कसैलाई कोरोना संक्रमण भयो ? या भइसकेपछि घरमा बस्ने ठाउँ छैन, भाडामा बस्नु हुन्छ ? घरमा एकान्तवासको लागि ठाउँ छैन ? यस्ता कोरोना संक्रमितहरुको लागि राहत बनेको छ, ललितपुरको सुनाकोठीमा रहेको एनआरएच आइसाेलेसन सेन्टर । संक्रमितलाई एकान्तवासको लागि यो केन्द्रले केही बिशेष सुविधा दिएको छ । जुन अन्य केन्द्रका भन्दा भिन्न छन् ।
संक्रमितको हेरचाह तथा आधारभुत उपचारको लागि दुई जना चिकित्सक, एक जना प्यारामेडिक्स समेत रहेको यो सेन्टरमा पोषणयुक्त खानाको व्यवस्था, एम्बुलेन्स, अक्सिजन लगायतका स्वास्थ्य सेवाको व्यवस्था रहेको छ । नेपाल युथ फाउण्डेशन र नवजीवन केन्द्रको पहलमा यो सेन्टर संचालन गरिएको हो । सेन्टर संचालनको लागि ललितपुर नगरपालिकाले सहयोग प्रदान गरेको आइसाेलेसन सेन्टरका संचालक राजु धमलाले बताए । राजधानीमा भाडामा बस्नेहरु जसलाई होम आइसाेलेसनमा समस्या हुन्छ उनीहरुको प्राथमिकतामा रहने नेपाल युथ फाउण्डेशनका प्रवन्ध निर्देशक राजु धमलालो बताए ।
एचआइभी संक्रमित बालबालिका तथा कुपोषित बालबालिकाको पोषणको लागि खोलेको केन्द्रलाई आइसाेलेसन सेन्टरको रुपमा विकास गरी सेवा दिन सुरु गरेको हो । यो सेन्टर स्थापना भएदेखि यता १ सय १० जना संक्रमितले सेवा लिइसकेका छन् ।
कोभिड संक्रमणको दोस्रो लहरमा हवात्तै बिरामी बढेपछि संस्थाले अघिल्लो वर्ष क्वारेनटिनको रुपमा रहेको केन्द्रलाई यो वर्ष आइसाेलेसन सेन्टरमा परिणत गरिएको हो । संधे महामारी र प्रकोपको बेलामा कुनै न कुनै रुपमा सहयोग गरिरहेको संस्थाले २०७२ सालको भूकम्पमा अस्पताल बस्नु नपर्ने घाइतेलाई खाना तथा आवासको व्यवस्था गरेको थियो ।
प्रकाशित: १७ जेष्ठ २०७८ १२:४७ सोमबार