२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तयार भयो कोभिड विशेष अस्पताल

जनकपुरधाममा कोभिड १९ विशेष अस्पताल तयार भइ संचालनमा आएको छ। प्रदेश २ सरकारले एक सय बेडको विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। जनकपुरधाममा मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड १९ विशेष अस्पताल संचालनमा ल्याएको हो।  

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन्। विगत १ वर्षअघिदेखि नै उक्त भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरूका कारण बिहीबारबाट मात्र सञ्चालनमा ल्याउन सकिएको हो। 

अस्पतालको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड १९ संक्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरू पनि छिट्टै सुरु गर्ने बताए। शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएका मणिपालले दसकाैं बितिसक्दासमेत अस्पताल सञ्चालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल सुरु भइसकेको उनले बताए।  

उनले भने,’ यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवासमेत चाँडै सुरुवात हुन्छ। जग्गा प्राप्तिको प्रक्रिया चाँडै सुरु गर्छौं, राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न पाँउदैन।’ कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना बन्ने दाबी गरे। स्थापनाको छोटो समयमै ४ विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिक सत्रदेखि बिपिएच, बिएन, बिएमएलटीलगायतको अध्यापन सुरु गर्ने भएको छ।  

प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरू, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सकसहितको उपस्थिति रहेको थियो।

प्रकाशित: ४ असार २०७८ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App