२४ पुस २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

औषधि पुर्‍याउन संक्रमितको घरघरमै पुग्छन् नगर प्रमुख

संक्रमितलाई औषधि दिँदै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी । तस्बिर: नागरिक

वीरेन्द्रनगर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि वितरण सुरु गरेको छ । मेयर देवकुमार सुवेदी आफै संक्रमितहरुको घरघरमा पुगेर आवश्यक औषधि र अन्य सामाग्रीहरु दिन्छन् । नगरपालिकाले पारासिटामोल, जीवनजल, जिंक चक्की, एजिथ्रोमाइसीन, भिटामिन बि र सी, साबुन, कोलगेट, ब्रससहितको ‘कोरोना कीट’ तयार पारेको छ ।

‘संक्रमितहरुको घरघरमै पुगेर विरामीहरुलाई आवश्यक औषधि र परामर्श दिने गरेका छौं,’ मेयर सुवेदीले भने, ‘जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मीहरुको टोली पनि सँगै हुन्छ ।’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको पालिका हो। शनिबारसम्म वीरेन्द्रनगरमा सक्रिय संक्रमितहरुको संख्या १६१२ जना छ ।  

मेयर सुवेदीले स्वास्थ्य सामाग्रीसँगै स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमन पनि गर्ने गरिएको बताए । कोरोना संक्रमितहरु होम आइसोलेसनमा बस्ने नगरेको, संक्रमण लुकाएर घुम्ने गरेकोलगायतका गुनासाहरु आउने गरेकाले कोरोना कीटसँगै अनुगमनलाई पनि तीव्रता दिइएको मेयर सुवेदीले बताए ।

नगरपालिकाले संक्रमितहरुको अक्सिजन नियमित चेकजाँच गर्छ। अक्सिजनको मात्रा कमि भएकाहरुलाई आफैले सञ्चालन गरेको नगर अस्पतालमा पुर्‍याउँछ । ‘यसले गर्दा संक्रमितहरुको मनोबल बढ्नुका साथै नगरबासीहरुले नजिकको सरकारको अनुभूति गर्न पाउनु भएको छ,’ उनले भने, ‘संक्रमित रहेका सबै वडाहरुमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टीम पुग्ने गरेको छ ।’  

नगर स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रदेव गिरीले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीहरुको टोली नियमित संक्रमितहरुको घरघरमा पुग्ने गरेको बताए । उनले सोमबार, बुधबार र शुक्रबार निःशुल्क पीसीआर परीक्षणका साथै संक्रमण बढी देखिएका वडा नं. २, ३, ८ र १२ मा एन्टिजिन परीक्षणलाई तिब्रता दिइएको बताए ।

‘नगर प्रमुख आफै संक्रमितको घरघरमा पुग्दा उनीहरुको मनोबल बढेको छ,’ उनले भने, ‘यसका साथै पल्स अक्सिमिटरद्वारा अक्सिजन नापिने भएकाले तत्कालै उपचार र प्रेषण गर्न पनि सहज भएको छ ।’ नगरपालिकाले २५ बेडको कोभिड अस्पताल सञ्चालन गरिरहेको छ । ‘होमआइसोलेसनमा रहेकाहरुहलाई केही समस्या परेमा तत्कालै अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा नगरपालिकाले दिने गरेको छ ।  

प्रकाशित: ९ जेष्ठ २०७८ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App