८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

संक्रमितको मृत्युपछि नगरपालिका सिल, एक वडाबाट अर्कोमा आउजाउ गर्न रोक

कोभिड–१९ बाट संक्रमितको मृत्यु भएसँगै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५४ वर्षीय राजभण्डारी थरका पुरुषको बिहीबार राती मृत्यु भएपछि नगरपालिका सिल गरिएको हो। अर्को निर्णय नभएसम्मका लागि शुक्रबारदेखि नगरपालिकाभित्र प्रवेश गर्न वा बाहिरिन रोक लगाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

१५ वडा रहेको नगरपालिकामा एक वडाबाट अर्को वडामा आउजाउ गर्नसमेत रोक लगाइएको छ। कोभिड–१९ को महामारी बढिरहँदा पनि आवतजावत नरोकिएकाले ‘कफ्र्यू’भन्दा कडा गर्ने तयारी भइरहेको मेयर रिजालले बताए। महामारी फैलिरहेको अवस्थामा दिक्तेल बजारकै कतिपय चोक तथा पशलमा भिडभाड लाग्ने गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

कोभिड–१९ को संक्रमण फैलिन थालेपछि यसअघि नै जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकाको सिमा नाका सिल गरिसकिएको छ।  

श्वासप्रश्वासमा समस्या भएपछि राजभण्डारीलाई राती अस्पताल लगिएको थियो। अस्पताल पुर्याएर एन्टीजेन परीक्षण गर्दा उनलाई कोभिड–१९ को संक्रमण पूष्टि भएको थियो। बेलामा उपचारमा नलैजाँदा उनलाई बचाउन नसकिएको स्वास्थ्यकर्मीको भनाई उद्धृद गर्दै मेयर रिजालले बताए। उनी हप्ता दिनदेखि बिरामी रहेको बताइएको छ। यससँगै जिल्लामा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App