२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ‘कोभिड–१९ विशेष’ ओपिडि सुरु

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल। यो अस्पतालमा कोभिड–१९ विशेष ओपिडि सुरु भएको छ। तस्बिरः उमेश /नागरिक

यहाँस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को विशेष ओपिडि सेवा पनि सुरु गरेको छ। कोरोना संक्रमणले होम आइसोलेसनमा बसेका बिरामी हुन् वा अरु मिल्दोजुल्दो लक्षणसहितका बिरामी, सबैले ओपिडिमार्फत सेवा र परामर्श लिन थालेको अस्पतालले बताएको छ।  

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार कोभिड–१९ को विशिष्टिकृत यो अस्पतालमा आइतबारदेखि कोभिड–१९ को विषेश ओपिडि पनि संचालन गरिएको हो। कोरोनाका संक्रमित बिरामी बढेपछि बीचमा केही समय यो अस्पतालले ओपिडि सेवा बन्द गरेको थियो। आइतबारदेखि ओपिडि सेवा सुचारु गर्दा कोभिड–१९ का लागि भनेर विषेश सेवा सुरु गरिएको हो।  

‘लामो समय ओपिडि बन्द रह्यो। बल्ल आइतबारदेखि ओपिडि संचालनमा ल्याएका हौं। अहिले कोभिड–१९ का लागि भनेर विशेष परीक्षण सुरु भएको छ,’ बरालले भने, ‘यसले कोरोनाका शंकास्पद र होम आइसोलेसनमा बसेका बिरामीलाई सहज भएको छ।’ आइतबारदेखि सुरु भएको कोभिड–१९ को ओपिडिमा शंकास्पद बिरामी परीक्षणका लागि आउन थालेका छन्।  

‘दिनमा २५ जनाको हाराहारीमा शंकास्पद बिरामी कोभिड–१९ विषेश ओपिडिमा परीक्षणका लागि आएका छन,’  उनले भने, ‘केही होम आइसोलेसनमा बसेका थिए। अरु भने मिल्दोजुल्दो लक्षणका बिरामी थिए।’ लामो समयपछि ओपिडि खुलेकोले पनि सबै बिरामीले थाहा नपाउँदा अस्पतालसम्म परीक्षणका लागि नआएको पनि हुनसक्ने उनले बताए। पश्चिमाञ्चलमा यो नै सबैभन्दा ठुलो सरकारी अस्पताल हो। यहाँ ओपिडिमा मात्र अरुबेला दैनिक १४ सय जनासम्म बिरामी परीक्षणका लागि आउने गरेका थिए।

ओपिडिमा परीक्षणका लागि आएका कोभिड–१९ का शंकास्पद बिरामीलाई पिसिआर परीक्षण गर्न लगाउने र आवश्यक औषधि तथा परामर्श दिएर पठाउने गरिएको बरालले बताए। ‘पिसिआर परीक्षणको रिपोर्ट भोलिपल्टसम्म आइहाल्छ, त्यो बेलासम्म अप्ठेरो परेमा कुनैपनि बेला बिरामी थप उपचारका लागि आउन सक्छन्। नत्र चिकित्सकले दिएको औषधि सेवन गरेर घरमै बस्न सक्छन,’ उनले भने, ‘हामीले उनीहरुलाई फलोअपका लागि ५–६ दिनपछि बोलाउने गरेका छौ।’ यसअघि कोरोनाका शंकास्पद बिरामी पनि परीक्षणका लागि समेत डराउँदा अस्पतालसम्म आउन नसकेकोमा अब ओपिडिले सहज बनाउने उनले बताए।  

अहिले कोभिड–१९ को ओपिडिमा दुईजना चिकित्सक खटिन्छन । बिहान १० देखि ओपिडिमा सुरु हुने परीक्षण दिउँसो तीनबजेसम्म चल्छ। ‘पहिला पहिला कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए डराउने अवस्था थियो। तर,अब परीक्षण गर्ने र परामर्श दिँदा बिरामीलाई सहज भएको छ,’ बरालले भने। कोभिड–१९ ओपिडि संचालन भएको भनेर बाहिर जानकारी नपुगेको र परीक्षण गर्नका लागि आउन पनि बिरामी डराएकोले अब त्यो अवस्था नभएको उनले बताए।

‘कोभिड–१८ को विषेश अस्पताल भएकोले पनि हामीले ओपिडि सुुरु गर्न चाँसो दियौं। पोखराका अस्पतालमध्ये यो नै एकमात्र कोभिड–१९ को लागि भनेर ओपिडि सेवा सुरु गर्ने अस्पताल बनेको छ,’ उनले भने, ‘डराईडराई घरमा बस्नुपर्दैन। परीक्षणका लागि आएका बिरामीलाई अप्ठेरो भएमा हामी नै भर्ना गर्छाै। नत्र परीक्षण गरेर आवश्यक औषधि दिएर पठाउँछौं।’

बरालका अनुसार पछिल्लो केहीदिनदेखि कोरोनाका बिरामीको संख्या पनि कम भएका छन्। दुईसाता अघिसम्म इर्मर्जेन्सीमा मात्र दिनमा २० जनाको हाराहारीमा कोरोनाका बिरामी आउने गरेकोमा अहिले ५–७ जना मात्र आउने गरेका छन्। ‘बिरामीको अवस्था त पहिलेजस्तै क्रिटिकल छ । तर, संख्या भने केही घटेकै हो,’ फोकल पर्सन डा बरालले भने। अहिले यो अस्पतालमा कोरोनाका ५५ जना बिरामी भर्ना भएर उपचार गराईरहेका छन्। केहीदिन अघिसम्म ७० जना बिरामी उपचाररत थिए।

‘एकमहिना बढिको निषेधाज्ञानले बल्ल कोरोना संक्रमणको चेनब्रेक भएको अनुमान छ,’ उनले भने, ‘एकैदिनमा चेनब्रेक हुने होईन।’ उनका अनुसार संक्रमित कम भएको अर्काे आधार भनेको यहाँ भर्ना भएका बिरामीका लागि उपयोग हुने अक्सिजनको खपत पनि हो। केहीदिन अघिसम्म दिनमा ३६० सिलिन्डर अक्सिजन खपत भईरहेकोमा अहिले दिनमा १५० देखि १७० वटा सिलिन्डरले बिरामीको माग अनुसार पुगेको छ। ‘बिरामी कम हुनासाथ अक्सिजन खपत पनि झन्डै आधाले घटेको छ,’ उनले भने। 

प्रकाशित: २४ जेष्ठ २०७८ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App