४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणको जोखिम घटेको छैन: स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम नघटेकोले सवै जनतालाई सजक हुन आग्रह गरेको छ। नियमित जीवन संचालको लागि निषेधाज्ञा खुकुलो पारेपनि हामी अहिले पनि जोखिममै रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए। ‘ जोखिम घटेको छैन, हरेक व्यक्ति सजक हुँदै काम गर्नु होला’ प्रवक्ता पौडेलले भने। एक साता अघि औसत १८ देखि २० प्रतिशतमा रहेको संक्रमण बुधवार बढेर २६.३ प्रतिशत पुगेको हो।  

अहिले पनि देशका १७ वटा जिल्लाहरुमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको र काठमाडौ. उपत्यकामा चौविस घण्टामा ५ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । केही कर्णाली प्रदेशमा संक्रमणदर ३६.७ प्रतिशत, प्रदेश १ मा ३४ प्रतिशत र गण्डकीमा २९ .९ प्रतिशत कायमै रहेको छ । केही प्रदेशहरुमा संक्रमण बढ्ने क्रममै रहेकोले कोरोना संक्रमणको जोखिम कायमै रहेको डा. पौडेलले बताए।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, झापा, सुनसरी, चितवन, ललितपुर, भक्तपुर, मोरङ्ग, सुनसरी, काभे्र  लगायतका जिल्लाहरुमा संक्रिय संक्रमित संख्या धेरै छ । अन्य जिल्लाहरुमा भने कम संख्यामा पाइएको छ । निषेधाज्ञासंगै आवात–जावत बढ्ने क्रममा संक्रमण पुन बृद्धि हुन सक्ने भएकोले हरेक व्यक्तिले आफ्नो हेरचाह आफै गर्न मन्त्रालयले अनुरोध गरेको छ।  

संक्रमणका जोखिम स्थलहरु कार्यालय,पसल, सार्वजनिक यातायात, खाजा पसल लगायतका स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नर्सिङ महाशाखाकी प्रमुख रोशनी टुइँटुइँले सुझाएकी छिन् । उनको अनुसार सार्वजनिक यातायातमा चढ्दा अनिवार्य दुई मिटरको दुरी कायम राख्ने, एक सिट खालि राखेर मात्र बसमा चढ्ने,यात्रु र चालक दुवैले अनिवार्य मास्कको प्रयोग गर्न, अनिवार्य रुपमा सेनिटाइजरको प्रयोग गर्न, बसमा खोक्दा कुइनाले मुख छोप्ने, थुक आएमा कुनै कागजमा राखेर सुरक्षित ठाउँमा पु¥याएर मात्र फाल्ने बसको ढोका, डण्डी र चुक्कुल प्रयोग भएपछि बस संचालक पक्षले सफा गर्ने र यात्रुले सेनिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउनु पर्नेछ।  

त्यसैगरी खाजा पसलमा दुई मीटरको अनिवार्य दुरी कायम राख्ने, खाँदा नबोल्ने, सकेसम्म छिटो खाएर निस्कने जस्ता सावधानी अनपाउन उनको सुझाव छ। त्यसैगरी यो खेती–पातीको मौसम भएकोले खेतवारीमा काम गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्ने र कामदार वीचमा भौतिक दूरी कायम राख्न उनको सुझाव छ। कामदार मध्येमा कसैमा कुनै पनि लक्षण देखिएमा तुरुन्त कोभिड परिक्षण गर्न पनि सुझाएकी छिन्। ‘कोरोना संक्रमण जो सुकैसंग हुन सक्छ, सानो गल्तीले जोखिम हुन सक्छ सवैले नियम पालना गरौ’  उनले भनिन्।  

संक्रमणदर २५ प्रतिशत  

गत चौविस घण्टाभित्रमा नेपालमा कोरोना संक्रमणदर २५ प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा ३ प्रतिशतले बृद्धि भएको हो । दुई सातादेखि यता १८ देखि २१ प्रतिशत औसत संक्रमण रहेकोमा बुधवारसम्मा आइपुग्दा ५ प्रतिशत संक्रमण बढेको तथ्यांकले औल्याएको छ। चौविस घण्टाभित्रमा परिक्षण भएका ११ हजार ५ सय ६८ वटा नमूना मध्येमा २८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । थप संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ७३ हजार ७ सय ४९ जना .पुगेको छ । ती मध्येमा दोस्रो लहरको अवधिमा मात्र ४ लाख १६ हजार ७ सय ४९ जना  संक्रमित भइसकेका छन्।  

गत चौविस घण्टमा थप ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृतक मध्येका केही नेपाली सेनाले संकलन गरेका तथ्याकं रहेको मन्त्रालयको दावी छ। थप मृतक सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ जना पुगेका छन्। ती मध्येमा दोस्रो लहरको अवधिमा मात्र ५ हजार ८ सय २३ जनाको मृत्यु भएको हो। नेपालमा कोरोना संक्रमण हुनेमा ६०.७ प्रतिशत पुरुष  छन् भने बाँकी महिला रहेका छन्। संक्रमित हुने उमेर समुहमा सवै भन्दा बढी २० देखि ६० बर्षभित्रका बढी छन्। हाल नेपालमा ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित छन् भने ३० हजार ५ सय ४४ जना होम आइशोलेशनमा छन्। ती मध्येमा ३ हजार १७ जनाको संस्थात आइशोलेशनमा उपचार भइरहेको छ।

प्रकाशित: १७ असार २०७८ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App