४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोभिड–१९ को दीर्घ असरले रोगबारे के खुलासा गर्दै छ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।

सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन्। उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन्।

‘महामारीको सुरुमा यो रोगले दीर्घकालसम्म प्रभाव पार्छ भन्ने थाहा थिएन। हामीले यो रुघा जस्तो केही समयमै निको हुने ठानेका थियौं,’ उनी भन्छिन्। तर उनलाई के थाहा थिएन भने उक्त क्लिनिकमा आएका एक तिहाई बिरामी अझै पनि अस्वस्थ रहनेछन् र काममा फर्कन सक्ने स्थितिमा हुनेछैनन्। क्लिनिकमा आएका आधाभन्दा बढी बिरामी त अस्पतालमा भर्नासमेत भएका थिएनन्।

जतिबेला उक्त क्लिनिक खुल्यो, धेरै स्थानीय अस्पतालका चिकित्सकले हाइटमेनलाई फोन गर्न थाले। उनीहरू धेरै युवा तथा रोगका लक्षण नभएका बिरामीमा रोगका सघन लक्षण देखिएकोमा आचश्चर्यमा परेका थिए। ती चिकित्सकको सबैको समान धारणा के थियो भने सुरुमा सामान्य लक्षण देखिएर त्यसपछि धेरै लक्षण एकसाथ देखिएका बिरामी अत्यधिक थिए। यी बिरामीमा रोगका लक्षण केही साता र महिनासम्म रहेको थियो। यो चिकित्साको हिसाबले अनौठो घटना थियो। ‘यी बिरामीलाई अधिकतर अस्पतालले हेरेका थिएनन् किनभने रोगबाट निको भइसकेका बिरामीलाई हेर्ने पोस्ट कोभिड–१९ क्लिनिक उनीहरूसँगै थिए,’ हाइटमेन भन्छिन्।

यस्ता अधिकतर बिरामीमा सबैभन्दा बढी देखिएको लक्षण थकान थियो, जसकारण उनीहरूले आफ्ना दैनिक कामसमेत गर्न सकेका थिएनन्। अध्ययनहरूले दीर्घ कोभिडका ६२ प्रतिशत बिरामीमा थकानको लक्षण हुने देखाएका छन्। यस्ता केसलाई हाल लङ कोभिड अथवा पोस्ट एक्युट कोभिड–१९ सिन्ड्रोम भनिन्छ। यस्तो होला भनेर सुरुमा कसैले कल्पनासमेत गरेका थिएनन्। हरेक १० कोभिड–१९ बिरामीमध्ये १ जनामा १२ सातासम्म यस्ता लक्षण हुने वैज्ञानिक समुदायको राय छ।

तर यो जटिल विषयलाई बुझ्न अस्पतालमा भर्ना भएका र नभएका बिरामीका समूहका छुट्टाछुट्टै अध्ययन आवश्यक देखिन्छ। पहिलो समूहको व्यवस्थापन त्यति चुनौतीपूर्ण देखिएन किनभने यस्ता बिरामी मुटु तथा फोक्सो भाइरस संक्रमणका कारण प्रभावित थिए। सिटी स्क्यान अथवा एमआरआई स्कानले यो क्षतिलाई आँकलन गर्न सजिलो हुन्छ र कोल्चिसिन जस्ता औषधि दिएर आन्तरिक अंगमा हुने जलन घटाउन सकिन्छ। हाइटमेनका अनुसार उक्त क्लिनिकमा भर्ना भएका दुई तिहाई बिरामी राम्रोसँग निको भएका छन् भने बाँकी बिरामीको ६ महिनापछि स्क्यान गरेर हेर्दा ती अंगमा राम्रो सुधार देखिएको छ।

तर अस्पताल भर्ना नभएका तर दीर्घकालसम्म रोगका लक्षण देखिएका बिरामीमा उपचारमा जटिलता देखिएको छ। उनका अनुसार ३५ देखि ४९ वर्ष भित्रका बिरामीमा रहस्यमय तवरले विभिन्न लक्षण देखिए। केही सर्भेक्षणले बिरामीमा ९८ वटासम्म लक्षण रहेको देखाए। सबैमा साझा देखिएका लक्षणमा अत्यधिक थकान, ब्रेन फग, मांसपेशी तथा जोर्नीमा दुखाइ, अनिद्रा, माइग्रेन, छाती दुख्ने, छालामा बिमिरा आउने, गन्ध तथा स्वादमा परिवर्तन तथा कुनै काम गर्दा मुटुको चाल अचानक बढ्न जाने र असहज हुने रहेका छन्। हाइटमेनका अनुसार यसअघि अस्पतालमा भर्ना नभएका तर युसिएलएचमा भर्ना भएका ५० प्रतिशत बिरामीको अवस्था १ वर्षको उपचारपछि सुधार आएको छ। यी बिरामीले रोगका लक्षणको व्यवस्थापन आफैंले गर्न सक्ने भएका छन्। तर बाँकी ५० प्रतिशत बिरामीको अवस्थामा अझै पनि सुधार भएको छैन।

दीर्घ कोभिडबाट प्रभावित बिरामीको बारे युसिएलएचजस्ता निर्दिष्ट क्लिनिक विश्वमा अत्यन्त कम संख्यामा छन्। यसबाहेक प्यासियन्ट–लेड रिसर्च कोलाबोरेटिभ (पिएलआरसी) जस्ता भर्चुअल कोभिड समुदायले गरेको प्रयास पनि महत्वपूर्ण छ। हाइटमेनका आधा जस्तो बिरामी भाग्यमानी ठहरिए पनि अरु त्यति भाग्यमानी देखिएनन्। पिएलआरसीले गरेको हालैको एक अध्ययनको नतिजा पनि त्यति उत्साहजनक छैन। अध्ययनअनुसार कुल ३७ सय ६२ बिरामीमध्ये ७७ प्रतिशत बिरामीमा ६ महिना पछिसम्म पनि थकान हुने समस्या देखिएको छ भने ७२ प्रतिशतमा सामान्य शारीरिक तथा मानसिक कार्य गर्दा पनि १२ घण्टादेखि ४८ घण्टासम्म लक्षण बल्झने समस्या देखिएको छ। यसैगरी ५५ प्रतिशत बिरामीमा संज्ञानात्मक सिथिलता देखिएको थियो भने ३६ प्रतिशत महिला बिरामीमा महिनावारीमा समस्या देखिएको थियो।

‘मेरो आफ्नो महिनावारीको चक्र ३ महिनासम्म हरायो,’ पिएलआरसीको अध्ययनमा सहभागी शोधकर्ता तथा दीर्घ कोभिड बिरामी हन्न वाईले भनिन्। उक्त सर्भेले अस्पतालमा भर्ना नभएका बिरामीमा तीन चरणमा लक्षण आउने जाने लहर देखिने देखाएको छ। सुरुको लहरमा सुक्खा खोकी र ज्वरो, त्यसपछि सामान्य काम गर्दा पनि मुटुको गति बढ्ने देखिएको थियो। यो लक्षण २ महिनामा उच्चतम बिन्दुमा पुग्ने र त्यसपछि हराउने गरेको थियो। यसैगरी तेस्रो लहरमा संक्रमण भएको एक महिनापछि छालामा बिमिरा, मांसपेशी दुख्ने समस्या, नयाँ खाले एलर्जी तथा ब्रेन फगजस्ता लक्षण देखिने गरेको पाइयो।

‘यो अत्यन्त चिन्ताको विषय हो किनभने लक्षण देखिने यी लहरअन्तर्गत ४ महिनामा लक्षणहरू उच्चतम बिन्दुमा पुग्ने र यी लक्षण जारी रहने देखिएको छ,’ अनुसन्धानकर्ता वाई भन्छिन्। एक वर्षअघि संक्रमित भएका बिरामी पनि अझै किन निको हुन सकेका छैनन् भन्ने प्रश्नमा चिकित्सक यस्ता लक्षणका लागि विभिन्न कारण हुनसक्ने तर्क गर्छन्। महामारीका पछिल्ला अध्ययनले यसका लागि विभिन्न क्लिनिकल जानकारी (क्ल्यु) दिएका छन्। कोभिड–१९ मा देखिएको लङ कोभिड जस्तै अरू महामारीले पनि बिरामीको केही प्रतिशत बिरामीमा यस्ता समस्या देखिएका छन्। यसलाई महामारीको दीर्घ असर अर्थात् (लङ टेल अफ इपिडेमिक्स) भनिन्छ। सन् २००० को सुरुमा देखिएको सार्स कोरोना भाइरस, दक्षिण अफ्रिकामा देखिएको इबोला संकटको अध्ययनका आधारमा लङ कोभिडलाई हेर्नुपर्ने वैज्ञानिक तर्क छ।

दीर्घ असर

सन् २००४ मा टोरोन्टो विश्व विद्यालयका न्युरोसाइन्टिस्ट हार्भे मोल्डोफस्कीलाई उनका एक पुराना मित्रले फोन गरे। त्यसको एक वर्षअघि एसियादेखि क्यानडासम्म सार्स पैmलिएको थियो। क्यानडामा कुल २ सय ५१ जना संक्रमित देखिएकामा अधिकतर टोरोन्टो वरपर काम गर्ने स्वास्थ्यकर्मी थिए। यी बिरामीमध्ये ५० जना १२ महिनापछिसम्म निको हुन सकेका थिएनन्। यसको रहस्य पत्ता लगाउन टोरोन्टो जनरल अस्पतालका कन्सल्ट्यान्ट जोन पट्काईले अध्ययन गरेका थिए।

‘फोक्सोमा लामो समयसम्म पोल्ने (इन्फ्लेसन) अथवा सार्स भाइरस नदेखिए पनि ती बिरामीमा रोगका लक्षण देखिरहनु अनौठो थियो,’ न्युरोसाइन्टिस्ट हार्भे मोल्डोफस्की भन्छन्, ‘यी बिरामी कमजोर थिए, यिनले अत्यन्त थकान महसुस गरेका थिए र शरीर दुख्ने समस्याका कारण आफ्नो दैनिकी गर्न असमर्थ थिए।’

हामीले यसलाई पोस्ट–सार्स सिन्ड्रोम नामकरण गर्‍यौं। थकानबारे मैले अध्ययन गरेका कारण जोन पट्काईले मलाई यो विषयमा सोधेका थिए,’ मोल्डोफस्की थप्छन्। मोल्डोफस्कीले यस्ता बिरामीमा निद्रामा पनि समस्या रहेको पाए। अरु लक्षणसहित उनले दिमागमा अत्यधिक सुजन भएको हुन सक्ने आँकलन गरे। तर यो विषयको अध्ययन आर्थिक सहयोगको अभावमा अगाडि बढ्न सकेन। तर यसैबिच यो विषयमा नयाँ प्रगति देखियो। चीनका वैज्ञानिकले बिरामीको दिमागको कोषमा सार्स भाइरस रहेको अध्ययन सार्वजनिक गरे। मोल्डोफस्कीका लागि यो अध्ययन अत्यन्त महत्वपूर्ण थियो।

‘नाक र दिमागको सिधा सम्बन्ध रहेको हामीलाई थाहा छ, यसलाई अल्फाक्टोरी नर्भ भनिन्छ। यही कारणले भाइरस दिमागसम्म पुगेको हुन सक्छ,’ उनी भन्छन्। उनका अनुसार दिमागमा भाइरसको उपस्थितिले निद्राको गुणस्तरमा प्रभावित भएको हुन सक्छ। सुजनसम्बन्धी अध्ययन गर्ने पोलिवायो रिसर्च इन्सिच्युटका अमी प्रोयल प्रतिरक्षा प्रणालीले समेट्न नसक्ने स्थानमा पुगेको भाइरसको सानो मात्रा संक्रमणपछि देखिने यस्ता लक्षणका लागि जिम्मेवार हुने तर्क गर्छन्।

‘महामारीपछि लामो समयसम्म रोगका लक्षण देखिनु नौलो कुरा होइन। केही भाइरस दिमागका स्नायुमा लुक्नसक्ने देखिएको छ। कोभिड–१९ को केसमा पनि यही भएको हुनसक्छ,’ प्रोयल भन्छन्। कतिपय चिकित्सक संक्रमण निको भइसकेपछि देखिने सिन्ड्रोमका लागि मनोवैज्ञानिक कारण रहेको तर्क गरे पनि प्रोयल विषाणुका प्रभाव शरीरको कुनै भागमा लामो समयसम्म रहन सक्ने मान्छन्। इबोला, जिका भाइरस र हाल आएर कोभिड–१९ भाइरसको नतिजाले यो तर्कलाई बल मिलेको छ।

त्यसो त भाइरस मानिसको शरीरमा महिनौंसम्म अथवा वर्षाैंसम्म रहनसक्ने क्षमता राख्छ भनेर इबोलाले प्रमाणित गरिसकेको छ। सन् २०१३ देखि इबोलाका दीर्घकालीन प्रभावबारे अध्ययन गरेका लिभरपुल विश्वविद्यालयका माइक्रोवायोलोजिस्ट जर्जियस पालाकिसका अनुसार लङ इबोलामा शरीर दुख्ने, थकान, टाउको दुख्ने तथा चक्कर आउनेजस्ता अन्य न्युरोलोजिकल लक्षण देखिए। पालाकिसलगायत अन्य वैज्ञानिकले गरेको अध्यनले बिरामीका आँखा, लिम्फ नोड्स, आमाको दूध तथा वीर्यमा समेत भाइरसका आनुवांशिक पदार्थको उपस्थिति रहेको देखिएको छ। यो वर्षको सुरुमा प्रिपिन्ट जर्नलमा प्रकाशित अध्ययनले सन् २०१४ र २०१६ बिचमा इबोला भएका गुयानाका एक बिरामीका कारण पुनः उक्त रोग देखिएको छ। ती पुरुषले उनको अण्डकोषमा ५ वर्षसम्म निष्क्रिय भएर बसेको भाइरसलाई आफ्नो यौन साथीलाई सारेका थिए।

लिभरपूल विश्वविद्यालयका पालाकिसका अनुसार शरीरले पूर्ण रुपमा भाइरसलाई सफाया गर्न नसक्दा दीर्घ इबोला र दीर्घ कोभिडका लक्षण देखिन्छन्। यसैगरी शरीरको प्रतिरक्षा प्रणाली नपुग्ने रिर्जभ्वायरमा लुकेका भाइरसले सुजन गराउने गर्छन्। यी भाइरस बेलाबेलामा रक्त प्रवाहमा फर्कन्छन्, प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्छन् र रोगका विभिन्न लक्षण देखिन्छन्।

कोभिड–१९ ले दिमाग तथा अण्डकोषलाई प्रभावित पार्न सक्ने देखिएको तर्क पालाकिसको छ। ‘कोभिड–१९ का केसमा भाइरसलाई मानिसको वीर्यमा धेरै समयसम्म मापन गर्न सकिने देखिएको छ,’ उनी भन्छन्। तर, भाइरसका यी दुष्ट मात्रालाई मात्र लङ कोभिडका लागि एक मात्र कारक मान्न सकिन्न। यसअघि नदेखिएका एलर्जी अकस्मात् बिरामीमा देखिनु, मांसपेशी तथा जोर्नीमा हुने दुखाइले शरीरले गल्तीले अटोइम्युन प्रतिक्रिया सशक्त पारेको हुन सक्ने तर्क पनि छ।

केही बिरामीमा कोभिडका कारण शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै तन्तुलाई आक्रमण गरेको हुन सक्छ,’ हाइटमेन भन्छिन्। यस प्रकारका अटोइम्युन प्रतिक्रिया महिलाले बढी देखाउँछन्। युसिएलएच क्लिनिकमा भर्ना भएका ६६ प्रतिशत लङ कोभिडका बिरामी महिला रहनुले यो तथ्यलाई प्रमाणित गरेको देखिन्छ। यसैगरी अन्य अनुसन्धानकर्ताले कोभिड भाइरसले प्रतिरक्षा प्रणालीअन्तर्गतको इन्टरफेरोन संकेतलाई निस्तेज पार्छ। भाइरस नियन्त्रण गर्न इन्टरफेरोनको भूमिका अहम् हुन्छ।

यसरी दीर्घ कोभिडका जटिलताले बिरामीको उपचारमा चुनौती थपेका छन्। बेलायतको बर्मिघम विश्वविद्यालयले २२ लाख पाउन्ड खर्च गरेर यो विषयमा अध्ययन थालेको छ। ‘कहिलेकाहीँ हामी असहाय महसुस गर्छौं, हामीसँग धेरै समय छैन, तत्काल उत्तर चाहिएको छ,’ हाइटमेन थप्छिन्। उनी बिरामी झन् बढी बैचैन रहेको बताउँछिन्।

लङ कोभिडको वैकल्पिक उपचारमा ग्रिनटी, प्याज तथा जामुनमा पाइने क्वेयरसेटिन नामक पिगमेन्ट तथा नियासिन नाम गरेको भिटामिन बी रहेका छन्। यस्ता उपचारमा प्रामाणिकता धेरै नभए पनि विकल्प नहुँदा बिरामीले यी उपचार विधिको अवलम्बन गरेको हाइटम्यान ठान्छिन्।

उपचारको बाटो

अन्य संक्रामक रोग जस्तै लङ कोभिडका बिरामीमा थकान, शरीर दुख्ने तथा बे्रन फग सबैभन्दा चिन्ताजनक लक्षण हुन्। ‘जब म लङ कोभिडबाट प्रभावित थिएँ, कतिपय दिनमा मैले के गरिरहेको छु भन्नेसमेत ज्ञात हुने थिएन। सेप्टेम्बरमा मैले यसअघिको ग्रीष्ममा के के गरे भन्नेसमेत सम्झना हराएको थियो। यो अत्यन्त डरलाग्दो अवस्था थियो,’ पिएलआरसीको अध्ययनमा सहभागी सोधकर्ता तथा लङ कोभिड बिरामी हन्न वाई सम्झिन्छिन्।

यसरी सम्झना शक्तिमा हुने ह्रासका लागि दिमागमा तन्तुमा भाइरसले पारेको प्रभावका कारण भएको आँकलन गरिएको छ। मानिसका शरीरमा हुने माइक्रोवायोममा हुने असन्तुलनका कारण कोभिड बिरामीमा दीर्घकालसम्म सुजन हुने तर्क वैज्ञानिकको छ। प्रिवायोटिक्स तथा एन्टिइन्फ्लामेटरी औषधि लङ कोभिडका बिरामीका लागि उपयोगी देखिए पनि थप अध्ययन आवश्यक छ। केही बिरामीमा देखिएका लक्षणको उपचार अन्यको भन्दा सजिलो देखिएको छ।

एलर्जी जस्ता प्रतिक्रिया देखिने बिरामीका लगिा एन्टी हिस्थामाइन उपयोगी हुने हाइटमेन तर्क गर्छिन् भने माउन्ट सिनाइका मुटुरोग विशेषज्ञ एमी कोन्टोरोभिच अटोनोमिक कन्डिसनिङ थेरापी (एसिटी) ले पनि थकानको उपचार गर्न सहयोग गर्ने तर्क गर्छन्। यो थेरापी न्युयोर्कमा ५३ थेरापी केन्द्रमा गरिँदै आएको छ।

हाइटमेनका अनुसार लङ कोभिड–१९ का कतिपय बिरामी समयसँगै आफैं ठिक निको भएका छन्। कोभिड–१९ महामारी सुरु भएको डेढ वर्ष भएकाले यस्ता लक्षण कहिलेसम्म रहलान् भनेर तत्काल भन्न सकिने स्थिति छैन। ‘दीर्घ कोभिडमा बिरामी धेरै डराउन आवश्यक छैन किनभने धेरै बिरामी पहिलो वर्षमै निको भएका छन्,’ हाइटमेन भन्छिन्। निको हुन अझै नसकेका बिरामीका लागि हाल जारी अध्ययनका नतिजा सहयोगी हुन सक्छन्।

‘हामीले उत्तर पाएनौं भने लाखौं मानिसले आफ्नो नियमित काम गर्न नसक्ने हुन्छन्। यस्ता अत्यधिक बिरामी स्वास्थ्यकर्मी पनि छन्। यसले ठुला नकारात्मक प्रभाव पार्नेछ,’ क्यालिफोर्नियास्थित माउन्टेन भ्यु अस्पतालका चिकित्सक डेभिड काउफम्यान भन्छन्।(बिबिसी)

प्रकाशित: १२ असार २०७८ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App