दिर्घ रोगी हुनेहरुलाई कोरोनाबाट निकै खतरा हुन्छ भन्ने उनले सुनेका थिए। उनलाई आफन्त र परिवारले बारम्बार त्यही कुरा सुनाइरहन्थेँ। किनकी उनी सुगर र प्रेसर दुवैको रोगी थिए। नभन्दै उनलाई बैशाखको अन्तिम साता कोरोनाले समात्योा। ५३ वर्षीय दुर्गाप्रसाद अमगाईँले प्रन्ध दिनमा कोरोनालाई पराजित गरे।
‘बढी हल्ला र डर रहेछ,’ भर्खरै निको भएका उनले भने, ‘आत्मविश्वास र दृढता भयो भने यसलाई पराजित गर्न सकिदो रहेछ।’
पुख्र्यौली घर गोरखा भए पनि उनी अहिले सपरिवार काठमाडौँ बस्छन्। कोरोनाको सुरुवातसंगै यससंग सम्बन्धित राम्राे र नराम्रो दुबै हल्ला उनले सुन्थे। उनलाई थाहा थियो कुरा सबैको सुन्नुपर्छ तर निर्णय आफ्नै हुनुपर्छ। त्यसैले उनलाई मृत्यु र कोरोना दुबैसँग डर लागेन। तर कहिलेकाहिँ विभिन्न हेडलाइन भएर प्रकाशन हुने मृत्युको समाचार र फेसबुके श्रद्धाञ्जलीसँग झस्काउने उनी सुनाउँथे।
‘मलाई रोगसंग भन्दा पनि यसबारे निस्केका भ्रमले बढी तर्सायो,’ उनले आफ्नो अनुभव सुनाए, ‘भ्रमसंग भन्दा रोगसंग लड्न सहज हुदो रहेछ।’
अघिल्लो लकडाउनमा उनी घरमै बसे। अनलाइन मिटिङ्ग चलाए। कोरोनाको कुरा मनमा आउन नदिन उनी सकेसम्म आफूलाई व्यस्त बनाउन खोज्थे। तर बैशाखको अन्तिम साता। एकरात उनलाई अचानक ज्वरो आयो। पखाला लाग्यो। ज्यान दुख्यो। उठ्न खोजे उठ्न सकेनन्।
उनलाई कोरोनाको सम्झना भयो। किनकि सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। तर उनले आफूलाई विचलित हुन दिएनन्। तातोपानी खाएर घरमा नै बसिरहे। मन बलियो भए सहजै कोरोना जितेको उनकाे बुझाई छ।
उनलाई कोरोना भएको खबरले परिवार र छिमेकमा निकै त्रास फैलियो। उनी घरमा नै एकान्तबासमा बसे। कसैलाई छोएनन्। रमाइला चलचित्रहरु हेरेर दिन बिताउन थाले। उनले त्यसपछि सामाजिक सञ्जालमा त्यति चासो राखेनन्।
उनी सामाजिक संजालबाट टाढिएपनि उनलाई कोरोना पोजेटिभ आएको समाचार सामाजिक संजालमा भन्दा पनि पहिला छिमेकदेखि गाउँसम्म फैलियो। ‘म सुगर र प्रेसरको विरामी भएको कुराले मलाई भन्दा छिमेकीलाई बढी डरलागेको महसुस हुन थाल्यो’, उनले भने, ‘मलाई त ढुक्क थियो मैले कोरोना जित्छु भन्ने।’
‘म हिम्मत बढाएर आफ्नो मनलाई बलियो बनाउन खोज्थेँ ’ उनले भने, ‘कतिपय आफन्त भने डर देखाएर झन् कमजोर बनाइदिन्थे’।
कोरोना पोजेटिभ भएको थाहा भएपछि बारम्बार आफन्तहरुको फोन आउन थालेको र सबैले फाेनमा समय खराब चलिरहेको छ हजुर त दिर्घ रोगी हुनुहुन्छ भन्ने जस्ता कुरा गरेको उनले सुनाए। ‘कतिपयले त मुख देख्नै पो पाइदैँन कि क्या हो ? समेत भने,’ उनले सुनाए, 'त्यो वाक्यले मलाई निकै नरमाइलो बनायो।’
विरामी भएको बेला आफन्तले हौसला दिनु पर्नेमा जानी नजानी झनै निराशा बढाइदिने काम गरेको उनले बताए। ‘म आफ्नो मनलाई बलियो बनाउन खोज्थेँ ’ उनले भने, ‘उनीहरु डर देखाएर झन् कमजोर बनाइदिन्थे’। उनले आफूलाई कोरोना पोजेटिभ आएको थाहा भएपछि आफ्नी पत्नी सीतालाई पनि पिसिआर चेक गर्न पठाए। तर उनको रिपोर्ट नेगेटिभ आयो।
तर सीताले श्रीमानलाई कहिल्यै एक्लो बनाइनन्। उनी एकान्तबासमा बस्दा सबैभन्दा बढी साथ सीताको थियो। आफन्त र छिमेकीले कुरा नबुझेपछि सीताले साथ दिएकोमा उनी खुसी व्यक्त गर्छन्।
उनी पेशाले विजनेशमेन हुन्। कामको सिलसिलामा राजधानीको धेरै ठाउँमा उनलाई हिँडिरहन पथ्र्यो। उनले नेपालमा कोरोना महामारी भित्रिए पनि आफूलाई निकै सतर्क गराएका थिए। उनी व्यापारमा घाटा लागेको पीडा भन्दा पनि कोरोनालाई जितेकोमा सबैभन्दा खुसी छन्। ‘आफ्नो स्वास्थ्य ठीक भएमा दुनियाँ जित्न सकिन्छ उनले भने, ‘नयाँ जोसका साथ फेरी काममा फर्किने छु।’
कोरोनालाई जित्न सबैभन्दा पहिला आफ्नो मन बलियो बनाउनुपर्ने र आफ्नो मन बलियो भयो भने मात्र सबैको राम्रो हुने उनी सुनाउँछन्। अचेल उनलाई कोरोनासँग कुनै डर छैन। घरमा बस्दाको समय आफूलाई र परिवारलाई दिन पाएकोमा उनी निकै खुसी छन्। अचेल उनको दैनिकी कोरोना पोजेटिभ नजिकका मान्छेहरुलाई साथ र हौसला दिएर वित्ने गरेको छ। ‘मैले कसरी कोरोना जिते अरुलाई सुनाउन थालेको छु,’ उनले भने, ‘यसले कोरोनाका अन्य विरामीलाई थप हिम्मत बढ्ने छ भन्ने विश्वास लिएको छु।’
प्रकाशित: १२ जेष्ठ २०७८ ०९:४३ बुधबार





