६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई उपलब्ध गराएका स्वास्थ्य सामग्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर: केशवराज थोकर/नागरिक

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। जर्मनीले नेपाललाई पठाएको स्वास्थ्य सामग्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो।

मंगलबार सो स्वास्थ्य सामग्री नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका थिए। ‘जर्मन सरकारद्वारा प्रदान गरिएको स्वास्थ्य सामग्री युरोपेली प्रयासको एक हिस्सा हो,’ राजदूत सेफरलेले भनेका थिए, ‘युरोपेली देशहरूबीच समन्वय तथा ढुवानी रसद व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेको युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रप्रति म आभारी छु।’ त्यस्तै मन्त्री तामाङले राजदूत सेफरलेलाई नेपालको तर्फबाट धन्यवाद दिएका थिए।

नेपाललाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जर्मनीले युरोपेली युनियनको ‘नागरिक संरक्षण संयन्त्र’ अन्तर्गत २७ हजार पाँच सय एफएफपी टु मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट सहयोग गरेको थियो।

मंगलबार नेपालस्थित जर्मनी दूतावासले प्रेस विज्ञप्तिमार्फत् कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आपतकालीन सहयोग अन्तर्गत जर्मनीले नेपाललाई ११२ भेन्टिलेटर, २० लाख ६८ हजार ५ सय के ९५ मास्क, २९ हजार अक्सिमिटर, ३४ लाख ३० हजार सर्जिकल मास्क, पाँच आइसोलेसन सेन्टर टेन्ट, चार सय गम बुट, २५ हजार लिटर कीटाणुनाशक तथा अन्य सामग्री उपलब्ध गराउने छ। जर्मन सरकारले सहयोग गरेको स्वास्थ्य सामग्रीको पहिलो खेप मंगलबार राजधानी आइपुगेको थियो।

केही सातादेखि नेपालले युरोपियन युनियन सदस्य देशहरू स्पेन, फिनल्यान्ड, फ्रान्स र बेल्जियमबाट सहयोग सामग्री प्राप्त गरेको थियो। ‘हामी सबैलाई सुरक्षित बनाउन हामीलाई थप खोपको आवश्यकता छ,’ राजदूत सेफरलेले भने, ‘इयुले ९० देशहरूमा २४ करोड खोप निकासा गरिसकेको छ। यो परिमाण इयु देशहरूमा प्रयोग भएको खोप जतिकै छ। युरोपियन औध्योगिक साझेदार देशहरूले यस वर्षको अन्त्यसम्म कम आय देशहरूलाई नाफा बिना र मध्यम आय भएका देशहरूलाई न्यून मूल्य तोकी १.३ अर्ब खोप उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ। टिम युरोपको वास्तविक प्रभाव यही हो। नेपालले यस वर्षको अन्त्यसम्म आफ्नो भागको कोरानाविरुद्धको खोप प्राप्त गर्न वा किन्न सक्नेछ।’

प्रकाशित: २६ जेष्ठ २०७८ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App