५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

असारभित्रै चीनबाट थप खोप आउने

चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।

बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डा. रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो।

लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र १ सय देशलाई सहुलियत दरमा बिक्री गरिरहेकाले नेपाललाई पनि सहुलियत दरमा खोप बिक्री गर्ने सम्भावना रहेको मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताए। ‘नेपाल चीनको मित्र राष्ट्र भएकाले पनि उसले खोप सहुलियत दरमा बिक्री गर्ने सम्भावना देखिन्छ’, डा. पोखरेलले भने। 

खोप बिक्रीवितरण पनि गोप्य प्रक्रियामा हुने स्थिति रहेको उनले बताए। ‘पहिला जस्तो खुलेर बिक्रीवितरण हुने स्थिति देखिँदैन’, उनले भने।कोभ्याक्सअन्तर्गत अमेरिकाले दिने खोप भने सन् २०२१ को अन्तिमसम्म आइपुग्ने स्थिति रहेको मन्त्रालयले जनाएको छ। कोभ्याक्सले विश्वभरि वितरण गर्ने क्रममा नेपालका लागि ६ लाख डोजजति दिन सक्ने स्थिति छ। कोभ्याक्सअन्तर्गत उपलब्ध हुने खोप अस्स्ट्राजेनेकाको नभएर जोनसोन एन्ड जोनसोन र मोर्डनाको हुन सक्ने डा. पोखरेलले बताए।

कोरोनाबाट ज्यान गुमाउने ९ हजार ९

नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ९ हजार ९ जनाको मृत्यु भएको छ। जसमध्ये करिब ६ हजार जनाको कोरोना संक्रमणको दोेस्रो लहर मा मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोरोनाको दोस्रो लहरका क्रममा गत चैत २० यता ५ हजार ९ सय ६७ जनाको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ६० वर्ष उमेरमाथिका छन्।

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर १९.५ प्रतिशत रह्यो। पिसिआर परीक्षण गरिएका ९ हजार ८ सय ३६ जनामध्ये १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो। थपसहित नेपालमा संक्रमित संख्या ६ लाख ६५ हजार ७ सय ७७ जना संक्रमित पुगेको छ। अहिले मुलुकमा ४० हजार ३ सय ३६ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३७ हजार ४ सय ८९ जना होम आइसोलेसन र २ हजार ८ सय ४७ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।

प्रकाशित: १४ असार २०७८ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App