एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्कीएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसीयाली छाएको छ। कोरोना संक्रमण फैलँदा गाउँमा निराशा छाएको थियो। गाउँभरी त्रास थियो। गाउँ नै सील गरिएको थियो। कुनै पनि बाहिरको मान्छे गाउँमा प्रवेश पाउँदैनथ्ये। गाउँभित्रको व्यक्ति बाहिर निस्कन पाउँदैनथ्यो। संक्रमित सबै गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बसेका थिए। गाउँमा एक साताका लागि सील गरिएको थियो।
गाउँभरी कोरोनाको त्रास थियो। गाउँले कोरोनाले कसैको ज्यानमा तलमाथी नहोस भनेर प्रार्थना गरिरहेका थिए। एकै पटक २१ जनामा कोरोना संक्रमण भएपछि गाउँमा सन्नाटा छाएको थियो। तर संक्रमित निको भएर लर्को लागेर घर फर्किदा निकै खुसि थिए।
तातोनापानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाइँ एकै पटक २३ जना निको भएर घर फर्किदा निकै खुसि भएको बताउँछन्। उनले भने,‘धमाधम गाउँमा संक्रमित भेटिन थालेपछि निकै चिन्तित थियौँ। अब निको भएर घर फर्कने लहर सुरु भएकोले उत्साहित छौँ।’ कोभिड अस्पतालमा रहेको आइसोलेसनबाट एकै दिन तातोपानी ६ का २१ जना र तातोपानी ७ का २ जना संक्रमित कोरोना जितेर घर फर्किएको उनले बताए।
कोरोना जितेर घर फर्किने संक्रमितको गाउँपालिकाले भव्य रुपमा विदाइ गरेको थियो। संक्रमण देखिदा आइसोलेसनमा आउन मानिरहेका थिएनन। तर निको भएर घर फर्कदा गाउँपालिकाले गरेको व्यवस्थापनको प्रसंसा भइरहेको थियो। आइसोलेसनमा बस्दा आफ्ना पनि सुरक्षा हुने र आफन्तको पनि सुरक्षा हुने भन्दै आइसोलेसन बनाउने काम निकै प्रभावकारी भएको अनुभुति संक्रमितले सुनाइरहेका थिए।
तातोपानी गाउँपालिकाले ४७ जना संक्रमितलाइ आइसोलेसनमा राखेको थियो। गास र बासको व्यवस्था गर्नुका साथै निरन्तर स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानीमा राखेको थियो। स्वास्थ्य संयोजक चौलागाइले भने,‘कोरोना संक्रमण एकाएक फैलँदा गाउँमा त्रास थियो। अहिले निको भएर घर फर्कदा आत्मबल मिलेको छ। आत्म विश्वास र सावधानीले कोरोना सहजै जितिन्छ भन्ने सन्देश गाउँबस्तीमा फैलिइएको छ। ’
आइसोलेसनमा हरेक दिन जनप्रतिनिधि,कर्मचारी, स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गर्ने,भरोसा दिने र व्यवस्थापनमा देखिएको अभाव परिपुर्ति गर्ने गरिएको थियो । ठुलो संख्यामा संक्रमित आइसोलेसनमा राखेर औषधि उपचार, निगरानी राख्ने तातोपानी पहिलो गाउँपालिका हो। जिल्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा आइसोलेसन सेन्टर बनेपनि प्रयोगमा आउन सकेनन्।
तर तातोपानी गाउँपालिकामा संक्रमितको घरघरमा पुगेर आइसोलेसनमा बस्नको लागि प्रेरित गरिएको थियो। उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभुति भएको बताउँछिन्। उनले भनिन्,‘ कोरोनाले जनजीवन अस्तव्यस्त छ । आइसोलेसनमा आउन नमान्दा निकै चुनौति रह्यो। तर आइसोलेसनबाट निको भएर घर फर्कदा सबै दुख बिर्सीए। मनमा खुसिनै छायो। ’
निको भएर घर फर्कने संक्रमितलाई गाउँपालिकाले होमआइसोलेसनमा बसेर उच्च सावधानी अपनाउन सुझाव दिएको थियो। घरमा गएर मास्क लगाउने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने,सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने र शंकास्पद लक्षण देखिने वित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आइहाल्न आग्रह गरेको तातोपानी गाउँपालिकाले जनाएको छ।
गाउँमा कोरोना लक्षणका बिरामी देखिन वित्तिकै स्वास्थ्यकर्मी लिएर वडाध्यक्ष विशाल खड्का गाउँमा पुगेका थिए। उनले गाउँपालिका स्वास्थ्य शाखा समन्वय गरेर पिसिआर परिक्षणका लागि पहल गरे। खड्काले भने,‘गाउँमा कोरोना फैलँदा स्वभाविक रुपमा त्रास त थियो नै तर कोरोना परिक्षण गरेर संक्रमितको स्वास्थ्य सुरक्षाका लागि निकै चासो थियो । समयमै पहल गर्दा कोरोनाबाट क्षति बेहोर्नु परेन। वडापालिका यसैमा सन्तुष्टि छ। ’
तातोपानी गाउँपालिकाले गाउँपालिकाभित्रका ८ वडाका हरेक बस्तीमा कोभिड सम्पर्क व्यक्ति राखेको छ। दैनिक दिन सबै वडाका सबै गाउँको अवस्था बारेमा जानकारी लिने गरिएको छ। अहिले गाउँपालिकाका ठुलो संख्यामा संक्रमित आइसोलेसनमा छन्। गाउँपालिकाले ट्रेसिङ र टेस्टिङलाई संगसंगै अघि बढाएको जनाएको छ।
प्रकाशित: ३१ जेष्ठ २०७८ ०९:०१ सोमबार