कोरोना संक्रमण दर बढ्दै गएपनि सिन्धुलीमा न्युनतम सर्तकता समेत नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ। दैनिक संक्रमण दर बढ्दै गएपनि सिन्धुलीमा अत्यावश्यक सामान किनमेलका लागि भन्दै विहानभर खोलिएका पसलमै न्यूनतम सर्तकता नअपनाउँदा समस्या भएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक सामान तथा तरकारी किनमेल गर्नका लागि तीन घण्टाको समय दिएको छ। सोही समयमा किनमेल गर्ने र विक्रि वितरण गर्नेले समेत न्युनतम सर्तकता तथा दुरी कायम नगर्दा जोखिम बढ्दै गएको छ। किनमेल गर्ने र विक्रि वितरण गर्नेले सामाजिक दुरी कायम गर्ने मास्क सेनिटाइजर प्रयोग गर्ने गर्नुपर्ने भएपनि त्यस्तो देखिएको छैन।
जोखिम र त्रास न्युनिकरण गर्नका लागि प्रहरी प्रशासनले समेत वास्ता नगरेको स्थानिय स्वयम् बताउछन् । व्यवसायीले पनि विक्रि वितरण गर्नुसँगै स्वास्थ्यमा ख्याल गरि सामाजिक दुरी कायम गर्न लगाउनुपर्ने हो, कमलामाई नगरपालिकास्थित बजारका एक व्यवसायीले भने न्युनतम सर्तकता समेत अपनाइएको देखिएन, यसले थप जोखिम बढाउन सक्छ । कोरोना भाइरसको संक्रमणदर बढ्नुका साथै दैनिक मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ।
दोस्रो लहरको कोरोना संक्रमण दर बढेसँगै तराईका विभिन्न जिल्लाबाट खाद्यन्न आलु लगायतका सामान ओसारपसार हुँदा ति गाडीमा आवतजावत गर्नेहरुले समेत जोखिम बढाएको स्थानियको भनाई छ। किनमेलमा मात्रै नभएर यहाँका ठुला खाद्यन्न व्यवसायीले खाद्यन्न आयात गर्ने र खाद्यन्न लोडअनलोड गर्ने मजदुरको स्वास्थ्यमा समेत ध्यान दिएका छैनन्। मजदुरलाई व्यवसायीले बेवास्ता गर्दा उनिहरुमा कोरोना संक्रमण बढ्ने स्थानिय बताउछन्। स्वास्थय कार्यालय सिन्धुलीका प्रवक्ता सन्तोष माझीले कोरोनाको संक्रमण दर दैनिक बढेको बताए। हालसम्म सिन्धुलीमा एक हजार १० जनामा कोरोना लागेको छ, उनले भने, सिन्धुलीमा दैनिक संक्रमण बढ्दै छ।
प्रवक्ता माझीका अनुसार दोस्रो लहरको कोरोना संक्रमणबाट हालसम्म १५ जनाको मृत्यु भइसकेको छ। आइतबारमात्रै दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको उनले जनाए। देशभर फैलिएको कोरोना भाइरस रोकथामका जिल्ला प्रशासन कार्यालयले चेन ब्रेक गर्न निषेधाज्ञा निरन्तर गरिरहेको छ। तर निषेधाज्ञा भएपनि विहान खुल्ने अत्यावश्यक पसलमा किनमेल गर्नेले सामाजिक दुरी कायम नगर्दा भिडभाड हुने र जोखिम बढ्ने स्थानियको भनाई छ।
तर उद्योग बाणिज्य संघ सिन्धुलीका बरिष्ठ उपाध्यक्ष अर्जुन श्रेष्ठले बजारमा भिडभाड नभएको बताए । हामी व्यापारीलाई पनि कोरोनाको डर उत्तिकै छ, विहान खुल्ने पसलमा आउने फाट्फुट् ग्राहक र व्यापारीबीच स्वास्थ्य मापदण्ड अपनाएर नै विक्रि वितरण भएको छ, उनले भने,मास्क स्यानिटाइजर सामाजिक दुरी कायम गर्ने र हात धुने लगायतका स्वास्थ्य मापदण्ड अपनाउन हामीले सुझाव समेत दिदै आएका छौ । उनले कोरोनाको डरले ग्राहकनै बजारमा कमै आउने गरेको बताए।
प्रकाशित: १० जेष्ठ २०७८ ०७:२० सोमबार