८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण बढ्दो, रोकथामका लागि संयन्त्र अभाव

फिदिम नगरपालिका –७ रानीटारमा ५० जनाको परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ देखियो। गाउँभरी ज्वरोका बिरामी बढेसँगै परीक्षण गर्दा यतिको संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।  

परीक्षणबाट २४ जना पोजेटिभ भएपछि वडाले सिल गर्ने निर्णय गरेको थियो।  वडा अध्यक्ष गोपाल गुरुङका अनुसार संक्रमित पाइएपछि वडालाई सिल गर्ने तथा बिरामीलाई निःशुल्क एम्बुलेन्सको प्रबन्ध गर्ने निर्णय गरिएको छ।  

रानीटारमामात्र हैन जिल्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण हुनेका संख्या बढेको छ। न्यून परीक्षणमा नै संक्रमितको संख्या बढेको छ।

हिलिहाङ गाउँपालीका–५ मा मात्र ८९ जना संक्रमित छन्। यहाँको बासबोटे भन्ने ठाँउमा घरैपिच्छे कोरोना संक्रमण फैलिएको छ। स्थानीय सुजन ओझाका अनुसार हरेक घरमा ज्वरोका बिरामी भेटिएका छन्।

गाउँपालिकाका स्वास्थ्य प्रमुख चन्द्र घिमिरेका अनुसार विवाहबाट यसरी कोरोनाको संक्रमण फैलिदै गएको हो। यो गाउँपालिकामात्र १ सय १२ जना संक्रमित छन्। पहिलो लहरले नछोएका गाउँहरुमा कोरोना संक्रमण फैलिएको छ।  

गाउँमा सुरक्षित हुन्छ भनेर विभिन्न ठाँउबाट गाउँ फर्किएका छन्। गाउँमा उपचारको उपयुक्त प्रबन्ध हुन सकेको छैन। यसले थप समस्या पार्ने देखिन्छ ।

फिदिम नगरपालिकाको सदरमुकाम बाहिरका वडामा पनि कोरोना फैलिएको छ। जिल्लामै कोरोना पुष्टि भएका तीन जनाको मृत्यु भएको छ। जिल्ला बाहिर पुगेर पुष्टि भएका थप तीन जनाको मृत्यु भएको छ। हिलिहाङ गाउँपालीका वडा न. ४ का वडा अध्यक्ष श्रीप्रसाद सिगुको झापाको विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्लामा बिहीबारसम्ममा ५ सय १६ जना संक्रमित भएका छन् ।  

विभिन्न ठाँउमा रहेका संक्रमितको अवस्था अध्ययन गर्नका लागि संयन्त्र नै छैन्। संक्रमितको परिवारलाई औषधी, खानेकुराको के कस्तो अवस्था छ भनेर कसैले बुझ्दैन। स्वास्थ्य परीक्षण तथा अन्य आवश्यकताबारे ख्याल नगरेको पाइएको छ।

अवस्थाको अध्ययन तथा नियमित निगरानी नहुँदा संक्रमित र संक्रमितका परिवार बजार निस्किएको, बाहिर हिडँडुल गरेको भन्ने आलोचना समेत भएको छ।

संक्रमितलाई होम आईसोलेसनमा बस्न भनिएको छ। तर उनीहरु कसरी बसेका छन् भन्ने कुराको अनुगमन भएको छैन्। स्थानीय तहले बनाएका क्वारेन्टाइनमा संक्रमित छैनन्।

संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ, के समस्या छन् भन्नेबारे कसैले सोधि खोजी गरेको पाइँदैन ‘मैले संक्रमित भएको भन्ने पनि बाहिरबाट नै जानकारी पाएँ। संक्रमित भएर होम आइसोलेसनमा बसेको १४ दिन पुग्न लाग्यो, एकपल्ट कसैले सोधेको छैन्’ फिदिममा संक्रमित तारा सापकोटोले भने ‘मेरो त खाना पकाई दिनेहरु छन्। अरुको अवस्था कस्तो होला ? स्वास्थ्य अवस्थाको बारे पनि कसैले सोधी खोजी गरेनन्।’

सापकोटाले भनेझैं धेरैको गुनासो छ। खाद्यान्न, औषधी, पौष्टिक तत्व भए नभएको सोध्ने गरेको पाइँदैन। स्वास्थ्यको अवस्था, चेकजाँच भएको छैन्। फिदिमका अर्का संक्रमित पासाङ तामाङ भन्छन् ‘सरकारी तवरबाट कसैले नि सोधीखोजी गरेको छैन्। अब त अलि सन्चो पनि हुन थाल्यो।’

नियमित स्वास्थ्य अवस्थाको जानकारी, परामर्श, खानपानबारे जानकारी दिने काम गरेको पार्इँदैन्। डेरा बस्ने, परिवारका सबैजना बिरामी हुनेहरुलाई थप समस्या हुने गर्छ। ‘कम्तीमा कसरी बस्ने, मनोवैज्ञानीक परामर्श दिने काम गरेको भए पनि हुन्थ्यो। हामी त सचेत भएर बाहिर निस्किदैनौं। सकेसम्म आफैले स्वास्थ्यको ख्याल गरेका छौँ। सबैले कहाँ सक्छन र ?,’ संक्रमित सुसन राईले भने ‘कम्तीमा एकपल्ट फोन गरेर सोधीखोजी गरे पनि हुन्थ्यो।’

प्रकाशित: १३ जेष्ठ २०७८ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App