१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

असार २४ देखि चिनियाँ खोप आउने

नेपालले चीनबाट खरिद प्रक्रिया सम्झौताअनुसार यही असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार मन्त्रालयले पे्रस विज्ञप्ति जारी गरी २४ गतेपछि चरणबद्ध रूपमा खोप आपूर्ति हुने जनाएको छ। एक महिनाअघि राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयको संयुक्त पहलपछि चिनियाँ राष्ट्रपतिले नेपालका लागि ५० लाख खोप उपलब्ध गराउने घोषणा गरेको थिए। यसअघि नै चीनले नेपालको लागि १८ लाख खोप अनुदानस्वरूप दिइसकेको छ।

अब आपूर्ति हुने खोप भने नेपाल र चीनको सिनोफार्म कम्पनीबीच खरिद सम्झौतापछि आपूर्ति हुन लागेको हो। यसअघि नै नेपाललाई उपलब्ध गराएको सिनोफार्मकै ‘भेरोसेल’ खोप आपूर्ति हुन लागेको हो। खोपको मूल्य भने प्रतिडोज १० देखि १४ रूपैयाँ अमेरिकी डलर पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले अधिकारीले जानकारी दिएका छन्। पहिलो चरणमा करिब २० देखि ३० लाख खोप उपलब्ध हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।  

खोप आपूर्ति भएलगत्तै कोभिड–१९ विरुद्धको खोप अभियानले निरन्तरता पाउने परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। चीनको साथै गाभी–कोभ्याक्स फ्यासिलिटीअन्तर्गत खोप उपब्ध गराइने खोप पनि छिटो प्राप्त गरी खोप अभियान विस्तार हुने मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कुल जनसंख्या मध्येमा २५ लाख ७४ हजार ७ सय १५ जनाले कोभिड १९ विरुद्धको पहिलो डोज लिएका छन् भने ७ लाख ५७ हजार ३ सय ८० जनाले दोस्रो डोज खोप लिइसकेका छन्।

हालसम्म ४२ लाख ४८ हजार मात्रा खोप छिमेकी राष्ट्रहरूबाट नेपालले प्राप्त गरिसकेको छ। मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप सबै नेपालीको पहुँचमा पुर्‍याउन खोप उत्पादक देश तथा उत्पादक कम्पनीहरूसँग निरन्तर पहल गरिरहेको जनाएको छ।

प्रकाशित: १९ असार २०७८ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App