१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपचारमा ढिलाई गरेको भन्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि सोमबार राति आक्रमण भएको छ।

आकस्मिक कक्षमा ल्याइएका दुर्घटनाका घाइतेको उपचार गरिरहेका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि  सोमबार राती आक्रमण भएको हो।

बूढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले डा. रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका दुबै जनामाथि एक्कासी आक्रमण भएको हो। चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि आकस्मिक कक्ष केही समय तनावपूर्ण बनेको थियो।

डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपीट भएपछि अस्पतालको आकस्मिक कक्षको उपचार सेवासमेत प्रभावित भएको थियो। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएर अस्पताल ल्याइएका घाइतेको उपचारमा व्यस्त रहेको अवस्थामा डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। आक्रमणबाट डाक्टर रेग्मी र स्वास्थ्यकर्मी बस्नेत दुबैको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।  

प्रहरीका अनुसार कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा–३ मा प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले साँझ ७ः४५ बजेतिर ठक्कर दिएपछि घाइते भएका ५० वर्षीय बालकुमार बस्नेतको उपचार अस्पतालको आकस्मिक कक्षमा भइरहेको थियो। दुर्घटनाका घाइते बस्नेतको राति ९ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जानकारी डीएसपी राईले दिए।

उनका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाइते भएका थिए। उनको विराटमै उपचार भइरहेको छ।

आक्रमण र कुटपिट सुरु हुनुभन्दा केही बेरअघि मात्रै बूढीगंगा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। मधुमेहको पुरानै समस्या रहेकी उनी थप बिरामी परेपछि परिवारका सदस्य र आफन्तले उपचारका लागि अस्पताल  ल्याएका थिए। उनको उपचारमा ढिलाई गरिएको भन्दै चिकित्सक र हेल्थ असिस्टेन्टमाथि आक्रमण गरिएको अस्पतालले जानकारी दिएको छ।  

आक्रमणमा संलग्न समूहले त्यसअघि अस्पतालका सुरक्षा गार्डलाई पनि आक्रमण गरेको थियो। अस्पताल नजिकै घर भएका बिरामीका आफन्तहरूले बिरामी ल्याउन अस्पतालको स्टेचर घर लान खोजेका थिए। तर, अस्पतालको सुरक्षामा खटिएका सुरक्षा गार्डले स्टेचर अस्पतालको गेटसम्म मात्रै लान पाइने घर लान नपाइने भनेपछि बिरामीका आफन्तले सुरक्षा गार्डमाथि पनि आक्रमण गरेको अस्पतालका स्वास्थ्य संयोजक कृष्ण कँडेलले बताए। ‘पहिले अस्पतालको स्टेचर घर लान नदिएको भन्दै सुरक्षा गार्डलाई आक्रमण गरे’ कँडेलले भने ‘पछि बिरामीको उपचारमा ढिलाइ गरेको बहाना बनाएर दुर्घटनामा घाइतेको उपचार गरिरहेका डाक्टर र स्वास्थ्यकर्मीमाथि  आक्रमण गरे।’

सामान्य अवस्थाको बिरामीको उपचारमा पाँच मिनेटजति ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको कँडेलले बताए।  

कोरोना महामारीकाबीच अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुखद भएको बताए। कँडेलले  आक्रमणमा संलग्नलाई कार्बाहीका लागि अस्पतालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जानकारी दिए।

प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरिसकेको छ। डीएसपी राईका अनुसार घटनामा संलग्न नगेन्द्र श्रेष्ठ लगायतका केही व्यक्ति अझै फरार छन्। फरार रहेकाहरुको खोजी भइरहेको राईले बताए।  

पक्राउ परेकाहरूलाई अभद्र कसुर अन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको डिएसपी राईले बताए।

प्रकाशित: ४ जेष्ठ २०७८ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App