coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु वेड संचालनमा

गोरखा अस्पतालमा एचडियु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ। १५ वटा सुविधा सम्पन्न एचडियु वेड जडान गरिएको अस्पताल व्यवस्थापक लिपासा श्रेष्ठले बताईन्।  

‘१५ वटा मध्ये १० वटा वेडमा पाईपबाट अक्सिजन पुर्‍याइएको छ,’ उनले भनिन, ‘पाँचवटामा पाईप जोडिएको छैन ।’ अहिले एचडियु वेड राखिएको ठाउँ अस्थायी हो। कोरोनाको संक्रमण बढेपछि हतारहतार अहिले क्यान्टिनका लागि निर्माण गरिएको ठाउँमा वेड र अक्सिजन प्लान्ट बिस्तार गरिएको उनले बताईन्।  

भूकम्पमा भत्किएको अस्पताल भवन पुनःनिर्माणको चरणमा भएकाले २८ वेच एचडियु अस्पतालमा रहेपनि सबै जडान गरिएको छैन। अहिले जोडिएको र बाँकी बेड नयाँ भवन बनेपछि त्यहाँ स्थानान्तरण गरेर जोडिने अस्पतालले जनाएको छ।  

भेन्टिलेटरमा उपचार गराउन अघि एचडियु बेडमा बिरामीको उपचार गरिनेछ। एचडियु वेडमा राम्रोसँग उपचार गर्न सकिएको खण्डमा बिरामी भेन्टिलेटरसम्म जाने अवस्था नआउने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताए। गोरखा अस्पतालमा अहिले जडान गरिएको अक्सिजन प्लान्टले अहिले जोडिएको १० वेड बाहेक एकदिनमा ४७ लिटर क्षमताको १५ देखि १८ वटा अक्सिजन सिलिन्डर भर्न सकिने शर्माले बताए। ‘यसले गोरखाको लागि केही हदसम्म सहज हुन्छ’ उनले भने।  

एचडियु वेडको शुक्रवार गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र अक्सिजन प्लान्टको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै मन्त्री बस्नेतले गण्डकी प्रदेशको नवलपुर र मनाङ बाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट सुरु भएको बताए। 

‘नवलपुरमा केही दिनमा सुरु हुन्छ, भने मनाङमा थ्रीफेज लाईन नहुँदा समस्या भएको हाे’ मन्त्री बस्नेतले भने। गोरखामा अक्सिजन प्लान्ट र एचडियु वेड संचालनमा आएपछि यहाँका बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य भएको उनले बताए। गण्डकी प्रदेशमा गोरखा जिल्ला अक्सिजन प्लान्ट संचालनमा ल्याउने नवौं जिल्ला हो।  

गोरखाका मेयर राजनराज पन्तले गोरखा अस्पतालमा संचालन भएको अक्सिजन प्लान्ट र एचडियु वेडले दुर्गम ठाउँका बिरामीलाई पनि सहज सेवा मिल्ने बताए। साथै उनले कोरोना संक्रमण बढेको खण्डमा अस्पतालको बेडले मात्र नथेग्ने हुँदा  नगरपालिकाले उद्योग बाणिज्य संघको हलमा आइसोलेसन कक्ष निर्माण गरेको बताए। 

प्रदेश स्वास्थ्य निर्देशक समक्ष उनले पिसिआरको रिपोर्ट ढिला आउँदा संक्रमण दर बढेको बताउँदै प्रदेश प्रयोगशालाले गोरखा जस्तो दुर्गम ठाउँबाट गएका पिसिआरलाई छिटो परीक्षण गरी रिपोर्ट पठाउनुपर्ने बताए। अस्पताल विकास समितिका अध्यक्ष बुद्धी दवाडीले सबै पक्षको सहयोग र सहकार्यमा अस्पतालको स्तरवृद्धि, उपचार क्षमता बढाउन र जनतालाई सेवा दिन अस्पताल तत्पर रहेको बताए। 

प्रकाशित: १४ जेष्ठ २०७८ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App