६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भ्रष्ट र अयोग्य कार्यकर्ता नियुक्त गरेर नेताहरुले सार्वजनिक संस्थान धरासायी बनाए : डा.केसी

डाक्टर गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शुद्धिकरण आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।

बुधबार दिउँसो प्रतिष्ठानमा आन्दोलनकारीहरुलाई सम्बोधन गर्दै डाक्टर केसीले ऐक्यवद्धता जनाएका हुन्। सो क्रममा उनले चारै जना असक्षम पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने पनि बताए।

उनले शिक्षा र स्वास्थ्य विश्वभरी सेवामूलक क्षेत्रको रुपमा रहे पनि नेपालमा राजनीतिकर्मी र कालोबजारीको मिलेमतोमा नाफामूलक व्यापार बनाएको बताए। सार्वजनिक संस्थानका पदाधिकारी र नेताहरुले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गरेको उनको आरोप छ।

सरकारी तथा सार्वजनिक प्रतिष्ठानहरुमा नेताहरुले अयोग्य र भ्रष्ट कार्यकर्ताहरुलाई नियुक्त गरेर उनीहरुमार्फत् दोहन गरी धरासायी बनाइरहेको डाक्टर केसीले बताए।

सार्वजनिक संस्थान डुबाएपछि कालाबजारी, माफियासँग मिलेर खोलेको निजी शिक्षा र स्वास्थ्य संस्थानमा सर्वसाधारण जनताहरु शिक्षा र स्वास्थ्य सेवा लिन जान बाध्य भइरहेको डा.केसीको भनाइ थियो। ‘भागबण्डा गरेर अयोग्य, भ्रष्टलाई पदाधिकारी बनाउने र उनीहरुमार्फत् सार्वजनिक संस्थान दोहोन गर्ने, धरासायी बनाउने,’ डाक्टर केसीले भने, ‘त्यसो गर्दा जनता निजीमा जान बाध्य हुन्छन्, उनीहरुको व्यापार बढ्छ। यस्तो नैतिकता नभएको, गैरजिम्मेवारपन काम नेपालका पोलिटिसियनहरुले गरिरहेका छन्।’

पदाधिकारी चयनको लागि सुझाव दिन गठन भएको समितिले प्रतिवेदन बुझाए पनि ऐन बनाउनुको सट्टा कानुन मन्त्रालयमा पेन्डिङमा राखेको भन्दै डाक्टर केसीले आक्रोश पोखे। ऐन बनाएर कार्यान्वयनमा ल्याउँदा आफ्ना भ्रष्ट कार्यकर्ताहरु भर्ती गर्नबाट रोकिने भएकोले प्रतिवेदनलाई कार्यान्वयन नगरिएको उनको भनाइ छ।

‘अहिलेका पदाधिकारीहरु भ्रष्ट नेताहरुप्रति वफादार छन्, संस्थाप्रति छैनन्। प्रतिवेदन, ऐन बनेर आएपछि योग्य व्यक्ति आउँछन्, र उनीहरु संस्थाप्रति वफादार हुन्छन्,’ डा.केसीले भने, ‘कसैले पनि नसोचे हुन्छ, त्यो पेन्डिङ नै रहन्छ भनेर। हामी लडिरहन्छौं, र त्यो कानुनको रुपमा आउँछ, आउँछ।’

सबै प्रदेशमा कम्तीमा एउटा सरकारी तथा सार्वजनिक मेडिकल कलेज स्थापना गर्नुपर्ने चिकित्सा शिक्षा ऐनमा नै उल्लेख भएपनि मंगलबार हटेको केपी शर्मा ओली नेतृत्वको सरकारले रोकेको डाक्टर केसीको आरोप थियो।

अब जनता धेरै सचेत भइसकेको भन्दै उनले नयाँ सरकार पनि विगतकै पारामा अघि बढेमा यो सरकारको पनि दिनगन्ती सुरु हुने उनले बताए। ‘अब जनताले बोलेको सुन्नुपर्छ, उनीहरुले बोलेको जनताले सुन्ने होइन। अब जनताको आदेश पालना गर्नुपर्छ, हामी रैती होइनौं, हामी सार्वभौम नागरिक हौ,’ डा.केसीले भने।

प्रकाशित: ३० असार २०७८ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App