१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खनाल र नेम्वाङलाई प्रश्न : तपाईहरूले इलामलाई के दिनुभयो?

महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर केही सातायता इलाममा पनि जोखिमपूर्ण बन्दैछ। दिनहुँ जिल्लामा कोरोनाका नयाँ बिरामी थपिने क्रम तीव्र छ भने युवाको समेत निधन भइरहेको छ।

यही गतिले संक्रमितको संख्या थपिँदै जाने हो भने केही सातापछि जिल्लाले धान्नै नसक्ने अवस्था आउनेमा स्वास्थ्यसँग सरोकारवालासमेत जानकार छन्।

यति हुँदा पनि जिल्लाकै केन्द्र इलाम अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै। भएको महत्वपूर्ण उपकरणसमेत जनशक्ति अभावले थन्किएको खबरले जिल्लाबासी आक्रोशितसमेत बनिरहेका हुन्।  

कोभिडकै कारण केही समयपछि आउनसक्ने ‘भयावह’ अवस्थाको आँकलनले जिल्लाबासीलाई चिन्तित बनाइरहेको छ। त्यतिमात्र होइन, जिल्लाबासीले तीनै तहका सरकारले विकास बजेटलाई समेत अब कोरोना नियन्त्रणमै खर्च नगरे थेगिनसक्नुको जोखिम बढ्नेमा सचेत गराइरहेका छन्। उनीहरूले बरु, भौतिक विकास रोकेर भएपनि कोरोना नियन्त्रणमा केन्द्रित हुन सरकारलाई आग्रह गरिरहेका छन्।  

सदरमुकामका युवक निरोज खड्गीले जिल्लाबाट निर्वाचित भई प्रधानमन्त्री, मन्त्री, पटक–पटक सभामुख र सांसद भइसकेका जनप्रतिनिधिले बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि केही नगरेको गुनासो गरे। उनले मात्र नभएर अहिले धेरै इलामबासीले प्रधानमन्त्री भइसकेका झलनाथ खनाल र पूर्व सभासद् सुवासचन्द्र नेम्वाङप्रति गुनासो गरेका छन्।  

पटक–पटक निर्वाचित भएर सरकारको महत्वपूर्ण स्थानमा रहिसकेका खनाल, नेम्बाङ र जिल्लाबाटै निर्वाचित भएर मन्त्री बनेका कुलबहादुर गुरुङलाई जिल्लाकै स्वास्थ्यसेवाको केन्द्रबिन्दु मानिएको इलाम अस्पताललाई समेत आधारभूत हिसाबले सुविधा सम्पन्न बनाउन नसकेको आरोप छ।  

खनाल, नेम्वाङ र कांग्रेस नेता गुरुङले इलामेलाई मतदातामात्र सम्झिएको आरोप लगाए । उनले सामाजिक सञ्जालमा लेखे: ‘तपाइँहरूलाई इलामेले पटक–पटक जिताएर उच्च ओहोदामा पुर्याए तर तपाइँहरूले इलामलाई के दिनुभयो? यो महामारीको बेला इलाम अस्पतालमा भएको भेन्टिलेटरसमेत सञ्चालन हुनसक्ने बनाउन तपाइँहरूको कुनै दायित्व रहँदैन ? इलामबासीले जिल्लामै उपचार नपाएर कहिलेसम्म बाहिरी जिल्ला पुगेर मर्नुपर्ने हो ?’ उनले बरु इलामका लागि केही गर्न सक्दैनौं भनेर आत्मसमर्पण गर्नसमेत जिल्लाबाट निर्वाचित जनप्रतिनिधिलाई सचेत गराएका छन् ।  

५० शड्ढया क्षमताको इलाम अस्पतालमा संघीय सरकारले दिएको भेन्टिलेटर छ । सँगै इन्सेन्टिभ केयर युनिट (आइसियु) पनि छ । तर, स्थापना गरेदेखि (करिब ३ महिनायता) जनशक्ति अभावमा भेन्टिलेटर थन्किएको छ। अस्पतालले पटक–पटक मन्त्रालयलाई पत्र लेखेर अस्पतालको समस्या जानकारी दिएको पनि बताइरहेको छ। तर, मन्त्रालयबाट समस्या सोध्नेबाहेक समाधानको लागि कुनै पहल नभएको अस्पताल बताउँछ।  

दोस्रो लहरको कोरोना संक्रमण बढेर देशमा कतै उपकरण र कतै जनशक्ति अभाव भइरहेका बेला इलाममा करिब ४० लाख रुपैयाँ खर्चेर ल्याएको भेन्टिलेटर नै थन्किएपछि जिल्लाबासी आक्रोशित बनेका हुन्। कोरोनाले स्वासप्रश्वासमा समस्या भएर गम्भीर बिरामीलाई चाहिने भेन्टिलेटर नै कामविहीन भएपछि जिल्लाबासीले उपचारका लागि अन्य जिल्ला धाउनु परिरहेको छ। आफ्नै दलले लामो समयदेखि सरकारको नेतृत्व गरिरहे पनि खनाल र नेम्बाङले अस्पतालको उपकरण र जनशक्ति व्यवस्थापनमा पहल नगरेको गुनासो इलामबासीको छ।

नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा ठोस काम गर्न नसकेको आरोप लगाए। उनले इलाम अस्पताललाई यसअघि अक्सिजन प्लान्टका लागि बजेट आएपनि सदुपयोग हुन नसक्दा स्वास्थ्यसेवा प्रभावकारी हुन नसकेको जनाए । ‘दिनानुदिन मृत्युको खबरले सामाजिक सञ्जाल रंगिएका छन्, अब पनि आँकलन गर्न सकिएन भने थप क्षति बेहोर्नुपर्ने दिन आउँदैछ,’ उनले सामाजिक सञ्जालमा स्थानीय सरकारलाई केन्द्रित गरी लेखेका छन्, ‘हामीसँग स्रोत छ, साधन छ, अहिले थप विकासभन्दा ज्यान जोगाउन हम्मे परिरहेको छ ।’ चेम्जोङले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्न स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गरेका छन्।

गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष कमल नेपालले जनशक्तिबिनाका सामग्री अस्पतालमा थन्क्याउनुभन्दा बरु प्रयोग हुनसक्ने अरू ठाउँमा पठाइदिन व्यंग्यात्मक सुझाव दिए। उनले अस्पतालमा आउन खोज्ने प्राविधिक जनशक्ति आउनै नदिने र आएकालाई पनि धपाउने ‘खेल’ले स्वास्थ्यसेवा कमजोर भइसकेको जनाए।

इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जनशक्ति अभावकै कारण भेन्टिलेटर प्रयोग हुन नसकेको बताए। उनले भेन्टिलेटर सञ्चालन गर्ने एनेस्थेसियोलोजिस्ट भएपनि आवश्यक अन्य विशेषज्ञ नहुँदा त्यसको सुविधा लिन नसकेको जनाए । १४ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा स्थायी डाक्टर एकजना (स्त्री रोग विशेषज्ञ) मात्रै छन् । २ मेडिकल अधिकृत, ३ कन्सल्ट्यान्ट र ३ डेन्टल सर्जन अस्पतालमा कार्यरत छन् । ५९ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा २७ दरबन्दी पदपूर्ति भएको अस्पतालले जनाएको छ ।  

जिल्लाको मंगलबारे, फिक्कल, पशुपतिनगर र प्याङमा प्राथमिक स्वास्थ्य केन्द्र छन्। ती केन्द्रमा जनशक्ति पनि भएकाले उपचारमा खास समस्या नभएको स्वास्थ्य कार्यालयले जनाएको छ। सूर्याेदय, माई नगरपालिका र रोङ गाउँपालिकालगायत स्थानीय तहमा ५ देखि १५ शड्ढयासम्मका कोभिड अस्पताल छन्।  

जिल्लामा सोमबार साँझसम्म ३ सय ५१ जनामा दोस्रो लहरको कोभिड–१९ पुष्टि भइसकेको छ। ११ जनाको निधन भएको छ भने ३ सय ७ संक्रमित होम आइसोलेसन र उपचारमा छन्। ३३ जना उपचारपछि निको भएको तथ्यांक छ।

प्रकाशित: ४ जेष्ठ २०७८ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App