमा खोप लिने १५ हजार ४ सयमध्ये १२ हजारले भने दोस्रो मात्राको खोप पाएका छैनन्।

०७७ माघ १४ देखि चलाइएको पहिलो चरणको खोप अभियानमा १२ हजारले एक डोज मात्र लगाएका छन्। ३ साताभित्र लगाई सक्नुपर्ने दोस्रो मात्राको डोज भारतले रकम अग्रिम भुक्तानी लिए पनि नदिएका कारण ६ महिना बित्न लाग्दासम्म दिन नपाएको स्वास्थ्यका खोप सुपरपाईजर चिरञ्जिवी निरौलाले बताए। फागुन, चैत र वैशाखमा सोही कम्पनीको खोप ३ हजार ४ सय जनाले भने दुवै मात्रा लिइसकेका छन्।  

०७८ जेठ २५ देखि चलाइएको अर्को चरणको भेरोसिल खोप ५ हजार १ सयले लगाएका छन्। यो भने दुवै मात्रा लगाइएको सुपरभाईजर निरौलाले बताए। अहिले आएको खोप पनि भेरोसिल नै हो र यो पनि दुवै मात्रा लगाउन मिल्ने गरी मौज्दात राखिएको उनले बताए। 

आउँदो १५ दिनभित्र अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ हजार डोज खोप पनि उदयपुर आउने तयारीमा छन्।  प्रदेश स्वास्थ्य कार्यालय बिराटनगर आउने बित्तिकै उदयपुरमा पनि आउने भएकाले छिट्टै थप खोप लगाउन पाइने स्वास्थ्यले जनाएको छ। सो खोप ५० वर्षभन्दा माथिका उमेर समूहलाई दिने कार्यक्रम रहेको निरौलाले बताए।

२६ संक्रमित थपिए, ३८ निको

निशेधाज्ञा हट्दै गएपछि संक्रमित बढ्ने क्रम सुरु भएको उदयपुरमा शनिबार १० महिलासहित २६ जना नयाँ संक्रमित देखिएका छन्। स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको बेलका नगरपालिकामा ११, चौदण्डीगढी नगरपालिकामा ९, लिमचुङबुङ गाउँपालिकामा ४ तथा ताप्ली गाउँपालिका र कटारी नगरपालिकामा १–१ जना संक्रमित थपिएका छन्।

पछिल्लो अभिलेख अनुसार उदयपुरमा सक्रीय संक्रमितको संख्या ९० महिलासहित २ सय १० जना पुगेको छ। उनीहरुको कोविड अस्पताल बेलटार, गाईघाट र होमआईसोलेसनमा उपचार भईरहेको छ। गएको २४ घण्टामा १७ महिलासहित ३८ संक्रमित निको भएर घर फर्केको स्वास्थ्यले जनाएको छ। 

प्रकाशित: १० श्रावण २०७८ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App