६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई’

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले गरे। साधारणसभाबाट वार्षिक प्रतिवेदन र आगामी वर्षको नीति, कार्यक्रम पारित भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए।

साधारणसभामा आगामी वर्ष उमेर समूहका प्रतियोगिता, फारवेस्टर्न प्रिमियर लिग, फारवेस्टर्न क्रिकेट एकेडेमी सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा पनि छलफल भएको छ।

साधारणसभामा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए। ‘क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ। पूर्वाधार निर्माणमा सरकार गम्भीर बनेको छ। आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन्। जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ’, उनले भने, ‘पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ। यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ।’

सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकामा धन्यवाद दिँदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औँल्याए। खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि  केन्द्रित गर्नुपर्ने बताए।

उनले भने, ‘खेलाडी छनोट पारदर्शी हुनुपर्छ। यसमा दायाँबायाँ हुँदैन। खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन्।’

एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी गराउँदै अध्यक्ष चन्दले जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ। यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ। क्यानले गर्ने सहयोगमा कमी हुँदैन।’ रासस

प्रकाशित: ६ आश्विन २०८१ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App