६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश अस्पताललाई प्याब्सनले दियो २० थान सिलिन्डर

तस्बिर : नगेन्द्र / नागरिक

निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन) कर्णाली प्रदेश समितिले प्रदेश अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्याब्सनले सिलिन्डर खरिदका लागि ‘अक्सिजन सिलिन्डर बैंक’ अभियान सञ्चालन गरेको थियो । ‘उक्त अभियान अन्र्तगत संकलित रकम मध्ये तीन लाख १५ हजार रुपैयाँबाट २० वटा सिलिन्डर खरिद गरेर कर्णाली प्रदेश अस्पताललाई हस्तान्तरण गरेका हौं,’ प्याब्सनका कर्णाली प्रदेश अध्यक्ष नैनसिंह खत्रीले भने, ‘कर्णालीमा अहिले देखिएको अक्सिजन अभावलाई कम गर्न हाम्रो सहयोगले सघाउ पु¥याउने अपेक्षा हामीले लिएका छौं ।’

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि प्याब्सनले सिलिन्डर खरिदका लागि अभियान सुरु गरेको थियो । अक्सिजन सिलन्डर बैंकका लागि प्याब्सनसँग आवद्ध व्यक्तिहरुबाट एक लाख ५९ हजार छ सय रुपैयाँ संकलन भएको थियो भने केन्द्रीय व्याब्सनबाट एक लाख ४० हजार रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए ।

‘उक्त रकमबाट किनेका खाली सिलिन्डरलाई नेपालगञ्जमा रिफिल गरेर प्रदेश अस्पताललाई हस्तान्तरण ग¥यौं,’ अध्यक्ष खत्रीले भने, ‘संकटको बेला अत्यावश्यक अक्सिजन दिन पाउँदा हामी खुशी छौं ।’  

प्याब्सनका केन्द्रीय सल्लाहकार सागर भूषालले संकटका बेला निजी शैक्षिक संस्थाहरुले महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताए । उनले कर्णालीका नागरिकहरुका लागि सुरु गरिएको अभियानमा देशभरबाट सहयोग प्राप्त भएको बताए ।  

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काले कोरोना संक्रमितको उपचारमा कर्णालीमा अक्सिजन अभाव भइरहेका बेला प्याब्सनले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । ‘कर्णालीमा अक्सिजन प्लान्ट नहुँदा नेपालगञ्जमा खाली सिलिन्डर लिएर भर्न जानुपर्छ,’ उनले भने, ‘सिलिन्डर अभावमा कर्णालीलाई आवश्यक पर्ने अक्सिजन आउँदैन् ।’ उनले प्रदेश अस्पतालमा दैनिक दुई सय ५० देखि ३०० सिलिन्डर खपत हुने गरेको बताए । ‘हामीसँग सिलिन्डर कम हुँदा आवश्यक मात्रामा अक्सिजनको आपूर्तिमा असहजता छ,’ उनले भने, ‘प्याब्सनले दिएको सिलिन्डरले कोरोना संक्रमितको जीवन बचाउन ठूलो सहयोग गर्छ ।’

प्रकाशित: १७ जेष्ठ २०७८ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App