६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चाँगुनारायणमा सय श्ययाको आइसोलेसन वार्ड तयार

कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा एक सय श्ययाको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ।  

होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीका लागि नगरपालिकाले सरकारको सहयोगमा एक सय श्ययाको आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए। आइसोलेसनका लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जनलगायतका आवश्यक सामानका एक सय सेट सरकारले नै उपलब्ध गराएको थियो।  

गत वर्ष कोरोना सङ्क्रमणका बेलामा लकडाउन हुँदा सरकारले उक्त कलेजमा श्यया राखेको थियो। पछि कोरोना कम भएर बिरामी राख्नुपर्ने अवस्था नभएपछि कलेजले श्यया हटाई सामान सबै गोदाममा राखेको थियो। यस वर्ष त्यही श्यया विस्तार गरिएको हो। कलेजको आइसोलेशनमा होम आइसोलेसनमा बस्न नसक्ने, अक्सिजन नचाहिने सामान्य बिरामी राखेको छ। आवश्यक परेमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको टोली खटाइने नगर प्रमुख मिश्रले बताए।  

नगरपालिकाले होम आइसोलेसनमा बस्ने बिरामीका लागि पनि चिकित्सकको व्यवस्था गरेको छ। नगरवासीलाई प्रत्येक दिन साँझ चिकित्सकसँग सङ्क्रमणमा परेका बिरामीले प्रत्यक्ष कुराकानी गर्ने र कस्ता औषधि सेवन गर्ने, होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरा, सावधानी अपनाउनुपर्ने बारेमा चिकित्सक र बिरामीको कुराकानीसहितको चिकित्सकसँग परामर्श कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख मिश्रले जानकारी दिए।

प्रकाशित: २ जेष्ठ २०७८ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App